‘मेचीपारिको नेपाल’ भनेर चिनिएको मेचीनगर नगरपालिका–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
विद्यार्थी वा शिक्षक नभएर विद्यालयको पठनपाठन प्रभावित भएको भने होइन । मेची नदीमा पुल नभएका कारण वर्खाको समयमा शिक्षक विद्यालय पुग्न असम्भव हुँदा पढाइ नै प्रभावित भएको हो ।
मेचीपारिको ग्वाल बस्तीमा रहेको विद्यालयमा कक्षा दुईसम्म पठनपाठन हुँदै आएको छ । विद्यालयमा कार्यरत दुई शिक्षक र एक कर्मचारीको बसोबास मेचीवारि छ । विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलिया, शिक्षिका रमादेवी ढकाल र कर्मचारी राजेश राजवंशीको घर मेचीवारि छ । हिउँदमै घुँडामाथि पानी हुने मेची नदीमा पुल नभएका कारण शिक्षक र कर्मचारीहरु बर्खाको भेलमा पौडी खेलेर मेचीपारि विद्यालय पुग्न सम्भव छैन ।
“०८२ साउन २५ गतेदेखि विद्यालय खुल्नुपर्ने हो”, तर पुल नभएका कारण खोलो तर्न नसकेका कारण विद्यालय खोल्न सकिएको छैन, विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलियाले भन्नुभयो । “विद्यालय जानका लागि मेची नदीमा पुल छैन, कसरी विद्यालय पुग्ने ?” बर्खापछि नदीमा पानीको सतह घटेपछि मात्र विद्यालयको पढाइ सुरु हुनेछ । सिमानाको नदी मेचीमा बर्खायाममा पानीको सतह धेरै हुने भएकाले विद्यालय जान नसक्नु शिक्षकहरुको बाध्यता हो । वैकल्पिक उपाय खोज्ने हो भने उत्तरतिर काँकडभिट्टा र दक्षिणतिर भद्रपुरको मेची पुल तरेर भारतीय मार्गबाट पुग्नुपर्ने हुन्छ ।
उत्तर र दक्षिणतिरको दुई ओटै भारतीय मार्ग भएर विद्यालय पुग्न ३० देखि ४० किलोमिटरको दूरी तय गर्नुपर्ने हुन्छ । भद्रपुरबाट जाँदा विहार र काँकडभिट्टाबाट जाँदा पश्चिम बङ्गालको बाटो प्रयोग गर्नुपर्ने हुन्छ । यो विकल्प प्रयोग गर्न पनि असम्भव नै छ ।
“विद्यालय खुलाउन नसके पनि भारतीय मार्ग भएर दुईपटक रेखदेखका लागि पुगेको छु”, प्रअ थपलियाले भन्नुभयो । “अहिले मात्र होइन, बर्खाको समयमा विद्यालयको पठनपाठन बन्द हुनु वर्षैपिच्छेको समस्या हो ।” वि.सं. २०५७ मा मेची पारिको नेपालमा शिक्षाको पहुँच पुर्याउने उद्देश्यले मेची प्राथमिक विद्यालयको स्थापना भएको थियो । त्यसयता असारदेखि भदौ असोजसम्म विद्यालयमा कुनै वर्ष पनि पठनपाठन हुन सकेको छैन ।
कक्षा दुईसम्म पढाइ हुने उक्त विद्यालयमा हाल ११ जना विद्यार्थी छन् । साविक ज्यामिरगढी गाउँ विकास समितिको वडा–१ मा रहेको ग्वालबस्ती, सिसौ डाँगी र झाडु बस्ती भौगोलिक हिसाबले मेची नदीपारि रहेका छन् ।अहिले ती तीनवटै गाउँ मेचीनगर नगरपालिका–१५ मा पर्दछन् ।
गाउँमा ५० परिवारको बसोबास छ । अधिकांश मानिसहरु राजवंशी, यादव, सन्थाललगायत आदिवासी समुदायका छन् । गाउँमा पढेलेखेका मानिस नहुनु र अधिकांशले खेतीपाती तथा पशुपालन गरेर जीविका चलाउँदै आएका कारण शिक्षाको आवश्यकताबारेमा गाउँलेमा चेतनाको कमी छ ।
“त्यो गाउँमा कक्षा दुईसम्म पढ्ने उमेरका बालवालिका यति नै हुन्”, प्रअ थपलियाले भन्नुभयो “त्योभन्दा माथिको कक्षा पढ्न स्थानीय बालवालिका भारततिरै जान बाध्य छन्, केही मात्र मेची नदी तरेर वारिका नेपाली विद्यालयमा पढ्न आउँछन् ।”
पाँच कट्टा जग्गामा बनेको पुरानो भवनमा विद्यालय सञ्चालित छ । विद्यालयमा राष्ट्रिय झण्डा फहराइएको छ । विद्यार्थीका लागि पिउने पानीको प्रबन्धका लागि विद्यालय परिसरमा एउटा ट्युबेल गाडिएको छ । विद्यालयमा बिजुली बत्तीको व्यवस्था छैन ।
विद्यालय स्थापना हुनुभन्दा पहिलेदेखि नै स्थानीयले मेची नदीमा पुलको माग गर्दै आएका छन् । मुलुकमा राजनीतिक व्यवस्था फेरियो, तर मेची पारिको नेपाललाई सिङ्गो नेपालसँग जोड्न एउटा पुल त्यहाँ बन्न सकेको छैन ।
पछिल्लो दुई दशकदेखि ती गाउँलाई जोड्न मेची नदीमा झोलुङ्गे पुल बनाउने आश्वासन सरकारले दिइरहेको छ । मेचीनगर नगरपालिका–१५ का वडासदस्य वृक्षलाल राजवंशीले ५ लाख बजेटबाट झोलुङ्गे पुलका लागि डिपीआर तयार पार्ने बताउनु भयो । वडाध्यक्ष राजवंशीले भन्नुभयो “हामीले पुल चाहियो भनेर आवाज उठाइरहेका छौँ, तर अहिलेसम्म झोलुङ्गे पुलसम्म बन्न सकेको छैन ।” जसका कारण बालबालिकाको शिक्षाको अधिकार समेत प्रभावित भइरहेको छ ।