INSEC Online

📅 २०८३ जेष्ठ २१

बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रोज्ज्वलन

बलपूर्वक बेपत्ता पार्ने कार्य विरुद्धको १५ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेक लगायतका संस्थाहरुको आयोजनामा ०८२ भदौ १४ गते बेपत्ता पारिएका नागरिकको सम्झनामा दीप प्रोज्ज्वलन गरिएको छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, एड्भोकेसी फोरम कर्णाली प्रदेश, महिला अधिकारका लागि एकल महिला समूह सुर्खेत, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल र सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामको संयुक्त आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश कार्यालयको समन्वयमा दीप प्रोज्ज्वलन कार्यक्रम सम्पन्न गरिएको हो ।

Photo 2025-08-30 Surkhet

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले बेपत्ता पारिएका नागरिकहरुको अवस्था अज्ञात रहेको भन्दै १९ वर्षसम्म पनि राज्यले न्याय दिन नसक्नु दु:खद् रहेको बताउनु भयो । उहाँले न्यायिक प्रक्रियामा राज्यले कुनै ढिलाइ नगर्न अनुरोध गर्नुभयो । द्वन्द्वपीडित शान्ती ढकालले शान्ति सम्झौता भएको १९ वर्षसम्म आफूहरूका कुनै पनि मागलाई सरकारले सम्बोधन गर्न नसकेको बताउनु भयो । उहाँले आफ्ना पतिलाई बेपत्ता पारेको २८ वर्ष पुगेको भन्दै अब न्यायको आशा मरिसकेको बताउनु भयो । सङ्क्रमणकालीन न्यायका लागि यो बीचमा थुप्रै आयोग बने पनि केही बाहेक अधिकांश द्वन्द्वपीडितहरूले न्याय पाउन सकेका छैनन् । उतिबेला देखि नै बलपूर्वक बेपत्ता पारिएका परिवारले आफ्ना सदस्यको अवस्था सार्वजनिक गर्न सरकारले चासो नदिएको गुनासो गर्दै आएका छन् ।

कार्यक्रममा मानव अधिकार रक्षक सञ्जालका कर्णाली प्रदेश संयोजक पिताम्बर ढकाल, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालका केन्द्रीय उपाध्यक्ष सितल सिंह राठौर, मानव अधिकार आयोग, बेपत्ता पीडित परिवार, सरकारी अधिकारी तथा मानव अधिकारकर्मीको सहभागिता रहेको थियो । उनीहरुले सङ्क्रमणकालिन न्यायको मुद्दामा तत्काल न्याय दिलाउनु पर्नेमा जोड दिएका थिए ।

अन्य

भिडियो