INSEC Online

📅 २०८३ जेष्ठ २१

अनुदानको चामल सर्वसाधारणले नपाएको गुनासो

हवाईमार्गमार्फत स्थानीयबासीको नाममा आएको अनुदानको चामल नवनिर्वाचित सांसदहरूले आफ्ना पार्टीका कार्यकर्तालाई वितरण गरेपछि सर्वसाधारण व्यक्तिले अनुदानको खाद्यान्न नपाएको गुनासो गरेका छन् ।

आर्थिक वर्षसुरू भएको चार महिनापछि ढुवानी गरिएको अनुदानको खाद्यान्न सांसदहरूले चिटमार्फत कार्यकर्तालाई वितरण गरेपछि सर्वसाधारण मर्कामा परेका हुन् । प्रदेश र प्रतिनिधि सभाका तीन जना सांसदले ८ सय ६४ क्विन्टल खाद्यान्न चिटमार्फत वितरण गरेको खाद्य संस्थानले जनाएको छ ।

अनुदानको खाद्यान्न चिटमार्फत दलका कार्यकर्तालाई वितरण गरी सकिएपछि हुम्लाका सर्वसाधारण अनुदानको खाद्यान्न पाउनबाट वञ्चित भएको स्थानीयबासी धनबहादुर ऐडीले गुनासो गरे ।

र्सवसाधारणका लागि आएको खाद्यान्न प्रतिनिधि सभाका सांसद छक्कबहादुर लामा र प्रदेश सभाका सांसद दल रावलको चिटमार्फत ८ सय २४ क्विन्टल तथा प्रदेश सभाका सांसद जीवनबहादुर शाहीले ४० क्विन्टल खाद्यान्न कार्यकर्तालाई वितरण गर्दा खाद्य गोदाममा मौज्दात भएको खाद्यान्न सकिएको छ ।

सांसदहरूको चिटबाट अत्याधिक खाद्यान्न वितरण हुन थालेपछि सर्वसाधारण खाद्यान्न पाउनबाट वञ्चित भएको भन्दै संस्थानले खाद्य व्यवस्थापन समितिको बैठक बसालेर चिटमार्फत खाद्यान्न नदिने निर्णय गरेको शाखा प्रमुख नारायणसिंह केसीले बताए ।

अन्य

भिडियो