जिल्ला कारागारमा क्षमता भन्दा दोब्वर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा ४० जना कैदी र ११ जना थुनुवा तथा एक जना बालिका आश्रति रहेकी छन् ।

महिला कैदी तीनजना मात्र भएकाले उनीहरूलाई त्यति समस्या नभएपनि पुरुष कैदीबन्दी दोब्वर बढी भएकाले व्यवस्थापनमा समस्या आएको जेलर महोनप्रसाद शर्माले बताए । ०३२ सालमा बनाइएको कारागार भवन जीर्ण अवस्थामा रहेकाले ०७३ चैत १३ गते एक जना कैदी भागेर गएको जेलर शर्माले बताए ।
क्षमता भन्दा बढी कैदीबन्दी भएकाले सुत्न, शौचालय तथा पानीको प्रयोगमा समस्या आउने गरेको कैदीबन्दीले गुनासो गरेका छन् ।
जीर्ण अवस्थाको भवनमा कोचाकोच गरी बस्नु परेको तिलागुफा नपा निवासी कैदी लक्ष्मण शाहीले गुनासो पोखे । उनले खानेपानी, खेल र मनोरञ्जनका सामग्री समेत नभएको बताए ।
जिल्ला कारागारमा एकजना हेल्थ असिष्टेण्टको दरबन्दी भएपनि विगत दुई वर्षअघिदेखि दरबन्दी रिक्त रहेकाले उपचार गर्न समस्या भएको जेलर शर्माले बताए । कैदी तथा थुनुवाहरू सामान्य बिरामी हुँदा पनि उपचारका लागि जिल्ला अस्पताल पुर्याउनु पर्ने बाध्यता रहेको उनले बताए ।