आँखा सुकेका छैनन् । मन अझै भतभती पोलिरहेको छ । कुस्माको लागि खुसी जीवन शायद कहिल्यै लेखिएको थिएन । एकपछि अर्को गर्दै संसार झन् अध्यारो बन्दै गएको छ । व्याँस गाउँपालिका–२ की ४५ वर्षीया कुस्मा बुढाथोकी आज पनि आँशुको धारा बगाउँदै बाँचिरहेकी छिन् । ०८२ असार ३१ गते बिहान ८ बजे घरबाट बजार जाने भनेर निस्केका २८ वर्षीय जेठा छोरा नारायण बुढाथोकी अब कहिल्यै फर्केर आउने छैनन् ।
तीन छोरा र एक छोरीको आमा कुस्माले निकै कम उमेरमै सन्तानको जन्मदिनु भयो । चार सन्तानपछि पति नेत्र बुढाथोकी पनि खुसी थिए । घरभरि सन्तानले भरिएपछि खुसी नहुन पनि कसरी ? तर, त्यो परिवारको खुसी लामो समय रहन सकेन् । सन्तान जन्माउँदाको पीडा भुलेका कुस्माको लागि अहिले कोखमा माया गर्ने न पति रहे, न पीडा बिर्षिएर हुर्काएका तीन छोरा नै । अहिले कुस्माको कोख रित्तो छ । सपना उजाड भएको छ ।
पहिलो सन्तान दिनेशलाई पाँच वर्षको उमेरमा निमोनियाले ज्यान लियो । गाउँमा उपचार गराउन कुनै स्वास्थ्य संस्था त्यो बेला थिएनन् । उपचारकै लागि दार्चुला हुँुदै भारतको पिथौरागढसम्म पु¥याए । तर, उनि रहेनन् । छोरा वितेको केहि समयपछि पति नेत्रको मृत्यु भयो । अहिले पत् िवितेको १८ वर्ष भयो ।
अर्को छोरा सुरेश नौ वर्षको हुँदा वित्यो । फोक्सोमा क्यान्सर पीडित छोराको उपचारको लागि कुनै कसुर बाँकी राखेनन् । घरको जायज्येथा उपचारमै लगाए । तर, छोरो कहिल्यै नफर्किने गरी गयो । घरमा एकपछि अर्कोको मृत्युको चिहान हेरिरहेकी कुस्मा हुँदा हुँदा जेठो छोरा नारायणको मृत्युपछि भावविहिल छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण छोरी भावनाको पढाई अधुरै र¥यो । नौ कक्षासम्म मात्रै पढेकी छोरी भावना अहिले गाउँमै छन् । कुस्मा भन्नुहुन्छ, “घरमा आर्थिक सहारा नभएकै कारण छोरीले पढ्न पाएन् ।” “अब म बाँचे जस्तो छैन, कुस्मा भक्कानिन्छिन् । आँखाबाट बग्ने आँशु थामिँदैन ।”
“घरमा जम्मा एउटै छोरा बाँचेका थिए, नारायण । अब त त्यो पनि छैन ।” आज बाँचेकी छोरी भावना मात्र उहाँको साथमा छ । छोरी, बुहारी र नातीको अनुहार हेरेर पीडा विर्षाउने प्रयास गर्छु तर सक्दिन् कुस्मा भन्नुहुन्छ ।
“अब कसले घर चलाउने ? बुहारी दुई जिउकी छिन् । नाती सानै छन्,” कुस्माको स्वँर अझ चिरा पर्छ । “त्यो दिन नारायणले हिड्ने बेलामा घरमा केही सोधेन । सोधेको भए नेपालकै बाटो हिँड भन्न सक्थेँ,” कुस्मा सम्झिन्छन र आशुले भरिएका आँखा पुछ्छिन् ।
घरमा बचेका कुस्माको जेठो सन्तान हुन नारायण । नारायणले विहे गरेको ११ वर्ष भएको थियो । नारायणबाट एउटा छोरा समिर १० वर्षका छन् । व्याँस गाउँपालिका–४ सीनाका २४ वर्षीया जानकी धामी बुढाथोकीसँग प्रेम विवाह गरेका उहाँको परिवार राम्रौ चल्दै थियो ।
गरिबीबाटमाथि उठ्ने प्रयास हुँदै थियो । १० वर्षपछि दोस्रो सन्तान पाउने आशामा थिए नारायण । जानकी अहिले दुई जीउ कि छन् । अबको एक सातापछि उहाँले दोस्रो सन्तानको जन्म दिदैछिन् । तर, जसको खुसीको लागि बच्चा पाउन राजी भएका थिए जानकी, उहाँका पति नारायण अहिले उहाँको साथमा छैनन् । पतिको खुसी पूरा गर्ने जानकीको चाहना अधुरै र¥यो ।
गाउँमा खानलाई पुग्ने गरी खेत छैन् । १० । १२ बाख्रा पालेको थियो नारायणले । जडिबुटी संकलन गर्ने र परिवारको जोहो चलाएको थियो । छोरालाई राम्रो विद्यालयमा पढाउन यसै वर्ष खलंगा पु¥याएको थियो । आफू र बहिनी पढाउन नसकेको पीडा भुलाउन छोराको भविष्य सोचेका थिए नारायणले जानकीले विगत सम्झिदै भन्नुभयो ।
थोरै भए पनि गाउँमा सानो व्यापार व्यवसाय गरेर पैसा कमाउने सोच राखे नारायणले । घरमा भएका बाख्रा बेचेर दुई महिना अघि पसल थापेका थिए । दुई महिना नपुग्दै त्यो पसल पनि थन्कियो । अहिले पसलमा ताला छ । आमा र परिवारले नारायणप्रती विश्वास भरोसा गरेर बुनेका सपना अहिले आँशुमा बगेका छन् ।
कुस्मा भन्छन् “नारायण वेपत्ता भएको थाहाँ पाएपछि वडा अध्यक्ष धिरनसिंह बुढाथोकी आउनु भयो, ६ हजार रुपियाँ नगद दिएर जानु भयो । चिन्ता गर्नु पर्दैन भन्दै ढाडस दिएर फर्किनु भयो ।
त्यसपछि कोही जनप्रतिनिधि सोध्न समेत आएका छैनन् । गाउँले कहिलेकाही आउँछन्, सहानुभूति दिन्छन् ।” देशमा सरकार छ भन्छन् तर हामी गरिबको झुपडी रित्तो हुँदा पनि कसैले सुनिदिएन् । हाम्रो परिवारको पीडामा मह्लम लगाउने कोही सरकार पुग्दैन् ।
छोरी भावनालाई सानो जागिर लगाइ दिए पनि खान हुन्थ्यो । दुई जीउ भएकी बुहारीले कसरी काम गर्छ । म उमेरले थन्किदै गएको छु । जीन्दगीका सारा खुसी रित्तो बनाउँदा पनि यो संसारमा सहयोग गर्ने भगवान् पनि निष्ठुरी छन्, कुस्मा बिलौना गर्नुहुन्छ ।
गाउँमा जमिन थिएन् । जमिन किनेर घर बनाए । घर बनाए लगत्तै पत्किो मृत्यु भयो । तीन छोरा पनि घरमा हुर्किन नपाउँदै गए । अहिले त्यहीँ झुपडीमा बस्न नसकिने अवस्था आएको छ । कहाँ जाउँ कहाँ गएर छोरी बुहारी र नाती पालु ? ।
त्यो बिहान कुस्मा बिहानै राज्मा गोड्मेल गर्न खेतमा हिडेका थिए । छोरा नारायण सुतेकै थियो । पत्नी जानकीलाई समेत बजार जान्छु भनेर भनेको थिएन् । पत्नी सुत्केरी भए पछि समान चाहिन्छ, जोर जमर्को गरौं भन्दै थियो । तर, त्यति चाडै बजार जाला भनेर सोचेको थिएन् ।
बजार जान्छु भनेको भए नेपालको बाटोबाट मालस्थित झोलुङ्गे पुलबाट जाउ भन्थे कुस्माले भन्नुभयो तर कसैलाई नभनि घरबाट हिडेछ । गाउँबाट पुल भएको ठाउँ पुग्न दुई घण्टा हिड्नु पर्छ । तुइन लगाएको ठाउँमा पाँच मिनेटमै पुगिन्छ । तुइन नियमित लगाउन भारतीय एसएसबीले दिदैन् तर चार, पाँच दिनदेखि त्यो ठाउँको तुइन काटिएको थिएन् ।
तुइन तरेर भारतपट्टि पुग्नेवित्तिकै गाडी पाउँछ । तर, नेपालतर्फ हिड्नुपर्ने कस्टकर छ । छोरासँग तीन जना गाउँका गएका थिए । एक जना पारि भारत पुगेको रहेछ । कुस्माले सुनाउनु भयो, छोरा तर्नेबेला महाकालीको मध्यभागमा पुग्दा तुइन चुडियो । १२ बजेमात्रै हामीले थाहाँ पायौँ ।
जिल्लाका दुम्लीङ र कल्जु बस्तीको लागि झोलुङ्गे पुल बनेको छैन् । वर्षेनी महाकाली नदीमा तुइनबाट मानिसको मृत्यु भइरहेको छ ।
सरकारले ०७२ सालमा देश तुइनमुक्त घोषणा गरेको थियो । व्याँसका अन्य ठाउँमा तुइन विस्थापित भएर झोलुङ्गे पुल बने । दुम्लीङमा झोलुङ्गे पुलको लागि माग भएको दशकौँ भयो तर सुनुवाइ भएको छैन्, वडा अध्यक्ष धिरनसिह बुढाथोकीले भन्नुभयो । यो ठाउँबाट अहिलेको झोलुङ्गे पुल पुग्न दुई घण्टा समय लाग्छ । नेपालतर्फ दार्चुला टिंकर सडक निर्माणाधीन छ । सडकको ट्रयाक पूरै खुलेको छैन् । नागरिक वर्र्षौयता तुइनमा झुन्डिएर नदी पार गर्दै आइरहेका छन् । दुम्लिङमा मात्रै १ सय ५ परिवारको बसोबास छ ।
तुइन विस्थापन नभएका कारण मेरा वडाका नागरिकले अकालमै ज्यान गुमाउने गरेको वडा अध्यक्ष बुढाथोकी बताउनुहुन्छ । उहाँका अनुसार ०५० सालदेखि ०८२ असार ३१ गतेसम्म ३२ वर्षको अवधिमा दुम्लिङगाउँका २० जना तुइन तर्दा महाकाली नदीमा खसेर बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, दार्चुलाको पछिल्लो तथ्याङ्क अनुसार ०७८ असार १५ गते व्याँस गाउँपालिका–२ का ३३ वर्षीय जयसिह धामी, ०७९ असार २२ गते १८ वर्षीय सचिन बुढाथोकी र ०८० वैशाख ९ गते ४५ वर्षीय सिन्दलसिह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको छ ।
वडा नम्बर २ कै मालगाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल भए पनि दुम्लिङबाट झोलुङ्गे पुलसम्म पुग्न तीन घण्टाको पैदल दुरी हिँड्नुपर्ने बाध्यता छ । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिङ्कर सडक मालगाउँमा मात्रै पुगेको छ, मालगाउँबाट तीन घण्टाको पैदल दुरीमा दुम्लिङगाउँ पर्छ ।
नेपाल सरकारको तुइन विस्थापन योजना अनुसार दार्चुलाको लेकम गाउँपालिका–३, लाली, मालिकार्जुन गाउँपालिका–६, उकु, व्यास गाउँपालिका–२, मालगाउँ, वडा नम्बर ४ को मलघट्टे र वडा नम्बर ६ को बडुगाउँमा नेपाल–भारत जोड्ने नयाँ झोलुङ्गे पुल निर्माण भएका छन् ।
स्थानीयले सरकारलाई दुम्लिङ बस्तीनजिक झोलुंगे पुल निर्माणका लागि कैयौंपटक आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको वडाध्यक्ष बुढाथाकीले बताउनु भयो । महाकालीमा आधा दर्जन ठाउँमा झोलुंगे पुल निर्माणका कार्य भए पनि दुम्लीङको पुल निर्माणको लागि सरकारले पहल नगरेको स्थानीयको गुनासो छ ।