लिसङ्खुपाखर गाउँपालिका—५ जेठलमा बस्ती नजिक पहिरो गएपछि ०८२ साउन ६ गते १८ परिवार आफ्नो घर छाडेर अन्यत्र विस्थापित भएका छन् ।
बस्ती नजिक साउन ५ गते दिउँसो ठूलो पहिरो गएपछि गाउँका घरहरू जोखिममा परेको भन्दै प्रहरी चौकी मुडेबाट प्रहरी टोली घटनास्थलमा पुगी १८ घर परिवारलाई सुरक्षित स्थलमा स्थानान्तरण गरिएको प्रहरी चौकी मुडेका इन्चार्ज सई रामप्रसाद सेढाईँले बताउनुभयो ।
पहिरोबाट जेठलका चतुर्धोज जोशी, दण्डधोज जोशी, लिलाबहादुर जोशी, सुर्वणराज श्रेष्ठ, दलबहादुर श्रेष्ठ, धर्म सिं श्रेष्ठ, मिश्रिलाल श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, विरबहादुर श्रेष्ठ लगायत घरपरिवार रहेका छन् ।
विस्थापित भएकाहरू हालका लागि अस्थायी रुपमा सोही वडाको पल्लो गाउँमा रहेका आफन्त तथा स्थानीय व्यक्तिहरुको घरमा स्थानान्तरण गरिएको सई रामप्रसाद सेढाइले बताउनुभयो ।
पहिरोका कारण विस्थापित भएकाहरूलाई तत्काल आवश्यक पर्ने सबै व्यवस्थापन गरिने जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो ।