धनपालथान गाउँपालिका-५ का २२ वर्षीय अनिष सरदारलाई जिल्ला अदालतले सात वर्षीया भतिजीको बलात्कारपछि हत्या कसुरमा आजीवन कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको साउन ५ गतेको इजलासले भजितीको बलात्कारपछि हत्या गरेको कसुरमा २२ वर्षीय काका अनिष सरदारलाई आजीवन कैद सजायको आदेश भएको अदालतका श्रेस्तेदार मणिराम पोखरेलले बताउनु भयो ।
धनपालथान गाउँपालिका-५ मा अभिभावकले काका अनिष सरदारको भरमा सात वर्षीया छोरीलाई जिम्मा लगाएर काम विशेषले भारत गएको अवस्थामा कसुरदारले बालिकालाई ०८२ असार १४ गते बलात्कारपछि हत्या गरेर शव धनपालथान गाउँपालिका-५ स्थित दुर्गा आधारभूत विद्यालयको बाटो छेऊमा फालेका थिए ।
बालिकाको शव असार १४ गते फेला परेपछि प्रहरी काका अनिष सरदारलाई सोही दिन गिरफ्तारी गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा कसुरदारले रक्सी सेवन गरेर भतिजीको बलात्कारपछि हत्या गरेर शव फालेको बयान दिएपछि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अनिषविरुद्ध जिल्ला अदालतमा साउन ४ गते बलात्कार र हत्या शीर्षकमा मुद्दा दर्ता गराएको थियो ।
जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको साउन ५ गतेको इजलासमा अनिषले घटना स्वीकार गरेपछि थुनछेक बहसकै क्रममा बलात्कार र हत्या कसुरमा दोषी ठहर गरी आजीवन कैद सजायको फैसला आदेश भएको अदालतका श्रेस्तेदार मणिराम पोखरेले बताउनु भयो ।
अदालतले अनिषलाई ७ लाख रूपियाँ जरिबानाको फैसलासमेत गरेको छ । साथै, अदालतबाट पीडित परिवारलाई क्षतिपूर्तिबापत पीडकबाट १ लाख रूपियाँ मृतकको नजिकका नातेदारलाई भराउने फैसला समेत भएको छ ।
मदिरा सेवन गरेका अनिषले आफूसँगै सुतेकी नाबालिका भतिजीलाई घर बाहिर निकालेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्यापछि घटना खुल्ने डरले हत्या गरेर शव नजिकै रहेको विद्यालय छेउमा फालिदिएको अनुसन्धानबाट पत्ता लागेको थियो ।