INSEC Online

📅 २०८३ जेष्ठ २१

छिट्टै फर्किने बाँचा सहित हिडेका नारायण तुइन चुँडिदा महाकालीमा विलीन !

व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ । बिहानको चिसो हाँवाले घरको आँगन हल्लाउँदै थियो । नौ महिनाकी गर्भवती पत्नी जानकी बुढाथोकी (जन्ना)को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो । पति नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै थिए, “सुत्केरीका लागि लत्ताकपडा, पोषिलो आहार र औषधि किन्न ।”

स्वास्थ्यकर्मीले उहाँको पत्नी जानकीलाई ०८२ साउन ७ गते सुत्ेकरी हुने डेट दिएको छ । तर, सन्तानको अनुहार हेर्ने र पत्नीको लागि सुत्केरी स्याहाँरको लागि समान लिएर फर्किने त्यो यात्रा नारायणको लागि अन्तिम बन्न पुग्यो ।

नारायण बिहानको समयमा गाउँका दुई साथीहरूसहित महाकाली नदी तर्ने तयारीमा थिए । नेपालतर्फबाट खलंगा पुग्ने पैदल मार्ग अप्ठ्यारो र समय लाग्दो थियो । त्यसैले धेरैजसोले महाकाली नदी पार गरेर भारततर्फको सजिलो सडक मार्ग रोज्ने गरेका छन् । यो छोटो मार्गको हतारमा हरेक वर्ष स्थानीयहरुको मृत्युवरण भएको छ ।

वारिपारि गर्ने झोलुङ्गे पुल व्याँस गाउँपालिकाको दुम्लीङमा मात्रै बनेको छैन् । वारिपार गर्न झोलुङ्गे पुल नभएपछि उनीहरूले अस्थायी तुइन प्रयोग गरेर यात्रा गर्ने गर्छन् । ०८२ असार ३१ गते नारायण पनि त्यहि तुइन पार गरेर समान लिन हिडेका थिए ।

उनीसँगै गएका जीतु पहिले तुइन पार गरे । डोरी खतरनाक रूपमा तन्कियो । उनी तर्दातर्दै डोरी महाकालीको छालतर्फ पुगिसकेको थियो । आधा लुगा भिजेरै भारतपट्टी पुगे जीतु । बल्लतल्ल ज्यान जोगाएर भारत पुगेका जीतुले पारि (भारत) पुगेर गहिरो श्वास फेरे ।

तर, आफूभन्दा पछाडि आउँदै थिए गाउँकै नारायण । तुइनमा चडेर वारि भारत आउँदै गरेका नारायणलाई हातको इशारामा नआउन भने । तर, नारायणले त्यो इशारा देखेनन्, वा बुझेनन् । चट्टानमा ठोक्किदै आएको महाकालीको तिव्र बेग र चिच्चाहटले बोलेर नारायणलाई रोक्ने सक्ने अवस्था थिएन् ।

पिठ्युमा किनमेल गर्न बोकेको झोला, काँधमा आँशाको भरोसा बोकेर तुइन समातेर नारायण महाकालीमाथि कुद्न लागे । बीचमा पुग्दा, भारततर्फको खम्बा एक्कासी भाँचियो, नारायण सीधै महाकालीमा हेलिए । बर्खाको उर्लदो महाकाली नदीको छालले सधैंको लागि महाकालीमा नारायण बिलिन् भए । जीतुको इशारा बुझेको भए नारायण पारि गाउँतर्फ रोकिन सक्थे ।  ज्यान जोगिने थियो, सम्झिदै जितुले सुनाउनुभयो । मेरो त केहि थिएन्, तर, नारायण दाइको घरमा बच्चा पाउनै लागेका भाउजु र छोरा छन् ।

नारायणको बाटो पर्खेर बसेकी पत्नी जानकी अझै पनि घरको ढोकातिर आँखा गाडेर बसिरहेकी छन् । नारायणको खुसीको लागि बच्चा पाउन तयार भएका जानकी बच्चा जन्मनै लाग्दा पतिको मृत्युको खबरले उनी भक्कानिएर बोल्नै सक्दिनन् । जन्मिनै लागेका शिशुको अनुहार नदेखिकन नारायण अस्ताएका छन् त्यो उर्लदो महाकालीको गर्जनमा । नारायणको यसअघि चार वर्षका एक छोरा छन् ।

झोलुङ्गे पुलको मागको सुनुवाइ नहुँदा बर्षेनी जान्छ ज्यान !

०७२ सालमा प्रधानमन्त्री केपीशर्मा ओलीले देशलाई “ दूई वर्षभित्र तुइनमुक्त बनाउने” घोषणा गर्नुभयो । घोषणा गरेपछि दार्चुला जिल्लामा मात्रै व्याँस गाउँपालिकाका पाँच ओटा स्थानमा महाकालीमाथि झोलुङ्गे पुल निर्माण भएका छन् ।

व्याँस गाउँपालिका–२ स्थित मालघाट, वडा नम्बर ४ को मलघट्टे, वडा नम्बर ५ को तिगरम, वडा नम्बर ६ को बडूगाउँमा पनि झोलुंगे पुल छन् । व्याँस गाउँपालिका–१ को सीतापुलमा काठेपुल निर्माण छ । यस्तै लेकमको लाली, मालिकार्जुनको जोलजीविमा झोलुङ्गे पुल निर्माण भएका छन् ।

तर, पनि व्याँस गाउँपालिका–२ दुम्लीङमा झोलुङ्गे पुल निर्माणको लागि भारतले अनुमति नदिदा पुल बन्न बाँकी रह्यो । दुम्लीङबाट हाल निर्माण भएको वडा नम्बर २ कै मालघाट पुल पुग्न दुई घण्टा बढि समय लाग्छ ।

स्थानीयको माग पूरा नहुँदा यहाँका नागरिकले  हरेक वर्ष तुइनबाट खसेर ज्यान गुमाउनु परेको छ  व्याँस गाउँपालिका–२ दुम्लीङका मात्रै ०७९ सालमा १८ वर्षीय सचिन बुढाथोकी, ०८० वैशाख ९ गते ४५ वर्षीय सिङ्दलसिंह भण्डारीको महाकाली नदी तर्ने क्रममा तुइन चुडिएर वेपत्ता भए । वडा नम्बर २ का वडाध्यक्ष धिरनसिह बुढाथोकीका अनुसार तुइनबाट खसेर वडा नम्बर २ का मात्रै २६ जना बढिको मृत्यु भइसकेको छ ।

व्यास गाउँपालिका–२ दुम्लिङमा अहिले पनि कम्तीमा तीन स्थानमा अस्थायी तुइन प्रयोग गरिन्छ । प्रभात बुढाथोकीका अनुसारः “हामीले झोलुंगे पुल बनाइदिन कयौँ पटक सरकारलाई आग्रह ग¥यौँ । सरकारले वास्ता गरेन ।” हरेक मन्त्री, प्रधानमन्त्री र सासंदलाई ज्ञापन बुझाएका छौंँ । तर, सरकारले सुनवाइ गरेको छैन् ।

महेन्द्रसिह बुढाथोकी भन्नुहुन्छ, “दुम्लीङ, कल्जु क्षेत्रमा कम्तीमा १ सय घरधुरीको बसोबास छ । तर, यहाँको नागरिकको लागि मात्रै तुइन विस्थापन गरेर झोुलङ्गे पुल बनेन् । हामीप्रती सरकारले हेर्ने दृष्टिकोण बदलिएन् ।” दुम्लीङबाट नजिकै रहेको झोलुंगे पुल पुग्न २ घण्टा हिँड्नुपर्छ । व्याँस गाउँपालिका–२ मालघाटमा ०७८ साउन १५ गते जयसिह धामीको तुइनबाट खसेर मृत्यु भएपछि झोलुङ्गे पुल बनेको थियो । त्यो पुलबाट राप्ला र मालका स्थानीय आवतजावत गर्ने गर्छन् ।

दुम्लीङसम्म भर्खर मात्रै नेपाली सेनाले दार्चुला टिंकर सडक निर्माण गरिरहेको छ । सडकमा गाडी नगुडेको र झोलुङ्गे पुल पुग्न समय लाग्ने भएपछि यहाँका नागरिकले अवैध तर सजिलो विकल्पको रुपमा तुइनको प्रयोग गर्ने गर्छन् ।

वडाध्यक्ष धिरनसिंह बुढाथोकी थप्नुहुन्छ “प्रत्येक वर्ष दुम्लिङ क्षेत्रबाट कोही न कोही महाकालीमा हराउँछन् । तर, राज्यको आँखामा यो ठाउँ देखिदैन ।” मागपत्र दिएकै दशकौँ भयो । ०७८ साल अघिसम्म भारतले अस्थायी रुपमा काठेपुल लगाउन दुम्लीङमा अनुमति दिएको थियो । तर, कोरोनापछि भारतले अस्थायी काठेपुल भत्काइदिएपछि यो क्षेत्रका नागरिक लुकछिपी तुइन लगाउने गर्छन् । अहिले पनि तुइन लगाएको देख्नेवित्तिकै भारतीय एसएसबीले काटिदिन्छ । तर, नागरिकले सजिलाको लागि त्यहि तुइन प्रयोग गर्छन् ।

प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बैधानिक रुपमा तुइन नभए पनि स्थानीयले सजिलोको लागि तुइन प्रयोग गर्ने गरेको पाइएको बताउनु भयो ।

हामीले तुइन हटाउने प्रयास गरिरहेको भए पनि वैकल्पिक संरचना नहुँदा स्थानीय तुईन लगाउर महाकाली नदी तर्न बाध्य भएको उहाँले बताउनु भयो ।

अन्य

भिडियो