चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले ०८२ असार १७ गते राति खुकुरी प्रहार गरी पत्नीको हत्या गरेको भन्दै जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको असार ३१ गतेको इजलासले आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
चौरजहारीका चन्द्रबहादुरले ३० वर्षीया पत्नी देविका बुढाथोकीलाई धारिलो हतियारले हानेर हत्या गरेका थिए । मृतक देविकाका भाइ गोविन्द खत्रीले असार १८ गते किटानी जाहेरी दिएपछि उक्त मुद्दामाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको थियो । पत्नीको हत्यापछि नाबालक छोराछोरीको रेखदेख, पालनपोषण र संरक्षणका लागि नेपाल सरकारबाट व्ययभार हुने गरी पीडित राहत कोषबाट ७ लाख रुपियाँ अन्तरिम क्षतिपूर्तिस्वरूप राहत रकम भराइदिन पनि अदालतले आदेश दिएको छ । आरोपितलाई असार १७ गते नै प्रहरीले गिरफ्तार गरेर अनुसन्धान गरेको थियो । शवको पोष्टमार्टम असार १९ गते जिल्ला अस्पताल सल्लेमा गरिएको थियो । शवको सद्गत असार २० गते चौरजहारीमा गरिएको थियो ।