१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाश गाउँपालिका–३ स्थित विपन्न र जोखिममा परेका बालबालिकाका लागि सञ्चालित बालगृहका होस्टल प्रमुखविरुद्ध पीडित पक्षले ०८२ असार २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
पीडित पक्षले प्रहरीमा दिएको उजुरीमा ०८२ जेठ १ गतेदेखि ८ गतेसम्मकै अवधिमा होस्टेल प्रमुख मधुसुधन रावतले आफूलाई पटक–पटक बलात्कार गरेको उल्लेख गरिएको छ । पीडित पक्षले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।
आरोपित मधुसुधन रावत सांग्रीला डेभलपमेन्ट एसोसिएसनले सञ्चालन गर्दै आएको कैलाश गाउँपालिकास्थित फिल्डका हेड अफिसर भएको डीएसपी श्यामु अर्यालले बताउनु भयो । ‘जाहेरीका आधारमा अनुसन्धान अगाडि बढाइएको छ’, डिएसपी अर्यालले भन्नुभयो ।
उक्त होस्टलमा हाल १५ जना बालिका रहेका छन् । आरोपित फरार रहेको र घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा असार २७ गते गरियो ।