रासकोट नपा-२ का म्यादी प्रहरी ३० वर्षीय विवेक ऐडीलाई जिल्ला प्रहरी कार्यालय मान्म बजारमा पुस ७ गते म्यादी र नेपाल प्रहरीबिच भएको झडपमा प्रहरीको गोली लागि उपचारका क्रममा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
टाउकोमा गोली लागेका म्यादी प्रहरी ऐडीलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालले जनायो । आफूहरूले पाउनु पर्ने सेवा सुविधा नपाएको भन्दै म्यादी प्रहरीहरूले जिल्ला प्रहरी कार्यालयमा आन्दोलन गरेका थिए । प्रहरी र म्यादी प्रहरीबिचको झडपमा १०/१५ जना म्यादी प्रहरी घाइते भएको आन्दोलनकारीले बताए पनि उनीहरूको विस्तृत विवरण प्राप्त भएको छैन ।
स्थानीय प्रशासनले दिउँसो ३ः३० बजेबाट मान्म बजारमा अर्को आदेश नहुँदासम्मका लागि कर्फ्यु जारी गरेको जनाएको छ । जिल्लामा म्यादी प्रहरी ९ सय ७३ जना रहेका छन् । आन्दोलनरत म्यादी प्रहरीले मान्म बजारस्थित जिरो प्वाइन्टमा रहेको प्रहरी पोष्ट जलाएका छन् । मृत्यु भएका म्यादी प्रहरीको लास प्रदर्शनकारीले बजारको सडकमा राखेका छन् ।