“मलाई छोरालाई यसरी फलामे खोरभित्र थुनेर राख्नैपर्छ, किनभने उसलाई छोडिदिएँ भने फेरि भाग्ने र हराउने गर्छ,” यी शब्दहरूले परिवारलाई सोच्न बाध्य बनाउने पीडादायी कथा हो, पाल्पाको रामपुर नगरपालिका–६, तिलकपुरका ११ वर्षीय पवन कुमालको। उनको जीवनको कथा एकदमै पीडादायी छ, जुन पीडाले समाजको संवेदनशीलता र मानवता प्रति प्रश्न उठाउँछ।
पवनको जन्मजात शारीरिक अपाङ्गताले उनलाई अझ कमजोर बनाएको छ। उनी मानसिक र शारीरिक रुपमा अपाङ्गता छन्। दुई वर्षदेखि फलामे खोरभित्र बन्द भएर बसेको उनको जीवनले परिवारमा नै दु:खद् कथा बनाएको छ।
पवनको आमा पुर्नामाया कुमालले बताउँछिन्, “उसलाई छोडिदिएँ भने जताततै भाग्ने, हराउने गर्छ। घरको अगाडि बाटो हुँदै धेरै नेता, मन्त्री र सांसदहरू हिँड्ने गर्छन्, तर हाम्रो पीडालाई कसैले चासो दिँदैनन्।” उनी थप्छिन्, “अर्काको घरमा काम गर्न जानुपर्छ, दिनभरि काम गर्नुपर्ने, अनि उसलाई यसरी नै खोरमा राख्नुपर्छ। यसले मेरो मन निकै दुख्छ, तर बाध्यता पनि छ।”
जुम्ल्याहा मध्ये जेठो छोरा हुन् पवन । कान्छो छोरा भने ६ कक्षामा पढ्छ । एकैपटक जन्मिएका दुई छोरामध्ये एउटालाई फलामे खोरमा थुनेर राख्नु पर्दा धेरै दुख लागेको पुर्नामाया बताउँछिन् ।

पुर्नामायाका पति वैदेशिकर रोजगारीमा हुनुहुन्छ । घरको आर्थिक स्थिति कमजोर भएकाले, उनी विदेश जान बाध्य भएका छन्।
पवनको उपचारका लागि धेरै प्रयास भए, तर आर्थिक अभावले सफलता मिलेन। एक वर्षको हुँदा बनेपास्थित अपाङ्गतासम्बन्धी उपचार केन्द्रमा खट्टाको उपचार गराएका थिए। उपचारपछि खुट्टामा केही सुधार आए पनि शल्यक्रिया गर्न नपाउँदै मुटुमा समस्या देखियो । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रामपुर नगरपालिकाको सहयोगमा मटुको शल्यक्रिया शल्यक्रिया गरिएको पुर्नामायाले बताइन् ।
पवनको जीवनको कथा केवल एक परिवारको पीडा होइन, यो हाम्रो समाजको संवेदनशीलता र मानवता प्रति प्रश्न हो। उनी जस्ता पीडित बालकको पीडा हाम्रै समाजको असफलता हो, जसले उनीहरूको अधिकार र जीवनको मानवीयता बुझ्न सकेको छैन।
