जिल्लाका अधिकांशबस्तीहरु सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छ । सञ्चार गर्नका लागि धाम कुर्नु पर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ ।
‘बिहान घाम लाग्यो भने मोबाइलमा नेटवर्क आउँछ, साँझ घाम अस्ताउँदा नेटवर्क पनि अस्ताउछ,’ जिल्लाका अधिकांश बस्तीको पीडा हो यो । बुङ्गल नगरपालिका–२ का गोविन्द जाग्रीले गुनासो गर्दै भन्नुभयो, ‘सूचनाको युग भनिने आजको समयमा पनि जिल्लाका दर्जनौँ बस्तीमा घाम नलागेसम्म फोन गर्न नसकिने बाध्यता छ । घाम छैन् भने नेटवर्क छैन्, नेटवर्क छैन भने सञ्चार छैन् । घाम नलाग्दासम्म हामी सम्पर्क विहिन हुन्छौँ ।’
नेपाल टेलिकमले जिल्लामा २२ ओटा टावर स्थापना गरिसकेको छ । तीमध्ये १६ ओटा टावर सौर्य ऊर्जामा आधारित छन्, जसले घाम लाग्दा मात्र सेवा दिन सक्छन् । बाँकी ६ ओटा टावर मात्रै राष्ट्रिय प्रसारण लाइनको विद्युतसँग जोडिएका छन् । यही संरचनागत सीमितता र कमजोर व्यवस्थापनका कारण स्थानीयले सञ्चार अधिकारको न्यूनतम सुविधा पनि सुनिश्चित गर्न सकेका छैनन् ।

नेपाल टेलिकम, बझाङका प्रमुख बमबहादुर सिंहले पनि समस्या स्वीकार गर्नुभएको छ । ‘धेरै जसो टावर सोलारमा छन् । पर्याप्त घाम नलाग्दा ब्याट्री चार्ज हुँदैन् । सेवा बन्द हुन्छ ।’ उहाँले भन्नुभयो, ‘हामीले प्रदेश कार्यालयमा समस्या सम्बोधन गर्न पत्राचार गरिरहेका छौँ तर स्थायी समाधान अझै पर्खिनु पर्छ ।’
कुनै गाउँमा बिरामी परे, गाडी बोलाउन वा स्वास्थ्यकर्मीलाई खबर गर्नु प¥यो भने फोन हातमा लिएर अर्को गाउँसम्म दौडिनुपर्ने स्थानीयहरुको बाध्यता छ । बाटोसमेत नखुलेको मौसममा अरू गाउँ पुग्ने कल्पनै गर्न सकिन्न् । बिहान केही समय घाम लाग्यो भने मात्रै नेटवर्क आउने भएकाले कहिलेकाही बिरामीको अवस्था चिन्ताजनक हुँदै जान्छ तर फोन नलाग्दा हेर्नु बाहेक केही गर्न सकिँदैन् । खप्तडछान्ना गाउँपालिका–७ गडरायका ईश्वरबहादुर थापा भन्नुहुन्छ, ‘इन्टरनेटको युग भनिन्छ तर हामी सञ्चार सेवाबाट वञ्चित छौँ ।”
बर्खायाम र हिउँदमा टावर ठप्प हुन्छन् । सोलारबाट सञ्चालित टावर बादल लाग्नासाथ बन्द हुने गर्छन् । नेटवर्क हराउँछ । टेलिकमको सेवा अस्थिर हुँदा स्थानीय आपत्कालीन परिस्थितिमा झन् कमजोर हुन्छन् । दुर्गम गाउँमा त परिस्थिति झन् भयावह छ । खप्तडछान्ना, छबिसपाथिभेरा, दुर्गाथली, बित्थडचिर, साइपाल र बुङ्गल नगरपालिका लगायत जिल्लाका धेरै स्थानीय तहमा नेटवर्क समस्याले स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।

खप्तडछान्ना गाउँपालिका–४ को चौकाडाँडा, वडा नम्बर ६ को बयानाको डाँडामाडौँ, बुङ्गल नगरपालिका अन्तर्गत जयनलीडाँडा, थलकाँडा, दहबगरडाँडा, केदारस्युँको केदारडाँडा र छबिसपाथिभेरा–२ को मेल्लेखडाँडा लगायतका स्थानमा टावर त छन् तर ऊर्जा छैन् । सोलार प्रणालीमा भर परेका टावरले बर्खामा काम गर्न सक्दैनन् ।
जयपृथ्वी बहुमुखी क्याम्पसका प्राध्यापक लालबहादुर बोहरा भन्नुहुन्छ, ‘सूचना प्रविधिको युगमा आधारभूत सञ्चार सुविधा पनि नपाउनु राज्यको लापरबाही हो । यस्तो लज्जास्पद अवस्था हटाउन तत्काल नीति र लगानी आवश्यक छ ।’ उहाँले भन्नुभयो, ‘जिल्लामा अहिले पनि सञ्चार पहुँच आकाशको बादलमा भर परेको छ । घाम लाग्यो भने सञ्चार हुन्छ नत्र जीवन पनि अन्धकारमै हुन्छ । सूचना प्रविधिको तीव्र विकासबीच यो अवस्था मूलुकको विकासको गतिमा कालो बादल झैँ छ ।’