INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्योतिनगर पहिरोको डर र प्रविधिको आशा

बुटवल उपमहानगरपालिका-३ को ज्योतिनगर क्षेत्रमा लामो समयदेखि पहिरोको समस्या समाधानका लागि नयाँ उपायको रूपमा अत्याधुनिक क्यामेरा जडान गरिएको छ। क्यामेराले ज्योतिनगरको पहिरोको क्षतिलाई दिनरात फोटो खिच्छ, नियमित खिचेको पहिरोको फोटो (युके) बेलायतको क्याब्रिज युनिभर्सिटीमा बुटवल उपमहानगरपालिकाका इन्जिन्यिर योगेश चापागाईले पठाउनुहुन्छ । हरेक दिन १५ मिनेटमा पाँच वटा क्यामेराले खिचिएका यी तस्वीरहरूले जोखिमपूर्ण स्थानको हालको अवस्था स्पष्ट देखाउँदै आएको छ।  ज्योतिनगरमा चुरे पहाडबाट भूस्खलन भै पहिरो आउने तर सामान्य आँखाले हेर्दा पहिरो खसेको नदेखिने भएपछि यो प्रविधिको प्रयोग गरिएको हो ।

Photo 2025-06-27 Rupendehi (6)

ज्योतिनगरको पहिरोका कारण निम्तिने जोखिम नियन्त्रणको पूर्वतयारीका लागि तीन महिनाअघि यस क्षेत्रमा उक्त क्यामेराहरु जडान गरिएको हो । उपमहानगरको विपत् शाखाले सेटेलाइट विधिबाट पनि ज्योतिनगर पहिरोको निरन्तर निगरानी गर्दै आएको छ ।

क्यामेराको प्रयोगबाट पहिरोको निगरानी गर्न थालिएपछि ज्योतिनगरको पहिरो नियन्त्रणमा यो प्रविधि प्रभावकारी बन्ने यस क्षेत्रका बासिन्दाहरुको अपेक्षा छ । स्थानीय रमेश थापा भन्नुहुन्छ “अहिले यहाँका बासिन्दा केही हदसम्म ढुक्क छन्, किनकि यहाँ पाँचवटा क्यामेराले पहिरोको अवस्था निगरानी चौबीसै घण्टा गर्दैछ ।” क्यामेराको नजरमा ज्योतिनगरः विपद पूर्वतयारीमा सतर्क बुटवल भन्ने मन्त्र नै बनाएर अगाडी बढेको उपमानगरपालिकाले जनाएको छ ।

Photo 2025-06-27 Rupendehi (2)

बुटवल उपहानगरपालिका- ३ का वडा सदस्य अमृत खड्काका अनुसार तीनै तहका सरकारबाट पहिरो नियन्त्रणमा भरमग्दुर प्रयास भइरहेकोले गर्दा पनि समाधान हुन नसक्दा धेरै पीडा खेप्नु परेको बताउनुभयो । हरेक बर्ष करोडौं रुपैयाँ लगानी भइरहेको छ तर नतिजा बालुवामा पानी जस्तो भइरहेको वडा सदस्य खड्काले भन्नुभयो । क्यामेरा जडान गरेका कारण यस पटकबाट भने स्थानीयहरु अलिक ढुक्क र बिश्वस्त रहेको स्थानीय सीता क्षेत्री बताउनुहुन्छ “बुटवल उपमहानगरपालिका र यूकेको क्याब्रिज युनिभर्सिटीबाट खटिएको एक प्राविधिक टोलीको सहयोगमा ज्योतिनगरमा जडान गरिएका यी क्यामेराहरूले सम्भावित विपद्को अवस्था निगरानी मात्रै गर्दैनन्, आकस्मिक घटना भएमा तुरुन्त सूचना प्रदान गर्छन् । टोलीले जोखिमयुक्त स्थान पहिचान गरेर ती क्यामेराहरु जडान गरेको हो । ती क्यामेरा जडानबाट खिचिएका तस्विरले पहिरोको मापन गर्दै आएको छ ।”

घटना घटिहालेमा कसरी सूचना प्रवाह गर्ने, रेस्क्यू गर्ने तरिका, आगलागी, बाढीपिडित, लगायतका विपदजन्य घटनाका लागि तयारी अवस्थामा विभिन्न समूहबाट विपद समिति गठन गरि अगाडी बढाइएको छ ।

Photo 2025-06-27 Rupendehi (3)

पहिरोको जोखिम कम गर्ने मात्र होइन तिनाउ नदीमा जलसतह उच्च भएमा ‘एलर्ट’ जारी हुन्छ । खतरा सूचक र सूचनाहरू नदी आसपासका बासिन्दाको मोबाइलमा सिधै पठाइन्छ । टेक्नोलोजीको युगमा यस्ता व्यवस्था विपद् न्यूनिकरणमा महत्वपूर्ण कदम सावित भएका छन् । उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेका अनुसार विपद व्यवस्थापनमा तालिम प्राप्त जनशक्ति, आकस्मिक उद्धार टोली, सुरक्षित स्थानहरूको पहिचान र सम्पर्क नम्वर सहितको तयारी अवस्थामा राखिएको बताउनुभयो । “हामी विपत् रोक्न सक्दैनौं, तर सतर्कताका साथ काम गर्यौं भने असर कम गर्न भने सक्दछौं । यही सोचका साथ बिस्तारै स्मार्ट विपद व्यवस्थापनतर्फ अघि बढ्दैछौ ।” नगरप्रमुख पाण्डेले भन्नुभयो ।

Photo 2025-06-27 Rupendehi (4)

वर्षासँगै बुटवलमा विपदको खतरा केवल तिनाउ र दानव खोलाको बाढीमा मात्र सीमित छैन । ज्योतिनगर, लक्ष्मीनगर र पछिल्लो समय फूलबारी, पाखापानी क्षेत्रसमेत पहिरोको चपेटामा रहेका छन् । २०५५ सालमा गएको ठुलो पहिरो, २०७८ को क्षति र प्रत्येक वर्ष बसाई सर्नुपर्ने बाध्यता यी सबैले बुटवललाई ‘उच्च जोखिम क्षेत्र’ को रुपमा चिनाएको छ ।

बुटवल उपमहानपाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख इन्जिनियर योगेश चापागाईँका अनुसार तिनाउ नदीको बाढीको लागि पूर्व सूचना प्रणाली पाल्पाको दोभान क्षेत्रमा स्थापना गरि साइरन जडान गरिएको छ । चापागाई भन्नुहुन्छ—“विपद नियन्त्रणका लागि आवश्यक तयारी गरिएको छ, सातजनाको सूचनाकर्मी टोली पनि तयारी अवस्थामा राखिएको ” यो सूचना केन्द्रले पूर्व चेतावनी दिन सक्ने संयन्त्र, आगलागी नियन्त्रणका लागि २४ सै घण्टा तयारी अवस्थामा दुई दमकल र १४ जनाको जनशक्ति, पहिरो रोकथामका लागि वृक्षारोपण, खोल्सा व्यवस्थापन, र तटबन्ध निर्माण जस्ता उपायहरू चालिएको बताउनुभयो ।

Photo 2025-06-27 Rupendehi (1)

त्यति मात्र होइन पहिरो समस्या समाधानका लागि तट्वन्ध गर्ने गरिएको छ । मूल फुट्ने स्थानमा पाइप विछाएर पानी संकलनका लागि टंकी बनाइएको छ । मिलनपथ, ज्योतिनगर, सुखौरा खोलाहरुमा सरसफाईका साथै चेक ड्याम गर्ने काम सम्पन्न भै सकेको छ । त्यस्तै पहिरो नियन्त्रणका लागि गरा बनाउने काम पनि भएको छ, हरेक वर्ष हलचल गर्ने पहिरो हेर्नका लागि क्यामेरा जडान, अमरपथ डुवान रोक्ने काम भएको बताउनुभयो । त्यस्तै तिनाउ खोलामा कन्य ढुंगा भन्ने स्थान लगायतमा तट्बन्धनको काम भएको, ४ नं वडामा सुखौरा खोला उत्खनन् , २ नं वडाको ठाडाखोला सरसफाई टोलको निगरानीमा आफै गरेको, १३ नं वडामा पानी खोला, भालु खोलामा तटबन्ध र चेकड्याम लगाउने काम सम्पन्न, तिनाउ नदी र दानवमा अव्यवस्थित बसाई रहेको स्थानहरुमा बुटवल उपमहानगरपालिका, जनताको तटबन्ध, सडक डिभिजन कार्यालयबाट समेत कटानलाई रोक्ने काम गरेको चापागाईको बताउनुभयो ।

वर्सेनि सरकारले करोडौं रुपियाँ लगानी गर्ने गरेको भएपनि ज्योतिनगर पहिरो नियन्त्रणमा खासै प्रभावकारी काम हुन नसकेको स्थानीयहरुको भनाइ छ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र स्थानीय समुदायबाट समेत सक्दो लगानी गरी पहिरो नियन्त्रण, रोकथाम र व्यवस्थापनका क्षेत्रमा थुप्रै कामहरु भइरहेका छन् । तर पनि जोखिम न्यूनिकरण भएको महशुश गर्न अझै सकिएको छैन । सबैको लगानी बालुवामा पानी सरह भएको स्थानीयको गुनासो छ । पछिल्लो क्यामेरा प्रविधि र यसको अध्ययन अनुसन्धानको विधिबाट भने अब पहिरो नियन्त्रण वा रोकथाममा केही सकारात्मक नतिजा आउछ कि भन्ने कुरामा भने आशा पलाएको बुटवलवासीको भनाइ रहेको छ ।

Photo 2025-06-27 Rupendehi (5)

लुम्बिनी प्रदेश सरकारले पनि ’मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजना, ०८२’ का आधारमा करिब ५ लाख २३ हजार जनसंख्या प्रभावित हुने अनुमानसहित कार्य योजना निर्माण गरेको छ । पछिल्ला १० वर्षमा मात्र १ हजार ६ सय १८ विपदका घटनाबाट ८ हजार ३ सय १५ परिवार प्रभावित भइसकेका छन् । यसै अवधिमा ४ सय ५९ जनाले ज्यान गुमाएका छन् । प्रदेशस्तरमा प्रभावित क्षेत्रका सुरक्षाकर्मी, स्वयंसेवक परिचालन, राहत तथा पुनःस्थापनाको व्यवस्था, खाद्यान्न तथा स्वास्थ्य सेवा सुनिश्चित गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।

प्रदेश सरकारले समेत विपद् जोखिम न्यूनिकरणको लागि कार्य योजना बनाएको छ। यसले प्रभावित समुदायको जीवनस्तर उकास्न र प्राकृतिक विपद्संग जुध्न थप कदम चाल्ने प्रतिबद्धता देखाएको छ।

अन्य

भिडियो