INSEC Online

📅 २०८३ जेष्ठ २१

सर्केगाड बजार पहिरोको उच्च जोखिममा

सर्केगाड गाउँपालिकाको सर्केगाड बजार पहिरोको उच्च जोखिममा रहेको छ । गाउँपालिका केन्द्रसमेत रहेको बजार क्षेत्र पूरै पहिरोको उच्च जोखिममा रहेको सर्केगाड बजारमा बसोबास गर्दै आउनु भएकी स्थानीय सुना बुढाले बताउनुभयो । वर्षा याममा पानी पर्दा सधैँ ढुङ्गा खस्ने भएका कारण घरमा क्षति पुगेको बताउँदै बुढाले अहिलेसम्म मानवीय क्षति नभए पनि डर त्रासमा बस्नु पर्ने बाध्यता रहेको गुनासो गर्नुभयो ।

Photo 2025-06-27 Humla

पानी परेको दिन रातिको समय सुरक्षित स्थानतर्फ जानु परेको बताउँदै उहाँले कुनै दिन ठुलो क्षति हुने गरी पहिरो आउने त्रास रहेको बताउनुभयो । सर्केगाड गाउँपालिका–५ का पूर्ववडाध्यक्ष कर्णजङ्ग शाहीले गोठी खोला पूर्वपट्टिको बजार पूर्ण रूपमा पहिरोको उच्च जोखिममा रहेको बताउनुभयो । आफू वडाध्यक्ष हुँदा त्यसरी जोखिम भएको स्थानमा बस्ती विस्तार नगर्न आग्रह गरेको तर कसैले सुनुवाइ गरेनन्, आज त्रासको जीवन बिताउन बाध्य भएको उहाँले बताउनुभयो ।

संघीयता अघि सो स्थानमा कुनै घर नभएको अवस्थामा संघीयतापछि सर्केगाड गाउँपालिका केन्द्र नै तोकिएपछि मानिस जग्गा खरिद गरेर घर निर्माण गरेर व्यापार व्यवसाय गरेर बस्न थालेपछि बस्ती विस्तार भएको उहाँले बताउनुभयो ।

पहिरो जाने जोखिम रहेको स्थानमा बोटबिरुवा पनि छैन, भिरोलो जमिनका साथै ढुङ्गा माटो मात्र भएका कारण पहिरोको जोखिम रहेको उहाँले बताउनुभयो । अर्का स्थानीय कविता शाहीले बर्खामा पानी परेको समयमा आफ्नो घरमा नसुतेर खोलापारिको छिमेकीको घरमा गएर बास बस्ने गरेको बताउनुभयो ।

कुनै पनि दिन बाढीपहिरो आउने बढी सम्भावना रहेका कारण भिरालो जमिनमा वृक्षारोपण गर्न आवश्यक रहेको बताउनुभयो । सो विषयमा गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायले उक्त बस्ती उच्च जोखिममा परेकाले मनसुन अवधिभर सर्तक रहन गाउँपालिकाले एक सुचना जारी गरेको बताउनुभयो । उहाँले तत्कालका लागि अन्य केही गर्न नसक्ने प्रतिक्रिया समेत दिनभयो ।

अन्य

भिडियो