अपाङ्गता क्षेत्रको बजेट कटौती गरिएको विरोधमा अपाङ्गता भएका व्यक्तिहरूले कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका छन् ।
आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा चालु आर्थिक वर्षको भन्दा कम बजेट बिनियोजन गरेपछि कोशी प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूले असार ११ गते प्रदेश सरकारविरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।
अपाङ्गता भएका व्यक्तिहरु विरोध र्यालीसहित सामाजिक विकास मन्त्रालय कोशी प्रदेश पुगेर ०८२ असार ११ गते धर्ना दिएका हुन् ।
प्रदेश सरकारद्वारा सञ्चालनमा रहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको बजेट कटौती गरिएको विरोधमा अपाङ्गता भएका व्यक्तिहरुले सामाजिक विकास मन्त्रालय अगाडि विरोध प्रर्दशन गरेका हुन् ।
सरकारले बजेट कटौती गरेपछि उनीहरु विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् । अघिल्ला वर्षहरुमा दिएको बजेटमा अपुग भएथप गर्नुपर्नेमा उल्टै काटिदिएको गुनासो अपाङ्गता भएका व्यक्तिहरुको छ ।
सामाजिक विकास मन्त्रालयले बनाएको कार्यविधि अनुसार चैत महिनामै सम्बन्धित स्थानीय तहले प्रस्ताव गरेको बराबरको बजेट प्रदेश सरकारले पनि राख्नु पर्ने उनीहरूको माग छ ।
स्थानीय तह र प्रदेशको ५०-५० प्रतिशत लागत साझेदारीमा कार्यक्रमहरु हुँदै आएको थियो । आगामी आर्थिक वर्षका लागि यो कार्यक्रमको बजेट प्रदेश सरकारले कटौती गरेपछि कार्यक्रम नै प्रभावित हुने अवस्था आएको राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका अध्यक्ष नविनचन्द्र ढुंगेलले बताउनु भएको छ ।
