१५ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरेको भन्दै बाँके जिल्ला खजुरा गाउँपालिका–४ का २३ वर्षीय रहिस खाँलाई जिल्ला अदालत गुल्मीले २०८२ असार ४ गते जिवित रहेसम्म जन्मकैद र ५ लाख रुपियाँ जरिबानाको फैसला गरेको छ । खाँ ले गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा २०८० कात्तिक १६ गते बालिकालाई बलात्कारपछि हत्या गरेर खोलामा फालेका थिए ।
घटनामा संलग्न खाँलाई जिल्ला अदालत गुल्मीका न्यायाधीश युवराज गौतमको इजलासले बलात्कार तर्फ १४ बर्ष कैद र ५ लाख रुपियाँ जरिबानाको फैसला सुनाएको छ । मुलुकी अपराध संहिंता २०७४ को दफा २१९ उपदफा (३) बमोजिम कैद र दफा ३ (क) र (ख) बमोजिम ५ लाख रुपियाँ जरिबानाको फैसला भएको जिल्ला अदालत गुल्मीका अधिकृत तथा सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभयो ।
त्यस्तै हत्यातर्फ जिवित रहेसम्म जन्मकैद र ३ लाख रुपियाँ क्षतिपूर्ति पाउने फैसला भएको छ । मुलुकी अपराध संहिंता २०७४ को दफा १७७ उपदाफा (१) बमोजिम जन्मकैदको फैसला भएको पन्थीले बताउनुभयो । मुलुकी अपराध संहिताको नयाँ व्यावस्था बमोजिम जन्दकैद दुई खण्डमा विभाजन गरिएको छ । मुलुकी अपराध संहिंता २०७४ को दफा ४१ अनुसार बलात्कार गरेर कर्तव्य ज्यान गरेको हकमा कसुरदार जिवित रहेसम्म जन्मकैद हुने व्यवस्था गरिएको अदालतका श्रेष्तेदार सुदर्सन खनालले जानकारी दिनुभयो ।
संहिताको दफा २२८ र १८६ बमोजिम ३ लाख रुपियाँ क्षतिपूर्ति पाउने ठहर भएको छ । २०८० कात्तिक १७ गते बालिका शान्तिपुर घर नजिकैको हुँग्दीखोलामा नग्न र डुबेको अवस्थामा फेला परेकी थिइन् । खोलामा बालिकाको शव फेला परेदेखि स्थानीयले बलात्कारपछि हत्याको आशंका गर्दै विरोध प्रर्दशन समेत गरेका थिए । प्रहरीले खाँलाई कात्तिक १७ गतेनै गिरफ्तार गरेको थियो । बालिकाको आफन्तले खाँ विरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा २०८० कात्तिक १८ गते उजुरी दिएका थिए । शवको पोष्टमार्टम जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा २०८० कात्तिक १९ गते गरिएको थियो ।