जिल्ला कारागार, कैलालीमा कैद भुक्तानका लागि राखिएका डडेल्धुरा जिल्ला भोगेश्वर गाउँपालिका—५ का २८ वर्षीय हरीश पालीको ०८२ असार २ गते राति उपचारको क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा मृत्यु भएको छ ।
मृतक पालिको शरीरभरी निलडाम र टाउँकोमा समेत चोटपटक देखिएकोले कुटपिट गरी हत्या गरिएको मृतकका दाजु जिवन क्षेत्रीको आरोप छ ।
उहाँले भन्नुभयो—घरबाट सकुशल गिरफ्तार गरी ल्याएको हो । घरबाट ल्याएको दुई दिनमै कसरी मृत्यु भयो ? शरीरभरी निलडाम छ । टाउँकोबाट रगत बगेको छ । स्वास्थ्य समस्याले मेरो भाइको मृत्यु भएको हैन् । कुटपिट गरेर हत्या गरेको हामीलाई आशंका छ । घटनाको सत्यतथ्य छानबिन गरिनु पर्छ । हामीले न्याय नपाएसम्म शव उठाउने पक्षमा छैनौँ ।
घटनाको सत्यतथ्य अनुसन्धान गर्न र न्याय तथा क्षतिपुर्तीको मागराखि आफूहरु उजुरी दिने तयारी गरिहेको समेत मृतकका बुवा भोज पालीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
जिल्ला कारागार, कैलाली भित्र बेहोस अवस्थामा भेटिएका पालीको सेती प्रदेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा आसार २ गते राति मृत्यृुभएको जिल्ला कारागार, कैलालीका जेलर बसन्तबहादुर खत्रीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।
आदालतको पुर्जी सहित असार १ गते कैद भुक्तानका लागि ल्याइएका पालीले राति खाना खान नमानेर रक्सी चाहियो भन्दै टाउँको, हातखुट्टा भित्तामा ठोक्दा बेहोस हुनुभएको र उपचारका क्रममा मृत्युभएको जेलर खत्रीको भनाइ छ ।
जिल्ला अदालत, कैलालीले लेनदेन मुद्दामा कसूर ठहर गरी १० दिन कैद र २ लाख रुपियाँ जरिवाना तिराउने फैसला सुनाएको र जिल्ला अदालतको आदेश अनुसार फरार कसूरदार पालीलाई गिरफ्तार गरी सकुसल जिल्ला अदालत, कैलालीमा उपस्थित गराइ असार १ गते जिल्ला कारागार, कैलालीमा पठाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी राजकुमार सिंहले बताउनु भयो ।
घटनाका सम्बन्धमा पीडित पक्षबाट हालसम्म उजुरी नआएको र उजुरी आएको अवस्थामा घटनाको थप अनुसन्धान गरिने डिएसपी सिंहले बताउनु भयो ।
लेनदेन मुद्दामा जिल्ला अदातल, कैलालीले ०८० फागुन २९ गते कसूर ठहर गरी पालीलाई १० दिन कैद र २ लाख रुपियाँ जरिवानाको फैसला गरेको थियो । फरार कसूरदार पालीलाई जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले ०८२ जेठ ३० गते घरबाट गिरफ्तार गरेर जिल्ला अदालतमा उपस्थित गराई असार १ गते अदालतको पुर्जीसहित जिल्ला कारागार, कैलालीलाई बुझाएको थियो ।
घटनाको सत्यतथ्य पत्ता नलागेसम्म र आफूहरुले न्याय नपाएसम्म शव नउठाउने पीडित पक्षको अडानका कारण तीन दिनदेखी शवको पोष्टमार्टम हुन सकेको छैन् । शव सेती प्रादेशिक अस्पताल, धनगढीको शवगृहमा राखिएको छ ।
