हुम्लाको सदरमुकाम सिमकोटमा दुई सातादेखि खानेपानीको समस्या भएको छ। सदरमुकाम सिमकोट नजिकैको हुमाने खोलाबाट ल्याइएको पानी अभाव हुन थालेपछि स्थानीय बासिन्दा समस्या खानेपानीको समस्या भोग्न बाध्य भएका छन्।
सदरमुकाम सिमकोटका ५ सय २६ घरपरिवारले उक्त खोलाबाट ल्याइएको पानी उपभोग गर्दै आइरहेका थिए । खानेपानीको मुख्य मुहानमै पानी कम भएपछि उनीहरुले बिहान बेलुका पालो अनुसार कम मात्रामा पानी पानी पाएपनि पर्याप्त नभएको स्थानीयहरू बताउँछन्। अस्पताल जस्ता अत्यावश्यक ठाउँहरूमा पनि पानीको अभाव देखिएको छ। अस्पतालमा समेत पानीको समस्या रहेको अस्पतालका सिनियर अनमी सरीता बोहराले बताइन् ।
सिमकोटको रिजर्भ ट्यांकीहरू अहिले खाली रहेका छन्। खानेपानी उपभोक्ता समितिले विगतदेखि नै सदरमुकामवासीलाई विहान र बेलुकाको समयमा पानी वितरण गर्दै आएको छ । सदरमुकाम सिमकोट तल्लो बजारमा रहेको महिला फिडर छात्रबासमा दुई महिनादेखि खानेपानी नआएको छात्रावासका वार्डेन कमला लामाले बताइन्।
गाउँपालिका र खानेपानी उपभोक्ता समितिले पानीको समस्या समाधानको लागि प्रयास गरिरहेका भए पनि मुख्य स्रोतको अभावका कारण समस्या कायमै रहेको छ।

हुमाने खोलामा पानी सुक्दै गएका कारण सदरमुकामबासीलाई खानेपानीको समस्या हुन पुगेको खानेपानी उपभोक्ता समिति सिमकोटका लेखा अधिकृत याङजुम लामाले बताउनु भयो । त्यही पानी पनि सिमकोटमा रहेका रिजर्भ ट्यांकी भरिन नसक्दा यहाँका सर्वसाधारणलाई पालो अनुसार खानेपानीका धारामा वितरण गर्नु परेको उहाँको भनाइ छ ।
खोलामा पानी जमिन मुनी छिर्दै जानुका साथै खोला सुक्दै गएपछि सिमकोट गाउँपालिकाले पानी जमिन मुनी पानी छिर्न नदिनका लागि ग्रिन हाउसको प्लाष्टिक पाल दिएको लेखा अधिकृत लामाले बताउनु भयो । उक्त पाल खोला र पाइप भएको ठाउँमा बिछ्याउने काय भइरहेको छ ।
स्थानीय बासिन्दाहरूले खानेपानीको समस्या समाधानका लागि सम्बन्धित निकायसँग आग्रह गर्दै दीर्घकालीन समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।
