कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण बढ्दो पाइएको छ । डेङ्गीको सङ्क्रमण बढेसँगै चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् ।
कोशी प्रदेशमा ०८१ पुस १६ गतेदेखि ०८२ जेठ २५ गतेसम्मको अवधिमा २ सय ७४ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा सबैभन्दा बढी सुनसरीमा ८७ जना र झापामा ७४ जना डेङ्गीका बिरामी फेला परेका छन् ।

डेङ्गी एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस् नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल सङ्क्रमण हो । यो भाइरस डेन-१, डेन-२, डेन-३ र डेन-४ गरी चार प्रकारका हुन्छन् । नेपालले आधिकारिक रूपमा २०६३ मङ्सिरमा डेंङ्गी देखिएको पुष्टि गरेको छ ।
एडिज लामखट्टे कालो रङको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । डेङ्गी सङ्क्रमणले गर्दा शरीरको रगत जम्ने प्रक्रिया अव्यवस्थित हुन्छ । यो अवस्था रगतमा धेरैजसो प्लेटेलेटस् नष्ट हुनाले हुन्छ । यसको घातक रूप हुँदा सम्पूर्ण शरीरमा रक्तश्राव हुन थाल्छ ।
भाइरस शरीरमा प्रवेश गरेर प्लेटेलेटस्मा आक्रमण गर्छ । प्लेटेलेटस्ले शरीरमा रक्तश्राव रोक्नमा महत्वपूर्ण भूमिका खेल्छ । डेङ्गी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो ।
यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने गर्दछ । डेङ्गी सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । यसको सङ्क्रमणबाट बच्न घरवरीपरि सफा राख्न, पानी जम्न नदिन चिकित्सकले सल्लाह दिएका छन् ।
चिकित्सकहरुले डेङ्गीबाट बच्न पानी जम्मा गरी राखिएका ट्याङ्की, ड्रम, गाग्री तथा बाल्टिन आदिलाई लामखुट्टे छिर्न नपाउने गरी राम्रोसँग छोपेर राख्न, आफ्नो घरवरपर, कार्यस्थल र सार्वजनिक स्थानहरूमा फालिएका काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, टिनका बट्टा, प्लास्टिकजन्य वस्तुहरू तथा पानी जम्न सक्ने अन्य भाँडा तथा सामग्रीहरूलाई पानी नजम्ने गरी व्यवस्थापन गर्न, छाना तथा अन्य स्थानमा फालिएका सवारी साधनका टायरहरूलाई पानी जम्न नपाउने गरी छोपेर राख्ने तथा आकासे पानीको पहुँचबाट टाढा राख्न, घरबाहिर वा भित्र राखिएका फूलका गमला तथा गमला वा गमलामुनिका प्लेटहरूमा जमेको पानी कम्तीमा हप्ताको एक पटक फालेर गमला तथा प्लेटलाई राम्रोसँग सफा गर्न, बिहान, दिउँसो वा राति जुनसुकै बेला सुत्दा पनि झुलको प्रयोग गर्न, घरभित्र लामखुट्टे छिर्न नदिन सम्भव भएसम्म झ्याल तथा ढोकाहरूमा सानो प्वाल भएको जाली प्रयोग गर्न र पूरा शरीर ढाक्ने तथा लामो बाहुला भएका लुगा लगाउनेजस्ता कार्य गर्न सुझाव दिएका छन् ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार हिमाली जिल्लासमेत डेङ्गीका सङ्क्रमित फेला परेपछि जिल्लामा उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । जिल्लामा ०८१ पुस १६ गतेदेखि ०८२ जेठ २५ गतेसम्मको अवधिमा दुई जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । हिमाली जिल्लासमेत डेङ्गीका बिरामी फेला परेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । जिल्लाका स्थानीय सरकारले लार्भा खोज र नष्ट अभियान सञ्चालन गरेका छन् ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसारमा जिल्लामा डेङ्गीका बिरामी फेला परेसँगै उच्च सर्तकता अपनाइएको छ । जिल्लामा लामखुट्टे नष्ट अभियान सञ्चालन गरिएको छ । जिल्लामा जेठ २५ गतेसम्ममा २६ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । ०८२ जेठ १६ गतेदेखि कोशी प्रदेशमा मनुसन भित्रिएसँगै जिल्लामा वर्षा बढी भएकाले डेङ्गीको सङ्क्रमण फैलने भएकाले सचेतना अपनाउन चिकित्सकले आग्रह गरेका छन् । खाँदवारी नगरपालिकाले डेङ्गी नियन्त्रण र सचेतनाका लागि अभियान सञ्चालन गरेको छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार हिमाली जिल्लामा समेत डेङ्गीका बिरामी फेला परेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् । हाल जिल्लामा एक जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा डेङ्गी किटको अभाव हुने भएकाले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रसँग किट माग गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा डेङ्गीका बिरामी फेला परेपछि उच्च सर्तकता अपनाइएको छ । हाल जिल्लामा १७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । मनसुनसँगै पानी बढी पर्ने भएकाले डेङ्गीको जोखिम उच्च हुने भएकाले स्थानीय सरकारले लामखुट्टे नष्ट अभियान थालेका छन् । मानिसबाट मानिसमा नसर्ने यो रोग लामखुट्टेले हाँस, घोडा, सुँगुर, बहुर जस्ता पशुपन्क्षीलाई टोके पश्चात् मान्छेलाई टोक्दा लाग्ने गर्दछ । क्युलेक्स जातको लामखुट्टे विशेष गरेर हिलो भएको ठाउँ र खेतबारीमा बढी हुने गरेको जनाइएको छ । जिल्ला अस्पताल रूम्जाटार र ओखलढुङ्गा सामुदायिक अस्पताल र रानीवन स्वास्थ्य केन्द्रमा डेङ्गीको परीक्षण हुदै आएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा चार जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएपछि लामखुट्टे र लार्भा नष्ट अभियान थालिएको छ । पानी परेसँगै जिल्लामा डेङ्गीको जोखिम भएकाले उच्च सर्तकताका साथ लामखुट्टे नष्ट अभियान थालिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिने भन्दै सर्तकता अपनाइएको छ । ०८१ पुस १६ गतेदेखि ०८२ जेठ २५ गतेसम्मको अवधिमा जिल्लामा ११ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । मनसुन सुरूआत भएसँगै पानी परेपछि डेङ्गी फैलिने सम्भावन उच्च हुने भएकाले स्थानीय सरकारलाई लामखुट्टे नष्ट अभियान चलाउन आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा ०८२ जेठ १६ गतेदेखिको मनसुनका कारण अत्यधिक वर्षासँगै लामखुट्टे बढेपछि लामखुट्टे नष्ट अभियान थालिएको छ । जिल्लामा अहिले चार जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । पानीपछि लामखुट्टेको प्रकोप बढ्ने भएकाले डेङ्गी किटको व्यवस्थापनका लागि प्रदेश स्वास्थ्य आपूर्तिसँग माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा ०८१ पुसयता चार जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा छ ओटा स्थानीय तहमध्ये फेदाप गाउँपालिकामा मात्र डेङ्गी देखा परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । महामारीको अवस्था नआए पनि जिल्लामा डेङ्गी परीक्षण किटको समस्या छ । प्रदेश स्वास्थ्य निर्देशनालयसँग १ सय थान किट माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार जिल्लामा डेङ्गीको सङ्क्रमण बढेसँगै चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । जिल्लामा ०८१ पुस १६ गतेयता ०८२ जेठ २५ गतेसम्ममा ११ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । मनसुनको समयमा डेङ्गीको उच्च जोखिम हुने भएकाले लामखुट्टे र लार्भा नष्ट अभियान जिल्लामा थालिएको छ ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा डेङ्गीको त्रास भने कायमै रहेको पाइएको छ । अहिले पनि अस्पताल आएकाहरुमा डेङ्गी संक्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । अस्पतालको तथ्याकं अनुसार गएको ०८१ पुसयता एक जनामा डेङ्गीको संक्रमण देखिएको छ । जिल्लामा डेङ्गु नियन्त्रणको खास कार्यक्रम नभएपनि स्थानीय तहमा भने खोज र नष्ट गर अभियान सञ्चालन गरिएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा डेङ्गीको सङ्क्रमण उच्च गतिमा फैलिएको छ । ०८१ पुसयता ०८२ जेठ २५ गतेसम्मको अवधिमा ७४ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कोशी प्रदेशमा सुनसरीपछि सबैभन्दा बढी डेङ्गीका सङ्क्रमिता झापामा देखिएपछि स्थानीय तहले लामखुट्टे खोज र नष्ट अभियान सुरूआत गरेका छन् ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा डेङ्गीको सङ्क्रमण बढेसँगै लामखुट्टे खोज र नष्ट अभियान थालिएको छ । हाल जिल्लामा २८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । डेङ्गीबाट बच्नका लागि जनचेतना सबैभन्दा आवश्यक भएको चिकित्सकहरूले सुझाव दिएका छन् ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी डेङ्गीका बिरामी सुनसरीमा फेला परेका छन् । ०८१ पुसयता ०८२ जेठ २५ गतेसम्मको अवधिमा जिल्लामा ८७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । इपीडीमीयोजोजी तथा नियन्त्रण महाशाखाका अनुसार सुनसरी देशभरमै उच्च डेङ्गी सङ्क्रमित भएका १० जिल्लामा भित्र परेको छ । जिल्लामा डेङ्गीको सङ्क्रमण उच्च भएपछि स्थानीय सरकारले लाखखुट्टे खोज र नष्ट अभियान थालेका छन् ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा चार जनामा डेङ्गीको सङ्क्रमण फेला परेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन् । वर्षापछि डेङ्गीको जोखिम बढ्ने भएकाले लामखुट्टे खोज र लार्भा नष्ट अभियान सञ्चालन गर्न स्थानीय तहलाई आग्रह गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।