INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रेम र मानवता कहिल्यै मर्दैन

जीवनका अनेक कथा र संघर्षहरू हाम्रो समाजको अनिवार्य हिस्सा हुन्। ती कथा कहिले प्रेम, त कहिले वेदना, त कहिले संघर्षका यादहरू दिन्छन् । कमल नगाल र ममता बीचको प्रेम र पीडा, जसले प्रेम र युद्धको बीच एक अनमोल स्मृति छोडेर गएका छन्।

२०६१ सालको जेठ १९ गते दाङको भालुवाङबाट एउटा प्रेमीले आफ्नी प्रेमिकालाई अन्तिम पत्र लेखेका थिए। ती शब्दहरू मात्र होइन, त्यो प्रेमको अन्तिम वाणी थियो। २३ वर्षीय कमल नगाल जो सशस्त्र प्रहरी बल त्रिपुरा गण दाङमा कार्यरत थिए । माअवादीले दाङको धानखोलामा थापेको विद्धुतीय धरापमा परी ०६१ असार ५ गते कमलको मृत्यु भएको थियो। घटना हुनु भन्दा अघी नै पठाइएको चिठी घटना भइसकेपछि पाउँदा पीडामाथि थप पीडाबोध भयो ममतालाई ।

तर, त्यो प्रेमको अन्तिम पत्र नै उनको जीवन जिउने आधार बन्यो। कमलले आफ्नी पत्नीलाई पत्र लेखेका थिए, “म यहाँ आरामै छु, तिमी र छोरा पनि आरामै छौं भन्ने आशामा छु। देशको अवस्था र बाध्यता नै मेरो बाध्यताको कारण हो। म तिमी र छोरालाई धेरै माया गर्छु र आशा गर्छु कि एक दिन हामी फेरि मिल्नेछौं।” ती शब्दहरू प्रेम र पीडाका मिश्रण थिए।

कमलको मृत्युपछि, ममताको जीवनमा नयाँ संघर्ष सुरु भयो। उनी एक्लै भएर पनि हिम्मत र साहसले सामाजिक क्षेत्रमा सक्रिय भइन्। उनी महिलाको अधिकार, द्वन्द्वपीडित र पीडित परिवारहरूको आवाज उठाउन थालिन्। आज उनी मानव अधिकारका लागि महिला एकल महिला सुर्खेतको अध्यक्ष, द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जाल सुर्खेतकी संयोजक छिन्।

उनीले आफ्नो जीवनका अनेक संघर्ष र वेदनालाई समाजसेवाको माध्यम बनाइन्।  उनी भन्छिन्- विपत्तिले जित्न सक्दैन, प्रेम र साहसले जित्दो रहेछ।

उनी भन्छिन्- सत्य निरुपण तथा मेलमिलाप आयोगबाट न न्याय पाएँ न त सरकारले वाचा गरेजस्तो राहत र पुनस्थापनाका कार्यक्रमहरु भए । राज्यले हामीलाई कागजमा मात्र चिनेको छ । मैले राज्यबाट जवाफ पनि पाएको छैन ।

अहिले उनको नेतृत्वमा कर्णालीको पहिलो सुर्खेत पिस ग्यालरी तथा स्मारिका निर्माण गरिएको छ। जहाँ द्वन्द्वका समयमा भएका घटनाहरु र त्यससँग सम्बन्धित तस्वीर रहेका छन्। ग्यालरीमा १ सय ७ ओटा फोटो, समाचार,  अनुभव र दस्तावेजहरु छन् । उनी भन्छिन्, “हामीले हाम्रो पीडाको इतिहासलाई ताजा बनाएका छौं। यसले नयाँ पुस्तालाई सिकाउँछ — प्रेम र संघर्षको कथा।

कमलले पठाएको अन्तिम चिठीले आज पनि ममतालाई पीडाको त्यो क्षण सम्झाउँछ। त्यो चिठी प्रेमको प्रतीक मात्र होइन, युद्ध र पीडाको पनि। उनी भन्छिन्, “त्यो चिठीले मेरो हृदयलाई छोएको छ। त्यो प्रेमको स्वर आज पनि मेरो कानमा गुञ्जन्छ।”

युद्धले माया लुटेको, तर प्रेम र साहसले जीवनलाई जोगाउँछ । कमल र ममता जस्ता अनेकौं पीडितहरूको जीवनकालको पीडाले हामीलाई सिकाउन चाहन्छ — प्रेम र मानवता कहिल्यै मर्दैन।

अन्य

भिडियो