INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक र अपाङ्गताभएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण

व्याँस गाउँपालिकाका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय, दार्चुलाको टोली घरमै पुगेर नागरिकता तथा राष्ट्रिय परिचय–पत्र वितरण गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीको टोलीले अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई नागरिकता तथा राष्ट्रिय परिचय–पत्र वितरण गर्नुभएको हो ।

जनतालाई घरदैलो नजिकबाट सेवा पु¥याउने उद्देश्यअनुरुप घरमै पुगेर नागरिता वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिह धामीले जानकारी दिनु भयो । सो अवसरमा व्याँस गाउँपालिका–६ का ९७ वर्षीया लालुदेवी भट्टलाई नागरिकता वितरण गरिएको छ ।

photo20250603darchula (2)

घरबाट बाहिर आउनै नसक्ने अवस्थामा रहेका भट्टलाई घरमै पुगेर नागरिकता उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनु भयो । बुढेसकालमा नागरिकता पाएपछि भट्ट खुसी देखिनु भयो । नागरिकता नहुँदा सामाजिक सुरक्षाभत्ताबाट समेत बञ्चित हुँदै आएका भट्टले नागरिकता पाएपछि सामाजिक सुरक्षा भत्ता समेत पाउने भएका छन् ।

जिल्ला प्रशासनको टोलीले व्याँस गाउँपालिका वडा नम्बर ३, ४, ५ र ६ का कुल १ सय ६१ जनालाई नागरिकता र २ सय ५ जनालाई राष्ट्रिय परिचय–पत्र वितरण गरेको छ ।

नागरिकता पाउनेमा १ सय ३८ जना ज्येष्ठ नागरिक, दुई जना अपाङ्गता भएका व्यक्ति र राष्ट्रिय परिचय पत्र वितरण अन्तर्गत १ सय ९७ जना ज्येष्ठ नागरिक र पाँच जना अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

photo20250603darchula (1)

व्याँस गाउँपालिकाको आग्रहमा गाउँघरमै पुगेर नागरिकता र राष्ट्रिय परिचय–पत्र वितरण गरिएको व्याँस गाउँपालिका प्रवक्ता उपेन्द्रसिह धामीले बताउनु भयो । सदरमुकाम खलंगासम्म आउजाउ गर्न नसक्ने व्यक्तिलाई गाउँमै नागरिकता र राष्ट्रिय परिचय–पत्र वितरण गरिएको उहाँले बताउनु भयो ।

व्याँस गाउँपालिकाबाट सदरमुकाम खलंगा आउजाउ गर्न मात्रै एकतर्फी गाडीभाडा मात्रै १ हजार रुपियाँ लाग्छ । खलंगा जान कम्तीमा ४ हजार रुपियाँ खर्च गराउनु भन्दा पालिकाले समन्वय गरेर गाउँमै नागरिकता उपलब्ध गराउने व्यवस्थापन गरिएको प्रवक्ता धामीको भनाइ छ ।

अन्य

भिडियो