अमेरिकी सरकारको सहयोगमा नेपाल सरकार र विश्व खाद्य कार्यक्रम मार्फत जिल्लाका सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको विद्यालय दिवा खाजा कार्यक्रम एकाएक स्थगित गरिएपछि बालबालिका र कृषकहरुमा नकारात्मक प्रभाव परेको छ ।
जिल्लाका ४ सय ९९ सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत ५१ हजार भन्दा बढी विद्यार्थीलाई नियमित रूपमा पोषणयुक्त दिवा खाजा वितरण हुँदै आएको थियो । कार्यक्रम स्थगन भएसँगै बालबालिकाको पोषण, स्वास्थ्य र सिकाइ क्षमतामा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
मध्यान्ह्को समयमा विद्यालयमा खाजा खाएर पढ्ने बालबालिका अब भोकै बस्नु पर्ने अवस्था आएको थलारा गाउँपालिकास्थित त्रिभुवन आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जगदीस रोकायाले बताउनु भयो । यो कार्यक्रम आर्थिक अवस्था कमजोर भएका हजारौँ परिवारका लागि ठूलो राहत बनिरहेको उहाँको भनाइ छ । ‘दिवा खाजाले पोषण मात्र होइन, हाम्रो सन्तानको पढाइमा रुचि र विद्यार्थीको दर पनि बढेको उहाँले बताउनु भयो ।
स्थानीय उत्पादनमा आधारित यो कार्यक्रमले कृषकलाई स्थायी बजार सुनिश्चित गर्दै आएको थियो । सहकारीमार्फत दैनिक तरकारी र दाल विद्यालयमा आपूर्ति गरिन्थ्यो भने त्यसको भुक्तानी सिधै किसानको बैंक खातामा हुने व्यवस्था गरिएको थियो । थलारा गाउँपालिका–४ की ६० वर्षीया कृषक चन्द्रादेवी बोहराले भन्नुभयो ‘मासिक १२ हजारसम्म आम्दानी हुन्थ्यो, अब उत्पादन भएको बस्तु कसलाई बेच्ने भन्ने चिन्ता छ । यो कार्यक्रम हामीजस्ता किसानको मेरुदण्ड थियो ।’
कार्यक्रमले किसानको क्षमता अभिवृद्धि, र साना किसानलाई वित्तीय पहुँचको अवसर प्रदान र बजारको अनिश्चितता कम गर्दै स्थिर मूल्यमार्फत किसानको जोखिम घटाइएको थियो । हाल कार्यक्रमलाई ‘क्यास ट्रान्सफर मोडेल’ मा लैजाने निर्णय भइसकेको छ । यसअनुसार विद्यालयलाई सिधा रकम प्रदान गरिने भनिए पनि मर्सिकोर जस्ता कार्यान्वयन संस्थाहरूको भूमिका नहुनाले स्थानीय तहहरू अन्योल हुने देखिन्छ । बहुउद्देश्यीय विकास समाज, बझाङका परियोजना संयोजक शिवराज उपाध्यायले भन्नुभयो, ‘कार्यक्रम क्यास मोडेलमा गइसके पनि पालिकाले पहिलेकै तरिका अनुसार स्थानीय उत्पादन र किसानलाई प्राथमिकतामा राखेर अघि बढ्दा कार्यक्रम झन प्रभावकारी हुने छ । तर, यसमा स्थानीय सरकारले ध्यान दिन जरुरी छ ।’
विद्यालयमा भान्सा निर्माण सुरु भइसकेको, सहकारीहरूले स्थानीय दाल खरिद गर्न थालेको र कृषकले त्यस अनुसार खेतीको योजना बनाइसकेको अवस्थामा कार्यक्रम स्थगन हुनु दुर्भाग्यपूर्ण भएको नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य रमेश केसीले बताउनु भयो । सरकारको नीति अनुसार सञ्चालन हुँदै आएको यो कार्यक्रमलाई निरन्तरता दिन अब स्थानीय तहको भूमिका निर्णायक हुने उहाँको भनाइ छ ।
यो कार्यक्रम खाजा कार्यक्रम मात्र नभएर शिक्षा, पोषण, कृर्षि र स्थानीय अर्थतन्त्रलाई एकसाथ जोड्ने बलियो श्रृंखला भएकाले यसलाई स्थानीय सरकारले ध्यान दिनु पर्ने नेपाल पत्रकार महासंघ, बझाङका अध्यक्ष डिवी विष्टले बताउनु भयो ।
अभिभावक, किसान, शिक्षक र संघसंस्थाहरूले दिवा खाजा कार्यक्रम पुनः सुचारु गर्न पहल तथा माग गर्दै आएका छन् ।