INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रहरीले निहत्था नागरिकमाथि गोली प्रहार गरेको आरोप

लागु औषध कारोबारको आरोपमा प्रहरीले निहत्था नागरिकमाथि गोली प्रहार गरेको पीडित पक्षले आरोप लगाएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का ५५ वर्षीय रामप्रसाद लिम्बूलाई लागु औषध कारोबारको आरोपमा प्रहरीले ०८२ जेठ १० गते गोली प्रहार गरेको थियो ।

गोली प्रहारबाट तीघ्रामा चोट लागेर घाइते भएका लिम्बूको सोही दिनदेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा उपचार भइरहेको छ ।

काठको मिस्त्री काम गर्ने र ज्याला मजदूरी गरेर गरिखाने रामप्रसाद लिम्बूमाथि प्रहरीले गोली प्रहार गरेर निहत्था नागरिकमाथि अपराधसँगै मानव अधिकारको उल्लङ्घन गरेको बराहक्षेत्र नगरपालिका-३ का वडा सदस्य ध्वजवीर लिम्बूले बताउनु भयो ।

बराहक्षेत्र नगरपालिका-३ स्थित कालिन्द्र सामुदायिक वनमा लागुऔषध तस्करी भइरहेको सूचनाका आधारमा जेठ १० गते इलाका प्रहरी कार्यालय, महेन्द्रनगर चक्रघट्टीबाट खटिएको प्रहरी टोलीले तस्करहरूलाई नियन्त्रणमा लिने क्रममा भुलवस निहत्था नागरिकमाथि गोली प्रहार भएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका एसएसपी भीमबहादुर दाहालले बताउनु भयो ।

वन क्षेत्रमा चारपाँच जना शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा प्रहरीले एम्बुसिङ गर्ने क्रममा भएको गोली प्रहारबाट निहत्था रामप्रसाद लिम्बू घाइते भएको वडा सदस्य ध्वजवीर लिम्बूको भनाइ छ ।

प्रहरीले सुरुआतमा रामप्रसादले प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेको र सो क्रममा प्रहरीले आत्मरक्षाका लागि फायर खोल्दा रामप्रसाद लिम्बू घाइते भएको बताएपनि घटनाको वास्तविकता अर्कै भएको वडा सदस्य ध्वजवीर लिम्बूको भनाइ छ ।

निहत्था नागरिकमाथि गोली प्रहार भएको विषय सार्वजनिक भएपछि प्रहरी विवादमा तानिएको छ ।

प्रहरीको गोली प्रहारबाट घाइते भएका रामप्रसाद लिम्बूका छिमेकी सन्तोष ओख्राबुले प्रहरीले काम देखाउने हतारोमा सर्वसाधारणमाथि गोली प्रहार गरेको आरोप लगाउनु भएको छ ।

अन्य

भिडियो