मानव अधिकारकर्मीहरूले गोरखा फुजेल-७ का कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गरी पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।

६९ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते काठमाडौँको वीर अस्पतालको मुलगेटमा अधिकारीका आमा गङ्गामाया अधिकारीको विशेष सहभागितामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव अधिकारकर्मीहरूले पीडित परिवारलाई न्याय दिनमा सरकारले चासो नदिएको आरोप समेत लगाए ।
नेपाल मानव अधिकार सङ्गठनको आयोजनामा भएको सो कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेल, द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष सुमन अधिकारी, एमनेष्टीका सभापति राजन कुइकेल, मानव अधिकार सङ्गठनका अध्यक्ष ईन्द्रप्रसाद अर्याललगायतले अधिकारी परिवारलाई न्याय दिन माग गरेका छन् ।
मानव अधिकारको संरक्षण, सम्बर्द्धन गर्दै द्वन्द्व पीडितका परिवारलाई न्याय दिनमा सरकारले हेल्चेक्रयाई गरिरहेको आरोप उनीहरूले लगाएका छन् । द्वन्द्वपीडित परिवार न्यायका लागि अझै पनि माग गरिरहेको भए पनि उनीहरूलाई न्याय दिनमा सरकारले चासो नलिएको प्रति वक्ताहरूले दुःख व्यक्त गरेका छन् ।
सरकारले न्याय दिन नसकेकोप्रति व्यङ्ग्य गर्दै सहभागीहरूले दिउँसै लालटिन बालेर सरकारसँग न्यायका लागि अपिल गरेका छन् । कार्यक्रममा गङ्गामाया अधिकारीको समेत उपस्थिति रहेको थियो ।
गोरखा फुजेलका १७ वर्षीय कृष्णप्रसाद अधिकारीलाई २०६१ साल जेठ २४ गते तत्कालीन नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र)का कार्यकर्ताहरूले चितवनको बकुल्लहर चोकमा निर्ममतापूर्वक हत्या गरेको आरोप छ ।
घटनालगत्तै उनका बावु ५६ वर्षीय नन्दप्रसाद अधिकारी र आमा ५५ वर्षीया गङ्गामाया अधिकारी छोराको हत्याराको कारबाही एवम् न्यायको माग गर्दै सङ्घर्ष गर्दै आएका छन् । ३ सय ३३ दिन लामो अनसनकै क्रममा बुवा नन्दप्रसाद अधिकारीको २०७१ साल असोज ६ गते मृत्यु भइसकेको छ ।
फोटोः विमलचन्द्र शर्मा/ इन्सेक