कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिम्सिनालाई ०८२ जेठ ११ गते कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिकामा कार्यरत नगरप्रहरी इन्स्पेक्टर लक्ष्मणसिंह धामी, नगरप्रहरी हवल्दार मणीदत्त भट्ट, नगरप्रहरी जवान जितेन्द्रसिंह धामी र गाडी चालक रतनबहादुर मल्ललाई जेठ १२ गते गिरफ्तार गरेको छ ।
कैलाली भन्सार कार्यलय परिसर भित्रै प्रवेश गरेर जेठ ११ गते राति नगरप्रहरी इन्चार्ज धामी सहितको टोलीले कुटपिट गरेको भन्दै भन्सार प्रमुख तिम्सिनाले आरोपितहरु विरुद्ध जेठ १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितहरुलाई गिरफ्तार गरी अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी बालनरसिंह राणाले बताउनु भयो ।
नगरप्रहरी प्रमुख धामीलगायतको नगरप्रहरीको टोली भन्सार कार्यालय परिसर भित्रै प्रवेश गरेर कार्यालयका प्रमुख तिमल्सेनालाई कुटपिट गरिरहेको सिसिटिभी भिडिओ सार्वजनिक समेत भएको छ ।
भन्सार कार्यालयका प्रमुखलाई कुटपिट गरिहेको सिसिटिभी फुटेज सार्वजनिक भएपछि नगरप्रहरी इन्स्पेक्टर धामीलाई २४ घण्टा भित्र बुझाउने गरी स्पष्टिकरण पत्र समेत पठाइएको धनगढी उपमहानगरपालिकाका प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताउनु भयो ।
