गत वर्ष मालिका गाउँपालिका–२, दर्लिङ्गका धनबहादुर विकको परिवार पहिरोको जोखिमका कारण घर छोडेर डेढ साता चेनडाँडा प्राथमिक स्वास्थ्य केन्द्रमा राता बटाउन बाध्य बन्यो । पोहोर साल धाँजा फाटेको जमिन अझै उस्तै छ । अहिले फेरि चाँडैबाट वर्षात सुरु भएकाले जिउमा घाम नलागेको बताउनु भयो । त्यस्तै मालिका गाउँपालिका–१ का कर्ण बहादुर पुनको घर नजिकैबाट पहिरो गएपछि अहिलेसम्म जोखिम छ । ठूलो पहिरो गएकाले रोक्ने वा छेक्ने आफ्नो उपाय छैन ।
‘पोहोर पनि बर्खाभर ढुक्कले निदाइएन । अहिले पनि वर्षात् सुरु भएकाले त्रास सुरु भइसक्यो । कसैले पनि हाम्रो समस्या फर्केर हेर्दैनन्’ – पुनले भन्नुभयो । मालिका गाउँपालिका-१ र २ का करिव ४० घर परिवार दलित परिवार पहिरोको जोखिममा छन् । त्यो मात्रै नभएर गुल्मीका १ सय ६४ स्थान बाढी र पहिरोको जोखिममा छन् । गुल्मी आगलागी र पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ मा उल्लेख भए अनुसार जिल्लामा ४० स्थानथान बाढी र १ सय २४ स्थान पहिरोको जोखिममा रहेका छन् ।
यो वर्ष मौसम बिद्हरूले धेरै पानी पर्ने प्रक्षेपण गरेका छन् । बेलाबखतमा पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति भए पनि सरकाले जोखिम न्यूनीकरणको लागि ठोस योजना कार्यान्वयन गर्न सकिरहेको छैन । जिल्लामा साना–ठूला गरेर दर्जनौँ सडक निर्माण भइरहेका छन् । जसका कारण पनि कतिपय गाउँ उठिवास हुने अवस्था सृजना भएको छ । मदन भण्डारी राजमार्ग निर्माणको कामले आफू घरमा बस्न सक्ने अवस्था नभएको मदाने गाउँपालिका–६ की बिमला भट्टराइले गुनासो गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले कार्यालय प्रमुखको बैठक र बिपद् व्यावस्थापन समितिको बैठकबाट प्रतिकार्य योजनाका लागि आवश्यक सूचना माग भएकाले केही समयमा तयार गरेर कार्यान्वयन गरिने बताउनु भयो । उहाँले मनसुन छिटो सुरु हुने भएकाले कार्यालयको तर्फबाट हुने तयारी पनि सोही अनुसार रहेको बताउनु भयो ।
गत वर्ष मालिका गाउँपालिका–६, अर्जेका भेष बहादुर विकसहित आफूसहित पत्नी, बुहारी र दुई नातितीले पहिरोमा परेर ज्यान गुमाएका थिए । त्यस्तै मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरेपछि हुकुम बहादुर विक, गोरे विक, मसुरी विक र रियान्स विकको ज्यान गएको थियो ।
मुसिकोट नगरपालिकाका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा छन् । छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरोको जोखिममा रहेका छन् । त्यस्तै चन्द्रकोटका पाँच स्थान बाढी र १० स्थान पहिरो तथा मदानेका ३० स्थान पहिरोको जोखिममा रहेका छन् । अरु स्थानीय तहका थुप्रै स्थान पनि बाढी र पहिरोको जोखिममा छन् ।