मन्थली नगरपालिका- १२ गेलुकी २८ वर्षीय पवित्रा बुढाथोकीको ०८२ जेठ ९ गते ससुरा ६१ वर्षीय मटकबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
बुहारीको हत्या गरेपछि बुढाथाेकीले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले प्रहरी चौकी खिम्तिमा आत्मसमर्पण गरेका हुन् ।
पवित्राका पतिले गत साउनमा आत्महत्या गरेका थिए । त्यसपछि पवित्रा मन्थली नगरपालिका–११ गेलु स्थित माइतीमा बस्दै आएकी थिइन् । उनको ९ वर्षको छोरो भने हजुरबुबा मटकबहादुरसँग बस्दै आएका थिए । तर, पवित्राले छोरा आफूसँग राख्न पाउनु पर्ने बताउँदै आएकी थिइन् ।
मटकबहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो । शव मन्थली नगर अस्पतालमा पाेष्टमार्टमका लागि राखिएको छ ।