“बलात्कार शीर्षकमा लिनुपर्ने उजुरी प्रहरीले यौन दुर्व्यवहार” शीर्षकमा लिएकोप्रति अधिकारकर्मीले प्रहरीको ध्यानाकर्षण गराएका छन् ।
अधिकारकर्मीले जिल्ला प्रहरी कार्यालयका सुनसरीका एसपी सुमनकुमार तिम्सिना, इन्स्पेक्टर दिनेश अधिकारी, वरिष्ठ सइ मुना डाँगीलाई जेठ ६ गते ज्ञापनपत्र बुझाएका हुन् ।
इन्सेक सुनसरी, महिला पुनस्र्थापना केन्द्र ओरेक, मानव अधिकार रक्षक सञ्जाल र गैरसरकारी संस्था महासङ्घ, सुनसरीले प्रहरीलाई ध्यानाकर्षणपत्र बुझाएको आरेक मोरङ, संयोजक शोभा बजगाईँले बताउनु भयो ।
१२ वर्षीया बालिकालाई बराहक्षेत्र नगरपालिका-७ सोमवारे चोकका ५२ वर्षीय अर्थराज कोइरालाले विगत सात महिनायता पटकपटक बलात्कार गर्दै आएको तर, इलाका प्रहरी कार्यालय, बराहक्षेत्रले बलात्कार शीर्षकको सट्टा यौन दुव्र्यवहारका उजुरी दर्ता गरेको भन्दै अधिकारकर्मीले प्रहरीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
आर्थिक अवस्था कमजोर भएकी बालिकालाई आरोपितले पढाउने लेखाउने शर्तमा आश्रय दिएर घरमा राखेको र बलात्कार गर्दै आएको पीडित पक्षको भनाइ छ ।
आरोपितले बालिकालाई अन्तिम पटक ०८२ वैशाख ५ गते बलात्कार गरेको र सो विषयमा इलाका प्रहरी कार्यालय, बराहक्षेत्रमा वैशाख ६ गते उजुरी दिँदा प्रहरीले यौन दुर्व्यवहार शीर्षकमा उजुरी दर्ता गरेको पीडित पक्षको आरोप छ ।
बलात्कारजस्तो सम्वेदनशील विषयमा प्रहरीले अनुसन्धान नै प्रभावित हुने गरी उजुरी दर्ता गराएकाले बलात्कार शीर्षकमै उजुरी दर्ता गरी कारबाहीको माग गर्दै प्रहरीलाई ध्यानाकषर्ण पत्र बुझाएको अधिकारकर्मी सहजादी प्रविणले बताउनु भयो ।
ज्ञापनपत्र बुझ्दै जिल्ला प्रहरी कार्यालयका एसपी सुमन तिम्सिनाले ०८२ वैशाख ५ गते घटना भएको र वैशाख ६ गते इलाका प्रहरी कार्यालय, बराहक्षेत्रमा यौन दुर्व्यवहार शीर्षकमा उजुरी दर्ता भएकाले त्यही शीर्षकमा मुद्दा चलेको बताउनु भयो ।
अदालतबाट मुद्दामा आदेश आएपछि पुन कानुनी कारबाहीको बाटो खुल्ला हुने भएकाले सोही अनुसार अघि बढ्ने एसपी तिम्सिनाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ६ गते गरिएको छ ।
