INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी अस्पतालमा रेबिजविरुद्धको खोपको अभाव: महँगो शुल्क तिरेर किन्नुपर्ने बाध्यता

तनहुँका सरकारी अस्पतालहरुमा रेबिजविरुद्धको खोपको अभाव देखिएको छ । कुकुर र बाँदरले टोकेपछि लगाउनुपर्ने रेबिज खोप अभाव हुँदा त्यसको प्रत्यक्ष मार आम सेवाग्राहीले भोग्नुपरेको छ ।

सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप एक महिना अघिदेखि नै नआउँदा सेवाग्राही चर्को मूल्य तिरेर निजी मेडिकलमा खोप लगाउन बाध्य भएका छन् । खोपको अभाव हुँदा सर्वसाधारणले नीजि मेडिकलबाट महँगोमा उक्त खोप किन्नुपर्ने बाध्यता रहेको प्रादेशिक अस्पताल दमौलीका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.परिवर्तन बरालले बताउनुभयो ।

अस्पतालबाट निःशुल्क रुपमा पाउने औषधी सेवाग्राहीले नीजिमा ६ सय रुपियाँ बढी मूल्य तिर्नुपरेको छ । अस्पतालले प्रदेश आपूर्ति केन्द्रमा ५ सय थान माग गरी पठाएकोमा जम्मा ४० ओटा मात्रै आएकोले खोपको अभाव भएको डा.बरालले बताउनुभयो । माग अनुसार खोप नआउँदा सँधैजसो अभाव हुने गरेको डा.बरालले बताउनुभयो । कुकुरले टोकेमा सर्वसाधरणले तीन ओटा रेबिज खोप लगाउनुपर्ने हुन्छ ।

अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा पनि मौज्दात शून्य भएको जानकारी प्राप्त भएको अस्पताल प्रशासनले जनाएको छ ।

सरकारीमा उक्त खोप नपाइएपनि दमौलीका नीजि अस्पतालहरुमा भने खोप पर्याप्त रहेको छ । दमौली स्थित लोकप्रिय मेडिकल सञ्चालक राजु दाहालले आफ्नो अस्पतालमा रेबिज विरुद्धको खोप पर्याप्त मात्रामा रहेको बताउनुभयो । उक्त खोप ६ सय ३५ रुपियाँमा विक्रि गरेको दाहालले बताउनुभयो ।

अन्य

भिडियो