महालक्ष्मी नगरपालिका-५ र ६ को अधिकाशं क्षेत्रमा खानेपानीको समस्या छ ।
महालक्षमी नगरपालिका-५ को ज्यामिरे, वडा-६ को खनीयाखर्क, गुठलगायतका क्षेत्रमा खानेपानीको चरम समस्या छ । नजिकैको कुवा, मुहान तथा पुरानो खानेपानी वितरणबाट पानी नियमित नआउने भएपछि खानेपानीको समस्या बढ्दै गएको छ ।
बृहत लिफ्टीङ खानेपानी आयोजनाको काम सुरू भएपनि सम्पन्न नहुँदा स्थानीयको समस्या जस्ताको त्यस्तै छ । महालक्ष्मी नगरपालिका-५ ज्यामिरे गाँउमा करिब ८० घरपरिवारको वसोबास छ । महालक्ष्मी नगरपालिका-६ का खनीयाखर्क, गुठआसपास लगायतका क्षेत्रमा १ सय ५० बढी घरपरिवारको वसोबास छ ।
महालक्ष्मी नगरपालिका-५ र ६ का अधिकांश घर पानीका ड्रमले घेरिएका छन् । जहाँ आकासबाट आएको पानी केही दिनका लागि जोहो गर्ने गरिएको छ । गाँउमा खानेपानी ल्याउने ०४० सालमा ल्याएको बृहत खानेपानीे आयोजना समेत निक्कै पुरानो भएको छ । यो वितरण प्रणालीमार्फत प्रत्येक घरमा दिन बिराएर ५० देखि सय लिटर मात्र पानी आउने गरेको छ ।
थोरै पानीले भएपनि स्थानीयले जसोतसो चलाइरहेका छन् । मुख्यलाइनको पानी पटकपटक बिग्रिने गरेको छ । महालक्ष्मी नगरपालिका–५ र ६ मा तीन ओटा कुवा ०७२ सालको भुकम्पपछि सुकेपछि गाँउमा खानेपानीको समस्या छ ।
महालक्ष्मी नगरपालिका-६ खनियाखर्कका हुकुमबहादुर बस्नेत पानीको जोहो गर्नका लागि ड्रममा भरेर खानुपर्ने अवस्था रहेको बताउनु हुन्छ । उहाँका अनुसार आकाशबाट केही समय पानी नपरेमा तीन घण्टा टाढाको अरुण तथा माङ्मायालगायतको नदीबाट पानी ओसारेर खानुपर्ने अवस्था छ । महालक्ष्मी नगरपालिका-५ज्यामिरेकी जयलक्ष्मी बस्नेतले पानी कै अभावले बारी तथा खेत बाँझै राख्नु परेको बताउनु भयो ।
महालक्ष्मी नगरपालिकाका-५, ६ र ७ लाई लक्षित गरी सङ्घीय सरकारको ९ करोड ५२ लाख रुपियाँ लागतमा ०७९ मा बृहत लिफ्टीङ खानेपानी आयोजना सुरु भएपनि दुई पटक म्याद थप हुँदा समेत सम्पन्न हुन सकेको छैन ।
बृहत लिफ्टीङ खानेपानी आयोजनालाई समयमै काम सम्पन्न गर्न दवाव दिइरहेको तथा अन्य विकल्पको बारेमा समेत छलफल भइरहेको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायको भनाइ छ ।
आर्थिक वर्ष ०७८-७९ मा सुरु भएको काम दुइ वर्षमा अर्थात ०८०-८१ सम्पन्न हुनुपर्ने थियो । तर, समयमै काम सम्पन्न नहुँदा आयोजनाको दुई पटक ६-६ महिनाका लागि म्याद थप भइसकेको छ ।
०८१ जेठमा पहिलो पटक ६ महिनाका लागि म्याद थप भएकोमा ०८१ मङ्सिरमा दोस्रो पटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको समय ०८२ जेठमा सकिने भएको छ । हुन त आयोजनाको ९० प्रतिशत काम सम्पन्न भइसकेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय धनकुटाले जनाएको छ ।
१० ओटा ट्याङकी निर्माण, ३८ किलोमिटर पाइप बिच्छाउने, प्रशोधन प्रणालीको काम भइसकेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय धनकुटाका प्रमुख भोला प्रसाद थापाले बताउनु भयो ।
आयोजना सम्पन्न भएपछि प्रतिसेकेण्ड आठ लिटरको दरले पानी मुख्य ट्याङकीमा जम्मा भई सहायक ट्याङकीमा पठाइ वितरण गरिने योजना रहेको छ । यो योजनाबाट खनियाखर्क, सिमपानीलगायतका स्थान सहित महालक्ष्मी नगरपालिका-५, ६ र ७ वडाका १ हजार ७ सय ६६ घरधुरीले पानी पिउन पाउने छन् ।
नेपालको संविधानले धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकलाई व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भनेर उल्लेख गरिएको छ ।

