सरकारले पारदर्शिता र दुरुपयोग रोक्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरणमा बैङ्किङ प्रणाली लागू गरेदेखि विकट ग्रामीण भूगोलमा बसोबास गर्ने जिल्लाका ज्येष्ठ नगरिक, एकल महिला, अपाङ्गताभएका व्यक्ति र बालबालिकाका लागि यो नीति राहत भन्दा सास्ती बन्न पुगेको छ ।
बुंगल नगरपालिका–२ की ८० वर्षीया नर्मा धामी पहिले घरमै बसेर सामाजिक सुरक्षा भत्ता पाउनुहुन्थ्यो । अहिले भने दिनभर पैदल हिँडेर बैङ्क जानु पर्ने बाध्यता छ । उहाँले भन्नुभयो, ‘पहिले त घरमै सामाजिक सुरक्षा भत्ताबापतको रकम पाउथे । अब त भत्ता ल्याउन गाडी खोज्नुपर्छ यता पैदल हिड्नु पर्छ । धेरै सास्ती र खर्च लाग्छ ।’
बुंगल नगरपालिका–१ लौनेबाट वडा कार्यालयसम्म पाँच घण्टा हिँड्नुपर्छ भने त्यसपछि साना सवारीमा चढेर बैङ्क पुग्न झन्डै दुई घण्टा लाग्छ । आफूहरुलाई थकाइ, रोग र शारीरिक अशक्तताबीच यस्तो कष्टपूर्ण यात्रा यातना जस्तै भएको ८७ वर्षीया पटकीदेवी धामीले दुखेसो पोख्नु भयो ।
उहाँले भन्नुभयो– ‘सरकारले भत्ता दिनु राम्रो हा । तर, त्यो पाउनकै लागि यस्तो दुःख पाउनु प¥यो भने त्यो राहत होइन, सजाय जस्तो लाग्छ ।’
यस्तै पीडा साइपाल गाउँपालिकाका ज्येष्ठ नागरिकहरुले पनि भोगिरहेका छन् । साइपाल गाउँपालिका–४ धुलीकी ८१ वर्षीया इटोल लामा, वडा नम्बर ५ की छमु लामा र धौले बोहोरा भत्ता लिन धलौनस्थित बैङ्क जान दुई दिन हिँड्नु पर्ने बाध्यतामा रहनुभएको छ ।
साइपाल गाउँपालिकाका अध्यक्ष मानवीर बोहोराले सरकारको नीति राम्रो भएको तर भूगोल अनुसार नमिलेको बताउनु भयो ।
उहाँले भन्नुभयो– ‘हाम्रो गाउँपालिकाका केही वडाबाट बैङ्क पुग्न दुई दिन लाग्छ । यस्तो ठाउँमा ज्येष्ठ नागरिकलाई बैङ्क पठाउनु अन्याय हो । तर, सरकारको निती नै यस्तै छ ।’
सरकारले सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्दा पारदर्शिता र अनियमितता नियन्त्रण गर्न उक्त प्रयास गरेको भए पनि ग्रामीण भूगोल, डिजिटल पहुँचको अभाव, इन्टरनेट समस्या, गाडीको सुविधा नहुनुजस्ता व्यावहारिक चुनौतीले गर्दा ज्येष्ठ नागरिक, अपाङ्गताभएका व्यक्तिहरुका लागि घरमै सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सहज हुने उहाँको भनाइ छ ।