खप्तड छेडेदह गाउँपालिका–७ गुम्लागाउँबासी दशकौँदेखि बस्ती स्थानान्तरको प्रतीक्षामा छन् । ०७८ सालदेखि पहिरोको उच्च जोखिममा रहेको यो गाउँ हालसम्म पनि स्थानान्तर हुँन नसक्दा स्थानीयहरु ज्यान जोखिममा राखेर बाँच्न बाध्य छन् ।
स्थानान्तरका लागि स्थानीय तहदेखि संघीय सरकारसम्म हारगुहार गरिँदै आएको भए पनि राज्यको ध्यानाकर्षण हुन नसकेको स्थानीय बिष्णुबहादुर रावतले गुनासो गर्नु भयो ।
गुम्लागाउँमा करिब २ सय घरपरिवार बसोबास गर्दैआएकोमा हाल आधा गाउँ पहिरोको कारण विस्थापित भइसकेको छ । बाँकी बासिन्दाहरु निरन्तर पहिरोको जोखिमसँग झेल्दै ज्यान जोगाउँदै बस्न बाध्य छन् ।
स्थानीय विष्णुबहादुर रावतले भने,“हामी बाध्यताले यहाँ बसिरहेका छौँ । जता जाऊँ त्यस्तो ठाउँ छैन् । पहिरोसँगै जुधेर बस्नु पर्ने बाध्यता छ । कुन दिन गाउँनै सखाप हुने होे भन्न सकिन्न । बर्खायाम सुरु भएसँगै पहिरोको जोखिम झनै बढ्ने गरेको छ । हिउँदमा त केही सहज हुन्छ । तर, बर्खा लागेपछि घरमै सुत्दा पनि डर लाग्छ । कतिबेला पहिरोले बगाउने हो ? थाहाँ छैन् ।”
गाउँमा अहिले पहिराको सूचना दिन ‘साइरन’ जडान गरिएको छ । पहिरो आउँदैछ भन्ने चेतावनी दिन सक्ने यो यन्त्रले झण्डै एक किलोमिटर टाँढासम्म आवाज पुग्ने गर्छ । गाउँलेहरु अहिले यही साइरनको भरमा सतर्क रहन्छन् । यो उपाय अस्थायी भए पनि अहिलेको संकटको बेलामा थोरै भए पनि राहत मिलेको स्थानीयको भनाइ छ ।
७ हजार रोपनी जमीन बगरमा परिणत !
गाउँमा पहिरोको प्रभाव यति गहिरो छ की हालसम्म झन्डै ७ हजार रोपनी जमीन बगरमा परिणत भइसकेको छ । बस्ती मात्र नभई कृर्षियोग्य जमीन समेत विनाश भएकोले यहाँका स्थानीयको जीवनयापन संकटग्रस्त बनेको छ । पहिल्यै ९० घरपरिवार विस्थापित भइसकेका छन् भने अझै १ सय ३५ घरपरिवार पहिरोको उच्च जोखिममा बाँच्न बाध्य छन् ।
खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले गुम्लागाउँ पूरै पहिरोको जोखिममा रहेको भए पनि गाउँपालिकाको श्रोतले स्थानानन्त्रण गर्न नसकिने अवस्था रहेकोले संघीय र प्रदेश सरकारलाई सहयोगका लागि हार गुहार गर्दा सुनवाइ नभएको बताउनु भयो ।
गाउँ स्थानान्तरणका लागि संघीय र प्रदेश सरकारसँग धेरै पटक पहल गरिएको भए पनि समयसमयमा भइरहेको सरकार परिवर्तनका कारण पनी आफूहरुको माग सम्बोधन हुन नसकेको उहाँको भनाइ छ ।