INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती !

बढैयाताल गाउँपालिका–५ स्थित जगतपुर, बढैयाताल र नयाँ बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । यस क्षेत्रमा खानेपानी ट्याङ्की भए पनि खानेपानीको अभाव हुँदा समस्या भएको हो ।

खानेपानीको अभाव हुँदा स्थानीयले निकै कष्टकर जीवन बिताउन बाध्य भएका छन् । बढैयाताल गाउँपालिका–५ मा पानी नहुँदा स्थानीयलाई खान पकाउन, नुहाउन, लुगा धुन, शौचालन जान समेत समस्या भएको छ । स्थानीयका घरमा रहेको चापकलमा हेन्डपम्पमा समेत पानी आउँदैन । बढैयाताल गाउँपालिका–५ की २१ वर्षीया किशोरी थारुले वर्षाैँदेखि पानीको समस्या भोग्दै आएको बताउनु भयो । उहाँले खानेपानी व्यवस्थापन गर्नका लागि कहीँ कतैबाट पहल नभएको बताउनु भयो । उहाँले भन्नुभयो – ‘यहाँ ठूला ठूला माछा पोखरीहरू छन् । ती पोखरीमा पानी भर्न समर सेबल बोरिङ जडान गरिएको छ । समर सेल बोरिङबाट पानी आए पनि घरमा रहेको धारामा पानी आउँदैन । हामीले पानीको समस्या भोग्दै आएका छौँ । सरोकारवाला निकाय कसैको पनि ध्यान गएको छैन । काकाकुल भएर अझै कति बस्नुपर्ने हो ।’

बढैयाताल गाउँपालिका–५, जगतियालाई माछा जोनको रुपमा विकास गरी स्थानीय आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सरकारले माछा पालनमा लगानी गरेको छ । तर पानीको अभावका कारण त्यही माछा पालन स्थानीयका लागि समस्या बन्दै गएको छ । माछा पालनका लागि खनिएको पोखरीमा पानी हाल्दा स्थानीयको धारामा पानी आउन छोडेको छ । खानेपानी टोलमा खानेपानीको गम्भीर अभाव भएको छ । माछा बचाउन पानीको व्यवस्था गरिन्छ तर मानिसका लागि पानीको समस्या हुँदा पनि सरोकारवाला निकाय बेखबर रहेको स्थानीयको भनाइ छ ।

बढैयाताल गाउँपालिका–५ का वडा अध्यक्ष तुलाराम चौधरीले जगतपुर बढैयाताल नयाँ बस्तीमा गरी करिब दुई सय घरधुरीमा रहेको चापकल (हेन्डपम्प) बाट पानी नआउने समस्या रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘करिब दुई सय घर मध्ये एक सय घरको हेन्डपम्पमा पानी नै आउँदैन । पानीको समस्याको लागि वडाको बजेटले नपुग्ने भएकोले सरोकारवाला अन्य निकायसँग माग गर्दा सुनुवाइ भएको छैन । २ वर्ष अगाडि ट्याङ्की निर्माणको काम सम्पन्न भए पनि ट्याङ्की सञ्चालनमा आउन सकेको छैन ।’

वडा सदस्य तुलसी घर्तीमगरले खानेपानी ट्याङ्की निर्माण भएर सञ्चालन नसक्दा राज्यको लगानी बालुवामा पानीझैँ भएको बताउनु भयो । उहाँले भन्नभयो – ‘एकतिर राज्यको लगानी खेर गइरहेको छ भने अर्कोतिर स्थानीयहरू पानी खान नपाएर समस्या भएको छ । वर्षौँदेखि खानेपानीको आशमा बसेका स्थानीयले सहज रुपमा पाउने कुरामा अझै जनि शंका रहेको छ ।’ खानेपानीको अभाव भएपछि स्थानीय बसाइँसराई गरेर जाने सम्भावना समेत बढेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो