INSEC Online

📅 २०८३ जेष्ठ २१

दमौली अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा प्रसुति सेवा प्रभावित !

तनहुँको सदरमुकाम दमौलीमा रहेको एक मात्र सरकारी अस्पताल प्रदेश अस्पताल दमौलीमा दक्ष चिकित्सक नहुँदा प्रसुति सेवा प्रभावित भएको छ ।

अस्पतालमा चिकित्सक अभाव हुँदा सेवाग्राहीलाई प्रसुति सेवा लिन सास्ती भएको छ । चिकित्सक अवाभका कारण सेवाग्राहीले सेवा प्राप्त गर्नका लागि एक हप्ताभन्दा बढी समय कुर्नुपर्ने अवस्था छ । चिकित्सक नभएको कारण जिल्लाको प्रमुख सरकारी अस्पताल दमौली अस्पतालमा सेवा बन्द भएको हो ।

उक्त अस्पतालमा सामान्य शल्यक्रिया समेत नहुँदा गर्भवतीलाई पोखरा, चितवन वा काठमाडौँमा पुर्‍याउनु पर्ने बाध्यता भएको छ । गाइनोलोजिष्ट नहुँदा शल्यक्रिया सहितको विशेषज्ञ सेवा साढे दुई महिना अघि देखि बन्द भएको प्रदेश अस्पताल, दमौलीका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बरालले जानकारी दिनुभयो ।

अस्पतालमा सामान्य अवस्थाका सुत्केरी सेवा सुचारु रहे पनि शल्यक्रिया (अपरेसन) गर्नुपर्ने महिलालाई दैनिक बाहिर पठाउनु पर्ने बाध्यता रहेको रहेको छ । गाइनोलोजिष्ट डा. कुमार विष्ट सरुवा भएर भक्तपुर स्थित क्यान्सर अस्पताल गएपछि सेवा प्रभावित भएको बराल बताउनु भयो ।

‘गाइनोलोजिष्ट नहुँदा सेवा प्रभावित भएको सम्बन्धित निकायमा जानकारी गराएको छु तर सुनुवाई हुन सकिरहेको छैन । अस्पतालमा सर्जन नहुँदा दैनिक कम्तिमा एक जनालाई बाहिर पठाउनु बाध्यता रहेको छ’ – बरालले भन्नुभयो ।

नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार किटान गरिएको छ । तर, दमौली अस्पतालमा भने स्वास्थ्य सेवा नलिई बिरामी फर्कनु पर्ने अवस्था छ ।

अन्य

भिडियो