लेकम गाउँपालिकले वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । चालू आर्थिक वर्षको तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता पाँच ओटा वडामा पुगेर वितरण गरिएको हो ।
वडामा शिविरको आयोजना गरी ज्येष्ठ नागरिक, अपाङ्गताभएका व्यक्ति, दीर्घरोगी तथा बैंकमा स्वस्फूर्त रूपमा जान नसक्ने लाभग्राहीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको एमआईएस अपरेटर प्रकाशराज विष्टले बताउनु भयो ।
विष्टका अनुसार, शिविर वडा नम्बर ३ लालीबाट वैशाख २१ गतेबाट सुरु भई वडा नम्बर ६ उचाकोटमा शिविर सम्पन्न भएको हो । शिविरमा ४ सय ९१ महिला र ३ य ९२ पुरुष गरी ८ सय ८३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
लेकम गाउँपालिका वडा नम्बर १ सर्मौलीमा १ सय १ महिला सहित १ सय ७८ जना, वडा नम्बर २, कुणीमा १ सय २८ महिला सहित २ सय ३९ जना र वडा नम्बर ३, लालीमा ७९ महिला सहित १ सय ८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिका प्रवक्ता सुरेशसिह थापाले बताउनु भयो । यसैगरी वडा नम्बर ४ को खरकडामा ९८ महिला सहित १ सय ७९ जना, वडा नम्बर ६ मा ८५ महिला सहित १ सय ४९ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
गाउँपालिकाले लक्ष्मी सनराइज बैंकको सहकार्यमा हरेक चौमासिकमा वडातहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको प्रवक्ता थापाको भनाइ छ । बैंक वडा नम्बर ५ मै भएको हुँदा सो वडाका लाभग्राहीले भने बैंकमै सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेका छन् ।
दुर्गम क्षेत्रका नागरिकलाई बैंकसम्म पुगेर सामाजिक सुरक्षा भत्ता लिन सास्ती हुने भएपछि वडातहमै शिविर सञ्चालन गरेर हरेक वर्ष वडातहमै पुगेर भत्ता वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष रामदत्त जोशीले बताउनु भयो ।
स्थानीय तहका जनप्रतिनिधिले बैंकसम्म आउन नसक्नेलाई वडातहमै सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि सेवाग्राहीहरुलाई सहजभएको छ ।