INSEC Online

📅 २०८३ जेष्ठ २२

फोहोर सङ्कलन केन्द्र व्यवस्थित नहुँदा स्थानीयलाई समस्या

प्युठान नगरपालिकाले प्यूठान नगरपालिका—४, झिमरुक नदीको वगरमा सञ्चालन गरदै आएको फोहोर सङ्कलन केन्द्र (डम्पिङ्ग साइड) व्यवस्थित नहुँदा स्थानीयलाई समस्या भएको छ ।

२०७६ सालदेखि प्यूठान नगरपालिकाका बजार क्षेत्रबाट निस्किएका फोहोरहरू सङ्कलन गरी जम्मा गर्दै आएकोमा सो सङ्कलन केन्द्र व्यवस्थित नहुँदा सङ्कलन केन्द्र वरपर रहेका नागरिकहरूलाई समस्या भएको प्यूठान नगरपालिका—४ की स्थानीय ३३ वर्षीया देवी पाण्डेले गुनासो गर्नुभयो । फोहोरलाई व्यवस्थित तरिकाबाट व्यवस्थापन नगर्दा घरहरूमा दुर्गध फैलिएको, सङ्कलन केन्द्रमा रहेका प्लाष्टिकहरू खेती योग्य जमिनमा हावाले पुराएको, कुकुरहरूले घरको छेउ छाउमा हड्डी लगाएतका फोहोर बस्तु लिइ खाने गरेको पाण्डेले बताउनु भयो ।

सङ्कलन गरिएका बस्तुहरूलाई नगरपालिकाले रातको समयमा आगो लगाइ जलाउने हुँदा सङ्कलन केन्द्र वर पर रहेका बस्तीहरूमा फोहोर बस्तु जली निस्किएको धुवाँले सङ्कलन केन्द्र भन्दा एक किलोमिटर टाढा रहेको बजार क्षेत्रसम्मका बस्तीहरूमा धुवाले असर गरिएको प्यूठान नगरपालिका—४ का ५४ वर्षीय शिवबहादुर थापाले बताउनु भयो ।

सङ्कलन गरिएको फोहोरलाई आगो लगाइ जलाउँदा प्यूठान नगरपालिकाको बजार क्षेत्र बिजुवार, जुम्री, मल्लरानी गाउँपालिका—५ का बस्तीहरूमा दुर्गन्धित धुवाँ भइ मानव जीवनमा प्रत्यक्ष असर पुर्‍याइरहेको र अन्य माध्यमबाट फाहोरलाई व्यवस्थापन गर्न पटक पटक नगरपालिकासँग आग्रह गरेको स्थानीयहरूले गुनासो गरेका छन् । सङ्कलन केन्द्र सम्बन्धी आर्थिक कार्यविधि निर्माण गरी सुरक्षित तरिकाबाट व्यवस्थापन गर्ने वा कुनै सुरक्षित स्थानको खोजी गरी सङ्कलन केन्द्र बनाउने विषयमा प्यूठान नगरपालिका गम्भीर रुपमा लागेको र यस समस्याको छिटो भन्दा छिटो समाधान हुने प्यूठान नगरपनलिका प्रवत्ता एवम् प्यूठान नगरपनलिका—३ का अध्यक्ष सुमन श्रेष्ठले बताउनु भयो ।

अन्य

भिडियो