INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीद्वारा पत्रकारमाथि कुटपिट

उच्च अदालत सुर्खेत अगाडि भएको धर्नाको रिपोर्टिङ गर्न पुग्नुभएका जनचासो खबर दैनिकका संवाददाता अंगराज परियार र खुलानजर डटकमका संवाददाता प्रज्वल चुनारालाई वैशाख २५ गते डिउटीमा खटिएका असई एनबी राना लगायत अन्य प्रहरीले कुटपिट गरेका छन् । क्यामेरामा खिचिएका भिडियोहरू र अन्य फाइल समेत डिलिट गरेको पीडितहरूको गुनासो छ । ‘रिपोर्टिङमा गएका थियौँ । प्रहरीले धर्नामा बसेकाहरूलाई कुटपिट गरिहेको थियो । त्यही भिडियो खिच्नेबेला प्रहरीले हामीमाथि हातपात गर्‍यो र मोबाइलका सबै सामग्री उडाइदियो । पत्रकार परिचयपत्र देखाउँदा समेत डिउटीमा खटिएका प्रहरीले यस्ता परिचय पत्रको काम नभएको भन्ने जस्ता अपशब्द प्रयोग गर्दै कुटपिट गरे’ – पत्रकार अंगराज परियारले भन्नुभयो ।

पत्रकारले फोटो खिचेकै कारण हातपात गर्ने, धम्क्याउने र क्यामेरा नियन्त्रणमा लिइ सामग्री हटाउने कार्यप्रति नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश र सुर्खेत शाखाले ध्यानाकर्षण गरेको छ । वैशाख २६ गते प्रकाशित विज्ञप्तिमा भनिएको छ – ‘जनचासो खबर दैनिकका संवाददाता अंगराज परियार र खुलानजर डटकमका संवाददाता प्रज्वल चुनारालाई डिउटीमा खटिएका प्रहरीले दुर्व्यवहार गरेकोमा नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको ध्यानाकर्षण भएको छ । समाचार सङ्कलनका लागि खटिएका पत्रकार माथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ । महासङ्घ घटनाका दोषीमाथि कार्वाहीका साथै संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिनेतर्फ विशेष ध्यान दिन स्थानीय प्रशासनसँग माग गर्दछ ।’

त्यस्तै राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल सुर्खेत शाखा र कर्णाली प्रदेश शाखाले समेत उक्त घटनाको विज्ञप्ति मार्फत निन्दा गरेका छन् । पत्रकारको सवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाधरुपमा काम गर्ने वातावरण सिर्जना गर्न सरकारको ध्यानकार्षण समेत गरेका छन् ।

अन्य

भिडियो