(अपडेट १६:०० बजे)
अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सन्धिखर्क नपा-५ मा रहेको मथुरा केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र दिएपछि विवादका कारण पौने दुईबजेदेखि मतदान स्थगित भएको छ ।
मतदान अधिकृत बाहेक अन्य ब्यक्तिले नै हस्ताक्षर गरेका फर्जी मतपत्र खसेपछि स्थानीयले विरोध गरेको इन्सेकका पर्यवेक्षक सिर्द्धार्थ केसीले बताए । हाल सो स्थानमा सर्वदलिय वैठक बस्न लागेको जानकारी प्राप्त भएको छ । सो मतदान केन्द्रमा सुरेन्द्रराज अधिकारी र टेकेन्द्रसिंह खड्का मतदान अधिकृत रहेका छन् ।
स्याङ्जा जिल्ला प्रतिनिधि हिमलाल पराजुलीका अनुसार स्याङ्जा जिल्लाबाट क्षेत्र नम्बर २ का लागि बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार पद्मा अर्याललाई नेपाली काङ्ग्रेसका कार्यकर्ताले चापाकोट नपा-४ मा रहेको बाल मन्दिर केन्द्र नजिकै घेराउ गरेर राखिएको छ । सो घटनाको बारेमा जिल्ला प्रशासनलाई जानकारी गराइएको भएपनि प्रशासनले प्रतिक्रिया दिएको छैन ।
यसैगरी स्याङ्जाको गल्याङ् नपा-११ मा रहेको पुरानो गाविस केन्द्रमा बसेका दलका एजेन्टहरूबिच विवाद हुँदा प्रहरीले एक राउण्ड हवाई फायर गरेको थियो । वाम गठबन्धन र काङ्ग्रेसका कार्यकर्ताबिच विवाद हुँदा दिउँसो एक घण्टा मतदान अवरूद्ध भई १ः३० बजेबाट पुनः मतदान सुरू भएको जिल्ला प्रतिनिधि हिमलाल पराजुलीले जानकारी दिएका छन् ।
पाल्पा जिल्ला प्रतिनिधि यज्ञमुर्ति तिमिल्सिनाका अनुसार रामपुर नपा-६ का ७४ वर्षीय झुलबहादुर कुमालको मतदान गर्ने बित्तिकै निधन भएको छ । मतदान सकेर केन्द्रको गेटबाट निस्किने बित्तिकै कुमालको निधन भएको निर्वाचन अधिकृत शिवकुमार पोखरेलले जानकारी दिए ।
नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार बर्दघाट सुस्ता पुर्वमा ५८ प्रतिशत मतदान भएको र बर्दघाट सुस्ता पश्चिममा करिब ६० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् ।
कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार अहिलेसम्म ५१ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाको बाणगंगा नपा-८ लौगाई मावि केन्द्रमा बिहान ७ बजे मतदान सुरूभए पछि मतदान स्थलमै बम फेला परेको थियो । केहिबेर मतदान स्थगित गरी नेपाली सेनाले बम निष्कृय बनाएपछि मतदान पुनः सुरू भएको थियो ।
यसैगरी बाणगङ्गा नपा-८ मधुवन, बाणगंगा नपा-३ गजेहडा र बुद्धमुमि नपा-४ को जनकल्याण प्रावि मा समेत बम भेटिएको थियो । ति मध्ये केही विष्फोट भएका थिए भने केहीलाई नेपाली सेनाले निष्कृय बनाएको थियो ।
तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्लामा ४५ प्रतिशत मत खसेको छ । सो जिल्लामा अहिलेसम्म शान्तिपुर्ण रूपमा मतदान भईरहेको छ ।
कास्की जिल्ला प्रतिनिधि संगिता भाटका अनुसार जिल्लामा अहिलेसम्म ४६ प्रतिशत मतदान भएको जिल्ला निर्वाचान कार्यालयले जानकारी दिएको छ । पर्वत, रुपन्देही, गुल्मी अनुसार जिल्लामा शान्तिपुर्ण रूपमा मतदान भईरहेको छ ।
सिरहा
सिरहा क्षेत्र नं. ३, सुखिरपुर नपा-६ को जनकल्याण आधारभूत मतदान केन्द्रमा सङ्घीय समाजवादी फोरम र एमालेका कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते भएका छन् । यसैगरी लहान नगरपालिकाको शिवशक्ति मतदान केन्द्रमा पनि मतदाता परिचयपत्रको विषयमा सामान्य झडप भए पनि दुवै मतदान केन्द्रमा मतदान सुचारु रहेको इन्सेक प्रतिनिधि दुर्गा परियारले बताए ।
(अपडेट १४:५० बजे)
बाराको कलैया उपमहानगरपालिका २५ मा रहेको नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालय सिसहनीया, मतदान केन्द्र क मा एक घण्टा मतदान प्रकृया अवरुद्ध भएको छ । मतदान अधिकृत शयामकुमार शर्माले मतदाताहरूलाई रुख छापमा मतदान गर्न भनेका कारण मतदाताले विरोध गरेका कारण मतदान प्रकृया अवरुद्ध भएको हो । मतदान अधिकृत शर्माले मतदाता शिक्षा दि्ँदा अन्य अर्थ लागेको भन्दै अब देखि विवाद आउने कुरा नगर्ने जनाएपछि मतदान प्रकृता शुरु भएको हो । बारा प्रहरी नायव उपरीक्षक भुनेश्वर साह, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका प्रतिनिधि, पत्रकार जयनारायण यादव, अजय साह, सुजित कुमार अर्याल, इन्सेकका जिल्ला सहजकर्ता भोलानाथ पौडेल लगायतले विवादित स्थलमा पुगी सहजीकरण गरेका थिए ।
(अपडेट १४:१० बजे)
भक्तपुर
सूर्यविनायक नगरपालिका-२ बालकोटस्थित गणेश निमावि मतदान केन्द्रमा एमाले र काङ्ग्रेस कार्यकर्ताबीच झडप भएको छ । झडपमा परि एक जना घाइते भएको र मतदानस्थल वरपरका घरका झ्यालका शिशा फुटेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको इन्सेक प्रतिनिधि सविना केसीले बताइन् ।



बाराको कलैया उपमहानगरपालिका १८ को पतौरा टोलका मतदाताले बिहान दुई घण्टा मतदान बहिस्कार गरे । पतौरा टोलको सिचाईँ भवन मतदान केन्द्रका ३ सय ९४ जना मतदाताले आफ्नो गाउँको नाम निर्वाचन आयोगले बिगारेर पथरा बनाएको भन्दै बहिस्कार गर्ने भन्दै मतदान गर्न नआएपछि जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि लगायतले ठाउँको नाम सञ्च्याउन निर्वाचन आयोगलाई अनुरोध गर्ने सहमति गरी यस पटकको मतदानमा ९ बजे पछि सहभागी भएका इन्सेकका पर्यवेक्षक भोलानाथ पौडेलले बताए ।
(अपडेट १३:०० बजे)
सर्लाही प्रतिनिध सन्तोष सिंहका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको क्रममा सर्लाहीको फुलपरासिमा नेपाली काङ्ग्रेस तथा राजपा कार्यकर्ताबिच झडप हुन थालेपछि प्रहरिद्वारा हपाई फायर गरेको प्रहरीले जनाएको छ । मतदानका लागि लाइनमा बसेका बेला काङ्ग्रेस कार्यकर्ताहरूले राजपा कार्यकर्तालाई रोक्न खोजेपछि विवाद भएको थियो । काङ्ग्रेस कार्यकर्ताले राजपा कार्यकर्तामाथि आक्रमण गर्न थालेपछि प्रहरीले झडपलाई नियन्त्रणमा लिनका लागि चार राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
सल्यान
बागचौर नपा-९ स्थित सुर्योदय प्रावि कुइयापानीको बुथ केन्द्र नजिक मङ्सिर २१ गते बिहानैदेखि लगातार विष्फोट भइरहेको स्थानीयबासीले जानकारी दिएको इन्सेक प्रतिनिधि मीना बुढाथोकीले बताइन् । लगातार विष्फोट भएपनि सुरक्षामा केही असर नपर्ने बुथ केन्द्रमा खटिएका असई जयराम बुढाथोकीले बताए । आफूहरूले व्यापक सुरक्षाकर्मी परिचालन गरेकाले ढुक्क भएर मतदान गर्ने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमेरेले जनाए ।
बागचौर नगरप्रमुख लोकमान बुढाथोकी बसेको घर नजिक मङ्सिर २० गते राति अज्ञात समूहले बम विष्फोट गराएका छन् । बम विष्फोटपछि नगरप्रमुख बुढाथोकीलाई आक्रमणको प्रयास भएको उनको पारिवारले जनाएको छ ।
चुनावलाई लक्षित गरी सल्यान जिल्लामा मङ्सिर २० गतेदेखि नै बम विष्फोटका घटना भइरहेका छन् । विष्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । लगातार भइरहेका विष्फोटबाट स्थानीय, सुरक्षाकर्मी र कर्मचारी त्रसित भएका छन् । विष्फोटका घटनाका जिम्मेवारी कसैले पनि लिएको छैन ।
(अपडेट १२:३० बजे)
स्याङ्जा जिल्ला गल्याङ नपा-६ मा गए राति नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा एमाले कार्यकर्ता छविलाल पाण्डे र एकनारायण तिवारीमाथि आक्रमण हुँदा टाउकोमा गम्भीर चोट लागेको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी महेश आचार्यले घटनाको छानबिन भइरहेको जानकारी दिए । घाइतेहरूलाई उपचारको लागि पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारीले बताए । आक्रमणमा संलग्न रहेको आरोपमा चारजनालाई गिरफ्तार गरिएको जिल्ला प्रशासन कार्यालय, स्याङ्जाले जनायो । स्याङ्जा जिल्ला प्रतिनिधि हिमलाल पराजुलीका अनुसार वालिङ नपा-१० मोदिखोलामा सिर्द्धार्थ राजमार्गमा आज बिहान पाइप बम भेटिएको थियो । सो बमलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेर डिस्पोज गरेको र बाटो खुलाएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।

यसैगरी अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार सन्धीखर्क नपा-५ मा गएराति वाम गठबन्धन र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप हुँदा वडा अध्यक्ष जनार्दन खनाल सहित २ जना घाइते भएका छन् । घाइतेहरूको उपचार जिल्ला अस्पतालमा भइरहेको स्थानीय अनिश पौडेलले जानकारी दिए । अर्घाखाँचीको सन्धिखर्क नपा-२ बेलटारीमा रहेको अर्घाखाँची शिक्षा क्याम्पसको मतदान स्थल नजिकै भेटीएको बमलाई नेपाली सेनाको टोलीले निष्कृय बनाएको जिल्ला प्रहरी कार्यालय, अर्घाखाँचीले जनाएको छ ।
गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार कालीगण्डकी गाउँपालिका-५ फोक्सिका दुई मतदान केन्द्रमा मतदान ११ बजेबाट मात्रै सुरू भयो । काङ्ग्रेस कार्यकर्ताले एमाले नेता टिकाराम सापकोटालाई मङ्सिर २० गते राति कुटपिट गरेको आरोपका सम्बन्धमा गठबन्धनद्वारा मतदान अबरूद्ध गरेको पत्रकार घनश्याम गौतमले जानकारी दिए । कुटपिटमा संलग्नलाई गिरफ्तार गरी कारबाही गर्न उनीहरूले माग गरेका छन् । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत दुर्गा बस्यालका अनुसार सर्वदलीय बैठकपछि मतदान सुरू भएको हो ।
नवलपरासी जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार बर्दघाट नपा-९ मा रहेको राजा महात्मा माध्यामिक विद्यालय स्थित मतदान केन्द्रमा बिहान ८ बजे बम विष्फोट हुँदा केही बेर मतदान प्रक्रिया रोकिएको थियो । हाल सो केन्द्रमा मतदान सुचारू रहेको इन्सेकका पर्यवेक्षक टेक बहादुर बुढाथोकीले जानकारी दिए ।
यसैगरी रूपन्देही, कास्की, तनहुँ, पर्वत, कपिलवस्तु, र पाल्पा जिल्ला प्रतिनिधिका अनुसार ति जिल्लामा शान्तिपुर्ण रूपमा मतदान भइरहेको छ ।
भक्तपुर जिल्ला सूर्यविनायक नपा-१ को वडा कार्यालय भवनमा रहेको क मतदान केन्द्रमा २० ओटा जति मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर विनानै मतदान भएको पाइएको छ । मतदाताले मतदान गर्ने क्रममा हस्ताक्षर नदेखेपछि घटना सार्वजनिक भएको थियो । मतदन अधिकृतले हस्ताक्षर बिना मतदान भएको पाईए मतगणनाको समयमा राजनीतिक सहमतिमा टुङ्ग्याउने सहमति भएकोले मतदान सुचारु रहेको इन्सेक प्रतिनिधि सविना केसीले बताइन् ।



(अपडेट ११:५० बजे)
सूर्यविनायक नपा वडा नं. ३ बालाकोट स्थित गणेश निमावि मतदान केन्द्रमा एमाले र काङ्ग्रेस कार्यकर्ता बीच झडप भएको छ । झडपमा परि एक जना घाइते भएको र मतदान वरपरका घरका झ्यालका शिशा फुटेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको इन्सेक प्रतिनिधि सविना केसीले बताइन् । मतदान भने सुचारु रहेको छ ।
(अपडेट ११:०० बजे)
अछामको साँफेबगर नपा-१० बेतालमाण्डौ मावि मतदान केन्द्रमा काङ्ग्रेस र एमालेका एजेन्टबीच झडपहुँदा काङ्ग्रेसका प्रतिनिधि तेजबहादुर बडाहित घाइते भए । नाकमा चोट लागेका पीडितको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भएको इन्सेक प्रतिनिधि शिवराज ढुङ्गानाले बताए ।
धनुषा
स्वतन्त्र तराई गठबन्धनका संयोजक डा. सिके राउतलाई आज बिहान प्रहरीले गिरफ्तार गरेको छ । निर्वाचन विरोधि गतिविधि गरेको कारण राउतलाई प्रहरीले गिरफ्तार गरेको डिएसपी प्रविण धितालले बताए । डा. राउतले निर्वाचनको पूर्वसन्ध्यामा सामाजिक सञ्जाल मार्फत निर्वाचन बहिस्कारका लागि सर्वसाधरणलाई अपिल गर्दै आएका थिए ।
सप्तरी
सप्तरीको डाक्नेश्वरी नपा-८ को गप्रवाह मतदान केन्द्रको सय मिटर दुरी भित्रै एक राजनीतिक दलका नेता कार्यकर्ताले जेरी, पुरी लगायतको भोज गरी मतदातालाई प्रभावमा पारि मतदान गर्न पठाउने गरेको पाइएको पर्यवेक्षणमा संलग्न पवन साहले बताए ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ दोस्रो चरणको निर्वाचन इन्सेक नेपालगञ्ज मातहतका सुर्खेत, बाँके, बर्दिया, दाङ, प्यूठान, सल्यान र दैलेख जिल्लामा सुरु हुदैछ । बिहान पानी पर्ला जस्तो गरेको र मतदान केन्द्रको व्यवस्थापनका कारण केही मतदान केन्द्रमा ७.३० बजे मतदान सुरु भएको थियो भने अधिकांश मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । मतदान केन्द्रमा मतदान गर्नका लागि महिला, पुरुष र अपाङका लाइन अलग अलग गरिएको थियो भने जेष्ठ नागरिक, गर्भवती महिला र विरामीलाई सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएको पाइयो । जिल्लागत रुपमा प्राप्त निर्वाचन सम्बन्धीत संक्षिप्त प्रतिवेदन यस प्रकार रहेको छ ।
सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार सिमटा गाउँपालिका-२ काफलकोट मतदान केन्द्र क र ख मा बिहान ७.१५ बजेबाट मतदान सुरु भयो । बिहान ९.१५ बजेसम्म ७ सय ८४ मतदाता रहेको क बुथमा १ सय ३६ र ७ सय ५८ मतदाता रहेको ख बुथमा १ सय ४९ जनाले मतदान गरेका छन् । मतदान केन्द्रको सुरक्षा व्यवस्था राम्रो बनाइएको छ । अति संवेदनशील रहेका मतदान केन्द्र नजिक नेपाली सेनाले गस्ती गरेको गरेको छ । केही संचारमाध्यमले मतदानमा खटिएका सुरक्षाकर्मीसहितका कर्मचारी अपहरणमा परेको गलत समाचार सम्प्रेषण गरेको पाइयो ।
बर्दिया जिल्ला प्रतिनिधि मानबहादुर चौधरीका अनुसार जिल्लाको सुरक्षा व्यवस्था राम्रो बनाइएको छ । मतदान केन्द्रको व्यवस्थापन र बिहान पानी जस्तो भएपछि केही मतदान केन्द्रमा बिहान ७.३० बजे मतदान सुरु भयो भने अधिकांश मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । अमर शहीद दशरथ मावि राजापुरमा प्रतिनिधि राख्ने विषयमा लोकतान्त्रिक गठबन्धन र बामगठबन्धनका कार्यकर्ता बीच केही समय विवाद भएको थियो ।
दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार जिल्लाका १ सय ९६ मतदान केन्द्रमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । केही मतदान केन्द्रमा ७.१५ बजेबाट मतदान सुरु भएको थियो । आठबीस नपा-१ स्थित लक्ष्मी मावि सातला मतदान केन्द्र नजिक मङ्सिर २० गते राति आठ बजे अज्ञात समूहले बम विष्फोट गराएको थिए ।
प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्लाका २ सय मतदान केन्द्र मध्य अधिकांश मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । माण्डवी गाउँपालिकाको तिराम मतदान केन्द्र नजिक मङ्सिर २१ गते बिहान ४ बजे दुई वटा बम विष्फोट भएका छन् । मतदान केन्द्रमा मतदाताको उत्साहजन सहभागिता रहेको छ ।
दाङ जिल्ला प्रतिनिधि जे एन सागरका अनुसार दङ्गीशरण गाउँपालिका-६ श्रीगाउँ मतदान केन्द्रमा बाम गठबन्धनका प्रदेश सभाका उम्मेदवार उत्तरकुमार ओलीले मतदान गर्न जान लागेको अवस्थामा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले विवाद गरेपछि उक्त मतदान केन्द्रमा झडप भयो । झडपमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता दङ्गीशरण गाउँपालिका-६ बागरका ३४ वर्षीय टेकबहादुर केसी र २४ वर्षीय चित्र बहादुर केसी घाइते भए । टाउकोमा चोट लागेका दुबैलाई उपचारका लागि नेपालगञ्ज रिफर गरियो । उक्त मतदान केन्द्रको मतदान सुचारु भएको छ । जिल्लाका अन्य मतदान केन्द्रमा बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।
सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार बागचौर नपाको थारमारे मतदान केन्द्र नजिकको जङ्गलमा १५/२० पटक पडकेको आवाज आएको छ । उक्त विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनायो । वागचौर नपाका नगर प्रमुख लोकमान बुढाथोकीको थारमारेस्थित निवास नजिक मङ्सिर २० गते साँझ ७ बजे अज्ञात समूहले बम विष्फोट गराएका छन् । बम विष्फोटबाट कुनै क्षति भएको छैन । जिल्लाका अन्य मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ ।
बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डेका अनुसार राजनीतिक दलका प्रतिनिधि समयमा मतदान केन्द्रमा नपुगेका कारण केही मतदान केन्द्रमा बिहान ७.३० बजेबाट मतदान सुरु भएको थियो भने अन्यमा बिहान ७ बजेबाट मतदान सुरु भएको थियो । नेपाल राष्ट्रिय मावि गनापुर मतदान केन्द्र नजिक सवारी पास नलिइ चलाइएका चार ओटा मोटरसाइकल प्रहरीले राखेको पाइयो । यसैगरी कोहलुर नपा-५ सिर्द्धार्थ आधारभूत विद्यालय मतदान केन्द्र नजिक सवारी पास विना मोटरसाइकल चलाइएको पाइयो ।
(अपडेट १०:३० बजे)
दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत देशका ४५ जिल्लाका प्रतिनिधिसभा १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा आज बिहान ७ बजेदेखि मतदान भइरहेको छ । निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ हजार ६ सय ६६ तथा प्रदेशसभा सदस्यका लागि २ हजार ८ सय १९ गरी ४ हजार ४ सय ८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि ५ हजार ८ सय ३८ जना प्रतिस्पर्धामा छन्। आजको निर्वाचनमा ४५ जिल्लाका १ करोड २२ लाख ३९ हजार ९ सय ९३ मतदातासँग मतदान गर्ने अधिकार रहेको छ ।
यस निर्वाचनको इन्सेकले पर्यवेक्षण गरिरहेको छ । निर्वाचनसम्बन्धी पर्यवेक्षणमा रहेका सहकर्मीले पठाएको विवरण निम्नानुसार रहेको छ ।
सप्तरी
महादेवा गाउँपालिकोको वडा नम्बर २ मा रहेको मतदान केन्द्रमा बिहान १० बजेसम्म एक जना मतदाता पनि मत हाल्न गएका छैनन् । सिके राउतको गाउँमा रहेको उक्त मतदान केन्द्रमा केही दिन अघि उनले चुनावमा सहभागी नहुन भनेपछि गाउँका कोही पनि मतदान गर्न नगएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जनाए । यस केन्द्रमा २ सय ८३ जना मतदाता रहेका छन् ।
कैलाली
धनगडी नपा-८ को धनगडी उच्चमावि मतदानस्थलको नजिकै आज बिहान ८ बजे फेला परेको बमलाई नेपाली सेनाले निस्कृय तुल्याएको छ । मतदान स्थलमा केही समय त्रासको वातावरण भए पनि मतदान प्रक्रिया सूचारु रहेको इन्सेक प्रतिनिधि रविना चौधरी थारुले जनाइन ।
ललितपुर
एकान्तकुनाको यातायात कार्यालयमा रहेको मतदान स्थलमा चार हजार भन्दा बढी मतदाता रहेको र पाँच ओटा मतदान केन्द्रसम्म जान मतदातालाई अन्योल भएकोले मतदान प्रक्रिया झन्झटिलो देखिएको इन्सेककर्मी केशवराज भट्टले बताए ।
इलाम
इलामबाट इन्सेककर्मी सुरेश पुर्तेलका अनुसार इलाम नगरपालिकाको बाल मन्दिर मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताहरुले मतदाताहरूसँग भोट माग्ने गरेको र जेष्ठ नागरिकको मत पनि परिवारका अन्य सदस्यलाई हाल्न लगाउने गरेको पाइएको छ ।
डडेल्धुरा
भागेश्वर मावि मतदान केन्द्र बटालमा आज बिहान भेटिएको बम नेपाली सेनाले निष्कृय बनाएको इन्सेककर्मी भुपेन्द्र विष्टले जनाए ।
गुल्मी
रुरु गाउँपालिकाको बलेटक्सार माविको मतदान केन्द्रमा आज ८.३० बजे दुई थान बम फेला परेको मतदानको सुक्षामा खटिएको सुरक्षाकर्मीले जनाएको छ । सो बम निष्कृय बनाउन सेना सहितको डिस्पोजल टोली घटनास्थल जाँदै गरेको इन्सेक प्रतिनिधि टोपलाल अर्यालले जनाए ।
काठमाडौँ
चन्द्रागिरी नपा-१३ स्थित विद्यामन्दिर विद्यालय र वडा कार्यालयमा रहेको मतदान केन्द्रको नजिक बिहान ८ बजे कुकरबम विस्फोट भएको छ । बम विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको र मतदान प्रक्रिया सुचारु रहेको इन्सेककर्मी अनुज केसीले बताए ।
महोत्तरी
जिल्लामा शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान सुरु भए पनि सञ्चारकर्मीहरूलाई तस्बिर खिच्न अवरोध भएको इन्सेक प्रतिनिधि अजय साहले जनाएका छन् । मतदान स्थलमा खटिएका सुरक्षाकर्मीहरूले मतदान प्रक्रियाको फोटो खिच्न अवरोध गरेका हुन् । लचमु माध्यमिक विद्यालयमा खटिएका एक जना महिला प्रहरीले मतदान प्रक्रियाको फोटो खिच्न नपाई भन्दै सञ्चारकर्मीहरू मतदान केन्द्रमा गएर रिपोर्टिङ्ग गर्न खोज्दा क्यामेरा हातले छोप्दै फोटो खिच्न नमिल्ने भन्दै अवरोध गरेकी हुन् ।
बाँके
इन्सेकको पर्यवेक्षक विपिन पौडेलका अनुसार कोहलपुर नपा-१० मा त्रिभूवन मावि मतदान केद्र ७ बजेर २५ मिनेटमा मतदान सूचारु भएको छ ।



