इस्मा गाउँपालिका–४, कोटकोटरीका ४१ वर्षीय बल बहादुर दर्जी वर्ष दिनदेखि छिमेकीको घरमा बस्नुहुन्छ । आफ्ना घरगोठ, पशुचौपाय, मेसिन, बाजासहित सवै सम्पती जलेर सकिए । खाने अन्नको गेडा थिएन । आगलागीपछि लगत्तै वर्षात सुरु भएकाले छिमेकी सुखाराम विककोमा आश्रय लिनुभयो । कष्ठ र पीडाले वर्षदिन बते । तर, यो वर्षातमा पनि ओतको टुङ्गो नहुने देखियो । वैशाखमै परेको वर्षाले आधा घर भत्काउनै थालेको बल बहादुरले बताउनु भयो । उहाँ आफ्नै शरीर २०४३ सालमा जलेर अपाङ्ग हुनुहुन्छ । त्यसैमाथि फेरि घरगोठसहित सम्पत्ति आगोमा जलेर सकिए । वर्षदिन बढी बिते पनि सरकारले निर्माण व्यावसायीलाई बेलैमा किस्ता तिर्न नसकेका कारण घर निर्माण आधा मात्रै उभिएको छ । उहाँले सरकारले घर निर्माणको आश देखाएर अलपत्र पारेको गुनासो गर्नुभयो । ‘आफैले बनाएको भए जसोतसो बारेर बस्थ्यौँ । सरकारले बनाएका कारण न भत्काउन मिल्ने न बनाउन मिल्न । अहिलेको वर्षात पनि छिमेकमै बित्ने भयो’ – उहाँले भन्नुभयो ।
सरकारले सम्झौता अनुसारको रकम भुक्तानी नगर्दा बल बहादुरसहित दर्जनौँ आगलागी पीडित बिचल्लीमा परेका छन् । गत वर्ष जिल्लामा सबैभन्दा बढी आगलागीले क्षति गरेको इस्मामा पनि कतै घर बन्ने र कतै नबन्ने अवस्था रहेको छ । इस्मा गाउँपालिका–४ का आगलागी पीडितका घर आधा मात्रै छन् । निर्माण व्यावसायीले सरकारबाट पैसा नआएसम्म काम रोकेका छन् भने इस्मा गाउँपालिका–२ का आगलागी पीडितको घर निर्माण सकिए पनि निर्माण व्यावसायीले भुक्तानी नपाउँदा अर्को समस्या सृजना भइरहेको छ । इस्मा गाउँपालिका–४, कोटकोटेरीकै सुन्दरलाल विकको घर आधा पनि मात्रै बनेको छ । वर्षात सुरु भएकाले सुन्दरलालको मन पनि आधा भएको छ । किनकी वर्षदिनमा आधा बनेको घर पनि वर्षातले भत्कने डर छ । गत वर्ष आगलागीले विकको किराना र फेन्सी पसलसहितको घरगोठ सबै जले । काम गरेर खाइरहेको मेसिन र पशुचौपाय समेत रहेनन् ।
नेता र सरकारका मान्छेको आश्वासनले वर्षात अगाडि नै राम्रो ओत पाउने आशा सुन्दरलालसहितका आगलागी पीडितको थियो । तर, छिमेकमै बसेर वर्षदिनसम्म बिते । निर्माण व्यावसायीले सरकारले पैसा नदिएका कारण घर आधाकल्चो बनाएर छोडेका छन् । स्थानीय सरकारले दिने १ लाख रुपियाँबाट केही काम पनि भएको छ । पछि केन्द्रीय र प्रदेशको बजेट आएन । जसले पीडित परिवार झन् पीडामा परेका छन् । इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले पालिकाको तर्फबाट पाउने रकम सबै परिवारले पाए पनि सङ्घ र प्रदेशको रकम माग गर्दै गाउँपालिकामा आगलागी पीडित पटकपटक दवाद दिने गरेको बताउनु भयो ।
एकैदिन आगलागी भएको इस्मा गाउँपालिकाकै वडा नं २ हस्तिचौरका आगलागी पीडितहरूको घर निर्माण भएका छन् । तर, निर्माण व्यावसायीले घर निर्माण गरेर बुझाए पनि सरकारले पैसा नदिएकाले मानसिक तनाब खेप्न परेको आगलागी पीडित बताउँछन् । इस्मा गाउँपालिका–२ का आगलागी पीडितहरूका घरहरू पनि निर्माण गरिएको छ । तर, किस्ता नआउँदा निर्माण व्यावसायी र पीडित परिवार चपेटामा छन् । आफूले घर निर्माण गरेको २०/२२ लाख रकम पाउनुपर्ने नआएपछि बाँकी परिवारको घरमा छाना राख्न नसकिएको निर्माण व्यावसायी केशव घर्तिले बताउनु भयो ।
स्थानीय सरकारले पहिलो किस्ताको रकम दिए पनि सङ्घ र प्रदेशबाट रकम नआएपछि आफूहरू चल्ने अवस्था नै नरहेको घर्तिले बताउनु भयो । जिल्ला स्तरीय बिपद् व्यावस्थापन समितिबाट पनि पटक–पटक ताकेता गर्ने र केन्द्र तथा प्रदेशमा ध्यानाकर्षण गराउँदा पनि रकम भुक्तानी नभएकाले आफूहरू पीडितको अगाडि अनुहार देखाउन सक्ने अवस्थामा नरहेको इस्मा गाउँपालिका–४ का वडाध्यक्ष राजु बस्नेतले बताउनु भयो ।
इस्मा मात्रै ०८१ वैशाख ८ गतेको आगोलागीबाट ४९ घर गोठ जलेर नष्ट भएका थिए । ०८१ वैशाखमा इस्मासहित जिल्लाभर ६ दर्जन बढी घरगोठ जलेका थिए । आगलागी पीडित परिवारले आवास निर्माणका लागि ५ लाख रुपियाँ पाउने व्यवस्था छ । त्यसमध्ये स्थानीय पालिकाले १ लाख र चार लाख रुपियाँ प्रदेश तथा सङ्घ सरकारले उपलब्ध गराउनुपर्ने हो । प्रदेशले केही रकम पठाएकाले सङ्घ सरकारसँग साढे १२ करोड रुपियाँ रकम माग गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताउनु भयो ।










