२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा तनहुँ जिल्ला बन्दिपुर नगरपालिका– १ घर ललितपुर महानगरपालिका–११ वंगलामुखी बस्ने ४० वर्षीय गोकुल सुनारलाई प्रहरीले ०८२ वैशाख २१ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०८२ वैशाख ११ गते ललाई फकाई डरत्रास देखाई यौन दुर्व्यवहार गरेको भन्दै वैशाख १२ गते पीडित परिवारले जिल्ला प्रहरी परिसर जावलाखेलमा दिएको उजुरीका आधारमा खोजी गर्दा लगनखेल बसपार्कमा हिँडिरहेको अवस्थामा गिरफ्तार गरिएको परिसरका एसपी एवम् प्रवक्ता नरहरि रेग्मीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८२ वैशाख २१ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।
आरोपित विरुद्ध मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी उद्योग मुद्दामा ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।