तातोपानी गाउँपालिका–५ लाम्रागाउँ स्थित स्वास्थ्य चौकीमा खानेपानी र शौचालय नहुँदा समस्या हुने गरेको सेवाग्राहीले गुनासो गर्ने गरेका छन् । स्वास्थ्य संस्थामा सेवा लिन आउने सेवाग्राही लगायत स्वास्थ्यकर्मीलाई शौचालय प्रयोग देखि खानेपानीको समेत समस्या छ ।
स्थानीय तहको स्वास्थ्य प्राणालीमा सुधार गर्न र स्वास्थ्य चौकीबाट उपलब्ध हुने स्वास्थ्य सेवा विषयक रेडियो कर्णालीद्वारा आयोजित रेडियो बहस कार्यक्रमका सहभागीहरुले यस्तो गुनासो गरेका हुन् । लाम्राका स्थानीयले स्वास्थ्य चौकीमा बन्द अवस्थामा रहेको शौचालय र खानेपानीको व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् । स्वास्थ्य चौकीमा कर्मचारी भएर पनि कर्मचारी नबस्ने र बर्थिङ सेन्टर प्रयोग विहीन भएको सेवाग्राहीले स्थानीयले गुनासो गरेका छन् । स्वास्थ्य चौकीमा सेवा लिन आउँदा कर्मचारीले समयमै सेवा नदिएको र घण्टौँ कुर्नु पर्ने बाध्यतालाई सुधार गर्नुपर्ने जस्ता माग समेत सेवाग्राहीले राखेका छन् ।
स्वास्थ्य चौकीका इन्चार्ज गोपाल गिरीले स्वास्थ्य चौकीमा सेवा लिन आएका विरामीलाई समयमै सेवा दिने गरेको बताए । उनले भने राज्यले तोकेको सेवासुविधा आफूले भरपुर प्रवाह भईरहेको छ । गाउँपालिका प्रमुख नवराज न्यौपाने र ५ नम्बर वडाका वडाध्यक्ष हरिबहादुर डाँगीले अबको एक महिना भित्र स्वास्थ्य चौकीमा खानेपानी र शौचालयको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य क्षेत्र सुधारमा प्रतिवद्ध रहेर काम गर्न स्वास्थ्यकर्मीलाई अध्यक्ष न्यौपानेले आग्रह गरेका छन् ।