INSEC Online

📅 २०८३ जेष्ठ २१

आधारभुत स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दै शुक्लागण्डकी नगरपालिकामा स्थानीयद्वारा तालाबन्दी

शुक्लागण्डकी नगरपालिका वडा नम्बर १० लोकतीटारका स्थानीयले टोलमा आधारभुत स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दै शुक्लागण्डकी नगरपालिका कार्यालयको मुल प्रवेशद्वारमा ०८२ वैशाख २४ गते तालाबन्दी गरेका छन् । ताला लगाउने क्रममा स्थानीय, नेपाल प्रहरी र नगर प्रहरीबीच केहीबेर धकेलाधकेल भएको थियो ।

shuklagandaki napa ma tala

वडा र नगरबाटै सिफारिस गरेर आधारभुत स्वास्थ्य केन्द्र निर्माणकालागि मन्त्रालयबाट बजेट परेको भएपनि ढिलाई गरिएको भन्दै नगरपालिकाको मुल ढोकामा ताला लगाएको स्थानीय एवम् माझगाउँ टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर कुमालले बताउनुभयो ।
लोकदीटारमा आधारभुत स्वास्थ्य केन्द्र आवश्यकता परेको भन्दै वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले स्वास्थ्य मन्त्रालयमा अगाडी बढाउन माग गर्दै गत मंसिर २५ गते नगरपालिकालाई माग पत्र पठाउनुभएको थियो । नगरपालिकाले सोहि दिननै मन्त्रालयमा केन्द्रकोलागि सिफारिस गरेको पाइएको छ । हाल स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत आधारभुत स्वास्थ्य केन्द्र निर्माणकालागि बजेट आएपनि अन्यत्र लैजान लागिएको भन्दै उनीहरुले यसअघि पनि पटक– पटक नगरको ध्यानाकर्षण गराएका थिए ।

‘पटक पटक–वडा र नगरमा ध्यानाकर्षण गरायौ, तर हाम्रो क्षेत्रमा आएको केन्द्र अन्यत्र लैजान खोजिएको छ’ स्थानीय सुदिप केसीले भन्नुभयो ‘नियमले मिल्दैन भन्नुभएको छ, जनप्रतिनिधी हामीसँग कुरै गर्न चाहानुहुन्न ।’ उनले माग पुरा नभएसम्म चाबी नखुल्ने उहाँले बताउनुभयो । उहाँले नगर प्रमुख कृष्णराज पण्डितले लोकतीटारमै केन्द्र स्थापना हुन्छ भनेर प्रतिवद्धता जनाएकोमा अहिले आएर प्रतिवद्धताबाट भागिरहेको आरोप लगाउनुभयो । केसीले स्थानीय आउने बित्तिकै नगर प्रमुख कार्यालयबाट निस्किएर जाने गरेको बताउनुभयो ।

नगर प्रमुख कृष्णराज पण्डितले कार्यपालिका बैठक लगत्तै चितवन आउनु परेकोले मंगलवार छलफल हुन नसकेको बताउनु भयो । उहाँले आधारभुत स्वास्थ्य केन्द्रकै सेवा सरह लोकदीटारमा पूर्वाधारसहितको सेवा दिन नगरपालिका तयार रहेको प्रष्ट पार्नुभयो ।

वडा नम्बर १० का अध्यक्ष राजेन्द्र बहादुर भट्टराई क्षेत्रीले एउटै वडामा आधारभुत स्वास्थ्य केन्द्र दुई स्थानमा स्थापना गर्न नमिल्ने भएकाले समस्या आएको बताउनुभयो । ‘अहिले छब्दीमा आधारभुत स्वास्थ्य चौकी सञ्चालनमा छ, सोहि ठाउँमा पुनः स्थापना गर्न मिल्दैन’ वडा अध्यक्ष भट्टराईले भन्नुभयो ‘हामीले शहरी स्वास्थ्य केन्द्र राख्ने भनेका हौं, उहाँहरु मान्नुभएको छैन ।’

अन्य

भिडियो