INSEC Online

📅 २०८३ जेष्ठ २२

जनशक्ति र बजेट अभावमा अस्पताल सञ्चालनमै कठिनाइ, सेवाग्राही समस्यामा

शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल बजेट र जनशक्ति अभावमा सञ्चालनमै कठिनाइ भएपछि स्थानीय सेवाग्राहीहरुले समस्या भोग्नुपरेको छ ।

दुई जिल्लाको मुख्य केन्द्रबिन्दुमा रहेको यो अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट नवौं तहको दरबन्दी स्थापनादेखि रिक्त छ । दुई जना मेडिकल अधिकृत करारमा छन्  । “मेडिकल अधिकृतको दरबन्दी भए पनि पुरै समय यहाँ बस्न सक्ने अवस्था छैन्,” शैल्यशिखर नगरपालिका स्वास्थ्य संयोजक शिवदत्त जोशीले भन्नुभयो, “सेवा सुविधाको कमीले गर्दा यहाँ बस्न रुचि कमैले देखाउने गरेका छन् ।” तोकिएको तलबबाहेक स्थानीय सरकारले थप बजेट दिएर डाक्टर टिकाउनुपरेको छ । अस्पतालमा डाक्टर मनोजबहादुर पाल र उत्तमसिंह धामी मात्रै कार्यरत छन् ।

अस्पतालसँग पर्याप्त मात्रामा भौतिक पूर्वाधार छैन् । आर्थिक वर्ष ०५५ / ०५६ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदा निर्माण गरिएको भवनबाट सेवा दिनुपरेको छ । तीन बेड भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै अहिले १५ सैय्या अस्पतालमा पु‌‌र्याइएको छ । पूरानै भवनलाई अहिले काम चलाउको रुपमा सञ्चानलमा ल्याइएको स्वास्थ्य संयोजक जोशीले बताउनु भयो ।

छिमेकी जिल्ला र दार्चुलाका स्थानीय तहसँगको अन्तरपालिका समन्वय बैठक हुँदा पनि अस्पताल सञ्चालनमा सहयोग जुट्न नसकेको स्वास्थ्य संयोजक जोशी बताउनुहुन्छ । हाम्रोमात्रै स्रोत प्रयाप्त छैन् । अरु कहिबाट बजेट र उपकरण सहयोग नआएपछि अस्पतालको अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ ।

यो अस्पतालमा जिल्लाको लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका,अपिहिमाल गाउँपालिका र छिमेकी जिल्ला बैतडीको डिलाशैनी, दोगडाकेदार, पूर्चौडी नगरपालिका र बझाङ जिल्लाको बुङ्गल नगरपालिकाका सेवाग्राही अस्पतालमा पुग्ने गरेका छन् । तर, जनशक्ति र साधन स्रोतको अभावमा बिरामीहरुले सेवा पाउन नसक्दा अन्य अस्पतालमा रेफर गर्नु पर्ने बाध्यता छ । जसका कारण गर्भवति, सत्केरी, ज्येष्ठ नागरिक र आर्थिक रुपमा विपन्न परिवारले थप समस्ती खेप्नुपरेको छ ।

अल्ट्रासाउण्ड मेसिन विग्रिदा सेवाप्रवाहमा समस्या !

गोकुलेश्वर अस्पताल, दार्चुलाको अल्ट्रासाउण्ड मेसिन बिग्रिदा बिरामीको चेकजाँचमा समस्या भएको छ । तीन महिनादेखि अल्ट्रासाउण्ड मेसिन बिग्रिएको अस्पतालले जनाएको छ ।

मेसिन मर्मत हुन नसक्दा अस्पतालमा आउने बिरामीको चेकजाँचमै समस्या भएको शैल्यशिखर नगरपालिका स्वास्थ्य संयोजक शिवदत्त जोशीले जानकारी दिनुभयो । “अस्पतालसँग सुरुमा तीन ओटा अल्ट्रासाउण्ड मेसिन थियो,” जोशीले भन्नुभयो, “दुई ओटा मेसिन यसअघि नै बिग्रियो, एउटा चैत महिनादेखि बिग्रिएपछि समस्या भएको छ ।”

गोकुलेश्वर अस्पतालमा दैनिक सयौं जना बिरामी आउने गर्छन् । यो अस्पताल दार्चुलाको मात्र नभई बैतडीका सेवाग्राहीको लागि पनि केन्द्रमा पर्दछ । अस्पतालमा भिडियो एक्सरे गर्नु पर्ने गर्भवतीको सङ्ख्यानै झण्डै दैनिक २० जना पुग्छ । त्यो बाहेक सामान्य बिरामी सयौं हुन्छन् ।

गोकुलेश्वर अस्पतालका डाक्टर मनोजबहादुर पालका अनुसार अस्पतालमा आउने बिरामीको भिडियो एक्सरे नहुँदा सास्ती छ । एक महिना अघि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मर्मत गरिदिन्छु भनेर पठाइएको अल्ट्रासाउण्ड मेसिन अझै बनेको छैन् । बिग्रिएको मेसिन पनि प्रभावकारी थिएन् । मेसिन बने नबनेको जानकारी आएको छैन् ।

अस्पतालमा चाहिने आवश्यक उपकरण नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या हुने गरेको डाक्टर पाल बताउनुहुन्छ ।

सेवा सुविधा प्रयाप्त नहुँदा एनेस्थेसिया डाक्टर पाइएको छैन् । नगरपालिकाले पटकपटक एनेस्थेसिया डाक्टर खोज्ने प्रयास ग¥यो, सूचना जारी गर्दा पनि कोहि आउन मानेन् । पहिले एक्सरे, ल्याब, अल्ट्रासाउण्ड र सामान्य अप्रेशनको काम यहि गोकुलेश्वर अस्पतालमा हुने गरेको थियो, स्वास्थ्य संयोजक जोशी भन्नुहुन्छ, अहिले सिएस गर्न डाक्टर समेत पाइदैन् । सरकारी सेवामा मात्रै डाक्टर आउन मान्दैनन् । अहिले करारका दुई जना डाक्टरको सेवा स्थानीय सरकारले थपेर मात्रै टिकाइएको छ ।

स्वास्थ्यकर्मीले सात महिनादेखिको तलब पाउन सकेनन् !

गोकुलेश्वर अस्पतालमा कार्यारत स्वास्थ्यकर्मीले सात महिनादेखि तलब लगायतको सेवा सुविधा पाएका छैनन् । तलब समेत समयमै नआउँदा स्वास्थ्यकर्मीलाई काम गर्न धौँधौँ भइरहेको छ ।

संघीय सर्शत अन्तर्गत कार्यरत कर्मचारीले समयमै तलब पाए पनि स्थानीय तह र स्थानीय तहले थप गर्नु पर्ने सेवा सुविधा समयमै नपाउँदा स्वास्थ्यकर्मीलाई समस्या भएको हो ।

शैल्यशिखर नगरपालिकाले करारमा भर्ना भएका कार्यालय सहयोगी, स्वीपरदेखि अहेवसम्म १५ जना कर्मचारीले सात महिनादेखि तलब पाएका छैन् । सुरुमा तीन महिनाको तलब निकासी भएको थियो, एक जना स्वास्थ्यकर्मीले भन्नुभयो, त्यो बाहेक हालसम्म तलब समेत पाएका सकिएको छैन् ।

अस्पतालमा कार्यरत दुई जना डाक्टरको नगरपालिकाले थप गर्नुपर्ने तलब समेत गएको छैन् । सेवा सुविधा नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्न समेत समस्या भएको छ ।

स्थानीय सरकारबाहेक कसैले सहयोग नगर्दा तलब लगायतका सेवा सुविधा व्यवस्थापनमा समस्या भएको स्वास्थ्य संयोजक शिवदत्त जोशी स्वीकार गर्नुहुन्छ । पूर्वाधार, जनशक्ति र मेसिन खरिदमा कसैको सहयोग जुटेको छैन् । प्रदेश सरकारले सहयोग गरेको छैन् । स्थानीय स्रोत र राजस्वमार्फत सञ्चालन निकै चूनौतिपूर्ण छ ।

स्वास्थ्यकर्मीलाई तलब लगायतका सेवा सुविधा समयमै व्यवस्थापनमा आफूले पहल गरिरहेको उहाँको भनाइ छ ।

स्थानीय साधान स्रोतबाट सेवा प्रभाव गर्न समस्या भएपछि अस्पताललाई प्रदेश सरकार मातहत ल्याउने विषयमा छलफल भइरहेको र अन्य छिमेकी स्थानीय तहसँग पनि छलफल गर्ने योजना बनाएको शैल्यशिखर नगरपालिकाका प्रमुख विजयसिह धामीले बताउनुभयो ।

photo20250505darchula

अन्य

भिडियो