INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन नजिकिएसँगै आचारसहिंता उल्लङ्घनमा वृद्धि

निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा उम्मेदवार र तिनका समर्थकले आचारसंहिताको उल्लङ्घन गर्ने क्रम बढेको राससले जनाएको छ ।

उम्मेदवारी दर्तापछि सुरुका दिनमा आचारसहिंता पालना भइरहे पनि निर्वाचन नजिकिँदै गर्दा उल्लङ्घन बढेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका आचारसहिंता अनुगमन अधिकृत भीम पाण्डेले बताए । उनले भने-“जिल्लाका विभिन्न भागमा ब्यानर, पम्प्लेट टाँस्ने काम बढिरहेको छ ।”

शहरका भित्री भागभन्दा पनि चक्रपथ बाहिर उम्मेदवारका प्रचार सामग्री टाँसिएको र झुण्ड्याएको बढी पाइएको छ । दलका उम्मेदवार मात्रै होइन, आचारसहिंताको उल्लङ्घन गर्नेमा स्वतन्त्र उम्मेदवारसमेत छन् ।

आचारसहिंता पालना गराउनका लागि जिल्लास्तरमा सर्वदलीय बैठक भइरहेका छन् । बैठकमा आचारसहिंता विपरीत राखिएका पर्चा, पम्प्लेट हटाउन दल र उम्मेदवारलाई पटकपटक सम्झाइएको पाण्डे बताउँछन् ।

कार्यालयले लिखित र मौखिक दुवै रूपमा उम्मेदवारलाई आचारसंहिताको पालना गर्न सम्झाइरहेको छ । उनले भने-“हामीले यही मङ्सिर १४ गते लिखित रूपमा नै बढी प्रचार सामग्री भएका दल र उम्मेदवारलाई हटाउन भनेका थियौँ ।”

सुरक्षाकर्मीले केही दिन पहिले जाउलाखेल, पुल्चोक, सानेपालगायत स्थानमा आचारसहिंता विपरीत राखिएका प्रचार सामग्री हटाएको थियो ।

आचारसहिंता उल्लङ्घन भएको भन्दै कार्यालयमा मौखिक उजुरी परिरहेको छ । पाण्डेले भने-“ठूलो स्पिकर बजाएको भन्दै केही दिन पहिले उजुरी परेको थियो ।”

केन्द्रमा निर्वाचन आयोगले आचारसंहिताको कार्यान्वयनको अवस्था अनुगमन गरिरहेको छ । जिल्लामा भने एक अधिकारीलाई आचारसंहिता कार्यान्वयनको अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । एक जना मात्रै हुँदा रिपोर्टिङ भन्दा अरु कामगर्न नभ्याइने पाण्डे बताउँछन् । उनले भने-“एक जना व्यक्तिले आचारसंहिताको पालना भए/नभएको मात्रै हेर्न भ्याउँछ । पालना गर्न लगाउनेसम्मको काम गर्न भ्याउँदैन ।”

जिल्ला निर्वाचन कार्यालयकी प्रमुख सीता साम्बा लिखितभन्दा पनि मौखिक उजुरी आउने गरेको बताउँछिन् । केही दिन पहिले ठेचोमा झण्डालगायत प्रचार सामग्रीको प्रयोग भएको उजुरी आएको थियो । उनले भनिन्-“लिखित रूपमा भने एउटा पनि उजुरी हामीकहाँ आएको छैन ।”

मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले निर्वाचन आचारसहिंता विपरीत प्रचार सामग्री राख्ने काम ग्रामीण क्षेत्रमा मात्रै रहेको बताए । उनले भने-“शहरी क्षेत्रमा छिटफुट भए पनि हामीले हटाउन लगाएका छौँ ।” मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लिखित उजुरी एउटा पनि छैन । दलहरूबीचमा एउटाले राखेपछि उजुरी गर्नुभन्दा पनि राख्नेमा नै होडबाजी हुने उनी बताउँछन् ।

जिल्लामा तीन प्रतिनिधिसभा सदस्यका लागि ४७ जनाको र ६ प्रदेशसभा सदस्यका लागि ६३ जनाको उम्मेदवारी परेको छ । जिल्लाभरमा २ लाख २८ हजार ३ सय ३८ जना मतदाता छन् । क्षेत्र नं ३ मा सबैभन्दा बढी ८६ हजार ४ सय ३९ र क्षेत्र नं १ मा सबैभन्दा कम ६५ हजार ९ सय १८ मतदाता छन् । क्षेत्र नं २ मा ७५ हजार ९ सय ८१ मतदाता छन् ।

स्थानीय तहको निर्वाचनमा भन्दा अहिले झण्डै १५ हजार मतदाता थप भएको कार्यालयले जनाएको छ । जिल्लामा १ सय ३१ मतदानस्थलमा २ सय ७७ मतदान केन्द्र छन् ।

अन्य

भिडियो