INSEC Online

📅 २०८३ जेष्ठ २१

बस्तीमा स्वास्थ्य सुविधा नहुँदा जिल्ला बाहिर जानुपर्ने बाध्यता !

गाउँबस्तीमा स्वास्थ्य सुविधा नहुदाँ नागरिक उपचारका लागी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । सात ओटै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा औषधीको अभाव र दक्ष जनशक्ति नभएपछि बिरामी परेका नागरिक उपचार गर्न जिल्ला बाहिर जानु परेको हो ।

भौगोलिक विकटताका जनता बिरामी परेपछि उपचारमा समस्या हुने गरेको छ । जाजरकोट सदरमुकामदेखि दुई दिनको पैदल दुरीका स्थानीय तह जुनीचाँदे, शिवालय, कुशे, बारेकोट गाउँपालिका, छेडागाड नगरपालिका नलगाड नगरपालिका गाउँबस्तीका स्वास्थ्य संस्थामा रोग अनुसारको औषधी नपाउने भएपछि उपचारका लागि नेपालगञ्ज, सुर्खेत जानुपर्ने बाध्यता छ । सरकारले गाउँबस्तीका सर्वसाधारणले बिरामी परेपछि गाउँबाट स्वास्थ्य सेवा पाउन भन्ने लक्ष्यले नगरपालिकामा १५ शैया, गाउँपालिकामा १० शैयाको अस्पताल अनिवार्य गरेपछि स्थापान भएका अस्पतालमा औषधी तथा दक्ष स्वास्थ्यकर्मीको अभाव भएपछि उपचारका लागि जिल्ला छोड्नु पर्ने अवस्था छ ।

छेडागड नगरपालिका–१२ की सरिता खत्रीका अनुसार गाउँबस्तीका नागरिकलाई स्वास्थ्य सुविधा दिन स्थापना भएका अस्पतालमा चेकजाँचका लागि उपकरण औषधी अभाव तथा दक्ष जनशक्ति नहुँदा नीजि सवारी साधनमा महङ्गो भाडा तिरे नेपालगञ्ज, सुर्खेत, काठमाडौँ जाने गरेको बताउनु भयो । उहाँका अनुसार दक्ष स्वास्थ्यकर्मी, उपकरण नहुँदा गर्भवती, सुत्केरी महिलालाई प्रसूति गराउन हेलिकप्टरबाट लिनुपर्ने अवस्था छ ।

शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका, कुशे गाउँपालिका, छेडागाड नगरपालिकामा सुविधा सम्पन्न अस्पताल नहुँदा गाउँबस्ती सडक सञ्जालसग जोडिए पनि मर्मत नगरेपछि डोको, स्ट्रेचर र स्थानीय प्रविधिको जोहो गरी बोकेर ल्याउने गरिन्छ । सुत्केरी व्यथा लागेका जटिल महिलालाई स्वास्थ्य चौकीमा उपचार सम्भवन नभएपछि हेलिकोप्टरबाट सुविधा सम्पन्न अस्पताल लिनुपर्ने बाध्यता छ । सुविधा युक्त अस्पताल नहुँदा सुत्केरी, गर्भवती, जटिल रोगका बिरामीले सास्ती पाउने गरेका छन् ।

शिवालय गाउँपालिका–२ की डिली शाहीले गाउँबस्तीका स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि जिल्ला छोडेर उपचारका लागि बाहिर जानु परेको छ । आर्थिक अवस्था कमजोर भएका व्यक्ति बिरामी परेपछि साहुबाट कर्जा लिएर औषधी उपचार गर्नुपरेको छ । गाउँबस्तीमा सुविधा सम्पन्न अस्पताल तथा स्वास्थ्य चौकीमा सरकारले तोकेका औषधी नपाउँदा जनताले सास्ती हुने गरेको छ ।

जुनीचाँदे, शिवालय कुशे गाउँपालिका तथा छेडागाड नगरपालिकाका स्वास्थ्य चौकीमा सामान्य औषधि पाए पनि जटिल बिरामीलाई उपचारका लागि जिल्ला छोडनु पर्ने अवस्था छ । बारेकोट गाउँपालिका, नलगाड नगरपालिका, भेरी नगरपालिकाका सर्वसाधारण नगर अस्पतातल आउने त्यहाँ उपचार सम्भव नभएपछि जाजरकोट अस्पतालमा आउने गरेका छन् । ५० शैयाको जाजरकोट अस्पतालमा औषधी उपकरण प्रयाप्त नहुँदा जिल्ला बाहिर गएर उपचार गर्दा सास्ती पाउने गरेका छन् ।

अन्य

भिडियो