INSEC Online

📅 २०८३ जेष्ठ २२

न्यायको आश मार्दै बेपत्ता परिवार: द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारले अन्तिम संस्कार गर्दै

बेपत्ता परिएको व्यक्तिको अवस्था सार्वजनिक नभएपछि बेपत्ता परिवारले अन्तिम संस्कार गर्न थालेका छन् । सशस्त्र द्वन्द्वको समयमा राज्य तथा विद्रोही पक्षले बेपत्ता पारेको व्यक्तिको अवस्था सार्वजनिक हुन नसकेपछि बेपत्ता परिवारले अन्तिम संस्कार गर्न थालेका हुन् ।

दुई दशकभन्दा बढी हुँदा समेत बेपत्ता परिएको व्यक्तिको अवस्था सार्वजनिक गर्न चासो नदेखाएपछि पीडित परिवार अन्तिम संस्कार गर्न थालेका हुन् । बेपत्ता अवस्था सार्वजनिक नहुँदा बेपत्ता परिवारले सामाजिक, आर्थिक, कानुनी र सांस्कृतिक समस्या भोग्दै आएका छन् । तत्कालीन राज्य पक्ष तथा विद्रोही पक्षले पटक पटक सरकार सञ्चालन गरेका छन् । बेपत्ता पारिनु मानव अधिकारको गम्भीर उल्लङ्घनको काम गर्न भने खासै चासो देखाएका छैनन् ।

जसले गर्दा बेपत्ता परिवारलाई राज्यले पीडामाथि पीडा दिएको छ भने पीडित परिवारले पनि राज्यले समयमा बेपत्ता अवस्था सार्वजनिक नगरिदिएको भन्दै धामधम अन्तिम संस्कार गर्न थालेका छन् । सोही अनुसार शसस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका ३८ वर्षीय रामदास थारुको २३ वर्षपछि ०८१ चैत २७ गते थारु परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो । थारुलाई सेनाले २०५८ साल चैत्र २६ गते इलाका हुलाक कार्यालय, भुरिगाउँमा काम गरिरहेको अवस्थामा तत्कालीन शाही नेपाली सेनाले कुटपिट गर्दै गाडीका हालेर लगेको थियो । सेनाले बेपत्ता पारेको थारुको अवस्था सार्वजनिक हुन नसकेपछि परिवारले अन्तिम संस्कार गरिएको हो ।

त्यसैगरी बारबर्दिया नगरपालिका–७, सोनपुरका टेटराम थारुको चैत २० गते थारु परम्परा अनुसार अन्तिम संस्कार गरिएको थियो । टेटरामलाई ०५९ साउन २४ गते घरमा सुतिरहेको अवस्थामा रम्मापुरबाट आएको नेपाली सेनालो लगेर बेपत्ता पारेको थियो । सेनाले बेपत्ता पारेका टेटरामको अवस्था सार्वजनिक हुन नसक्दा नहुँदा बेपत्ता परिवारले सामाजिक, आर्थिक, कानुनी र सांस्कृतिक समस्या भोगेपछि २३ वर्ष पछि थारुको अन्तिम संस्कार गरिरहेको पत्नी रामदुलारी थारुले बताउनु भयो ।

बारबर्दिया नगरपालिका–७ का जंगु थारुको चैत्र १५ गते परिवारले थारु संस्कार अनुसार अन्तिम संस्कार गरेका थिए । बेपत्ता हरिप्रसाद थारुको चैत्र १२ गते थारु परम्परा अनुसार कुशको लास बनाएर अन्तिम संस्कार गरिएको थियो । बेपत्ता पारिएका व्यक्तिको पत्नी शारीरिक रूपमा कमजोर बन्दै गएपछि पतिको अन्तिम संस्कार गर्न थालेका हुन् । बारबर्दिया नगरपालिका–७, सोनपुरमा २०५९ साउन २४ गते दुई जनालाई र साउन २६ गते चार जनालाई गरी ६ जनालाई रम्भापुर ब्यारेकबाट आएको तत्कालीन शाही नेपाली सेनाको टोलीले लगेको थियो । बेपत्ता परिएका व्यक्तिहरूको अभिलेख इन्सेकले सङ्कलन गरेको छ भने बेपत्ता अवस्था अझै सार्वजनिक हुन सकेको छैन ।

अन्य

भिडियो