INSEC Online

📅 २०८३ जेष्ठ २१

श्रमिक दिवसबारे श्रमिक नै अनविज्ञ !

देशभर १ सय ३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरहँदा तानसेन बजारमा कुल्ली काम पाउने आशामा हुनुहुन्थ्यो ४१ वर्षीय दिल बहादुर थापा । दिल बहादुरले तानसेनमै कुल्ली काम गर्न थालेको २५ वर्ष बढी भइसक्यो तर उहाँलाई कहिल्यै श्रमिक दिवसले छोएन ।

पूर्वखोला गाउँपालिका–२, साठीकोल घर भई तानसेनमा कुल्ली काम गर्दै आउनुभएका दिल बहादुरले आफूले कहिल्यै पनि श्रमिक दिवसको महसुस गर्न नपाएको बताउनु भयो । यो दिवसका अवसरमा जिल्लाभर विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रम भए तर उहाँको दैनिकी सधैझै भारी बोकेरै बित्यो । कुल्ली काम गर्दाको दिन ५ सयदेखि १ हजारसम्म आम्दानी हुने त्यसैबाट हातमुख जार्ने र काम नपाउँदा वा काम गर्न नसक्दाको दिन हातमुख जोर्न समेत धौ धौ हुने गरेको उहाँले बताउनु भयो ।

तानसेनमा २० वर्षदेखि कुल्ली काम गर्दै आउनुभएका रिब्दीकोट गाउँपालिका–१, जोगिथुमका ४८ वर्षीय इन्द्रबहादुर कुमालको दैनिकी पनि सधै झै बित्यो । उहाँले न श्रमिक दिवसबारे थाहा पाउनुभयो, नत उहाँलाई कसैले जानकारी नै गरायो । सरकारले सार्वजनिक बिदा दिएको भए पनि उहाँलाई दिनभरी नै साँझको छाक कसरी टार्ने भन्ने पिरलोले नै सतायो । ‘सधै झैँ कामको खोजीमै दिन बित्यो । दिवसबारे केही थाहा नै भएन’ – उहाँले भन्नुभयो । उमेर छउञ्जेल भारी बोकेर गुजारा चलाए पनि बुढेसकालमा कसरी हात मुख जोर्ने भन्ने पिरलोले सताइरहने उहाँको भनाइ छ ।

तानसेनमा कुल्ली काम गरेर गुजारा चलाउनेहरूको सङ्ख्या ५० जनाभन्दा बढी छ । उनीहरूलाई कहिल्यै पनि यस्ता दिवस र कार्यक्रमले छुँदैन । विगत १५ वर्षदेखि सञ्चार श्रमिकका रूपमा कार्यरत तानसेनका राजेश शाहीले सरकारले गरिव दुःखी श्रमिकका पीडा मर्का कहिल्यै नबुझेको बताउनु भयो ।

आम श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा हरेक वर्ष मे १ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ । सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । नेपालमा पहिलोपटक विस २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस मनाउन सुरू गरेका थिए । यो दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

अन्य

भिडियो