INSEC Online

📅 २०८३ जेष्ठ २१

मधेस प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले सन् २०२५ को जनवरीदेखि मार्चसम्मको मानव अधिकार अवस्था विषयक पहिलो त्रैमासिक स्तिथिसूचक ०८२ वैशाख १७ गते सार्वजनिक गरेको छ ।

इन्सेक मधेस प्रदेशको अभिलेख अनुसार सन् २०२५ जनवरीदेखि मार्चसम्ममा ५ सय १४ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन् । जसमध्ये राज्य पक्षबाट दुई र गैर राज्य पक्षबाट १५ जना पुरूष पीडित भएका छन् । त्यस्तै गैर राज्य पक्षबाट ४ सय ९७ जना महिला सहित ५ सय १४ जना पीडित भएका छन् ।

यस अवधिमा मधेस प्रदेशमा गैर राज्य पक्षबाट दुई जना पुरूष, एक बालक र तीन जनामहिला सहित ६ जनाको हत्या भएको इन्सेकले अभिलेख गरेको छ । जसमध्ये सप्तरी, धनुषा र महोत्तरीमा एक÷एक जना महिला गरी तीन जना महिलाको परिवारजनबाट हत्या भएको छ ।

त्यसैगरी, इन्सेकको अभिलेख अनुसार गैर राज्य पक्षबाट ४ सय ९७ जना महिलाको अधिकार हनन् भएको छ । जसमध्ये घरेलु हिंसाबाट ३ सय ४० जना, दाइजोका कारण कुटपिट ४२, कथित बोक्सी आरोपमा आठ, बलात्कारबाट २३, बलात्कार प्रयासबाट १८, बेचबिखन तथा ओसापसारबाट नौ र चरित्र हत्याबाट तीन जना पीडित भएको देखिन्छ ।

यो तीन महिनाको अवधिमा गैर राज्य पक्षबाट ३७ बालिका र दुई बालक गरी ३९ जना बालबालिकाहरु पीडित भएका छन् । जसमध्ये बलात्कारबाट २६ र यौन दुव्र्यवहारबाट १० बालिका पीडित भए भने बेचबिखन घटनामा एक बालिका र दुई जना बालक पीडित भए ।

मधेश प्रदेश सरकारले प्रदेश बालिअधिकार सम्बन्धी ऐन, २०७७ र बालिका संरक्षण तथा सशक्तिकरण ऐन, २०८१ ल्याएको छ । तर प्रस्तुत तथ्याङ्कले बालबालिकाहरुको अधिकारको सुनिश्चतता, संरक्षण र संबद्र्धनको उद्देश्ले निर्माण गरिएका कानुन र ऐनको कार्यान्वयन फितलो हुँदा यस अवधिमा महिला र बालिकाहरूमाथि हिंसाका घटनाहरू बढी भएको देखिएको छ ।

मधेस प्रदेशमा आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा खासै सुधार आउन सकेको छैन । गरिवी, अशिक्षा र वेरोजगारीको समस्या यस प्रदेशमा छ । मुलुकभित्र रोजगारी सृजना हुन नसक्दा वैदेशिक रोजगारमा जाने युवाको संख्या मधेस प्रदेशमा बढेर गएका छन् । निःशुल्क तथा अनिवार्य शिक्षा संविधानले नै सुनिश्चित गरेपनि अहिले पनि ग्रामिण भेगका बालबालिकाहरू विद्यालय बाहिर छन् । गुणस्तरी शिक्षा सामुदायिक विद्यालयमा घटेर गएको छ । विषयगत शिक्षकहरूको विद्यालयमा अभाव छ भने भएका शिक्षकहरूको सरुवा हुँदा कतिपय विद्यालयहरूमा तालाबन्दी तथा आन्दोलनहरू भएका छन् । नेपालको संविधानले धार्मिक स्वतन्त्रता संवैधानिक रुपमा व्यवस्था गरिएको हुँदा मधेस प्रदेशमा धार्मिक सहिष्णुता कायम गर्नु आवश्यक छ । दलित, यौनिक तथा अल्पसंख्यक समुदायले संविधान तथा कानुनहरूले दिएको अधिकार पाउन नसकेको गुनासो छ । नागरिकले कानुनी शासनको अनुभूति र संविधान र कानुनद्वारा प्रद्दत्त अधिकारहरू सहज रुपले पाउनु पर्ने आजको आवश्यकता छ । अन्त्यमा मानव अधिकारको प्रत्याभुतिमा सबै सरोकारवाला निकायको भूमिका महत्वपूर्ण हुन्छ ।

अन्य

भिडियो