INSEC Online

📅 २०८३ जेष्ठ २१

सोती घटनाका अभियुक्तलाई उच्च अदालतद्वारा ज्यान सम्बन्धी कसुरमा जिल्लाकै आदेश सदर

सोती घटनाका अभियुक्तलाई उच्च अदालतदले ज्यान सम्बन्धी कसुरमा जिल्लाकै आदेश सदर गरेको छ । अन्तर्जातीय प्रेमको विषय बनाएर ०७७ जेठ १० गते मारिएका २१ वर्षीय नवराज विकसहित ६ जनाको हत्या घटनाका कसुरमा जिल्ला अदालत रुकुम पश्चिमको आदेशलाई सदर गरेको उच्च अदतल सुर्खेतका प्रवक्ता प्रेमप्रकाश थापाले जानकारी दिनुभयाे । उक्त घटनाका २३ जनालाई जातीय विभेद र छुवाछुतको कसुरमा उच्च अदालत सुर्खेतले सफाइ दिएको छ ।

‘२३ जनालाई जन्मकैदको फैसला सदर भएको छ । जातीय छुवाछुतबाट सबै प्रतिवादीलाई सफाई दिइएको छ भने केही उल्टी फैसला भएको छ । पूर्णपाठ आउन केही समय लाग्छ’ – उहाँले भन्नुभयाे । वैशाख १६ गते सम्पन्न भएको सुनुवाइपछि उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले उक्त फैसला सुनाएको हो । जातीय विभेद तथा छुवाछुतसम्बन्धी मुद्दामा सर्वाेच्चसम्म पुग्ने दलित अधिकारकर्मीहरूको भनाइ छ ।

०८० मङ्सिर १९ गते जिल्ला अदालत रुकुम पश्चिमका तत्कालीन जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । त्यस्तै नवराजकी प्रेमीका, उनकी आमा र दाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै दुई वर्ष कैद सजाय सुनाएको थियो । आठ जनाले भने सफाइ पाएका थिए । जिल्लाको फैसलाविरुद्ध रुकुम पश्चिम थुनामा रहेका मल्लसहितले २४ थान पुनरावेदन दायर गरेकोमा नवराज विकका बुबा मुनलाल नेपालीले दुई थान पुनरावेदन निवेदन दायर गर्नुभएकाे थियाे ।

उच्च अदालत सुर्खेतमा ०८२ वैशाख ९ गते दायर २६ थान पुनरावेदन निवेदनमाथि न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ भएको उक्त मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । जातीय विभेदजस्तो जघन्य अपराधमा उच्चले उन्मुक्ति दिएको भन्दै मृतकका आफन्त र दलित अधिकारकर्मीहरूले उच्च अदालत गेट अगाडि नाराबाजी गरिरहेका छन् । वैशाख १५ गतेखि नै हत्यामा संलग्नहरूलाई कानुनी कार्वाहीको माग राख्दै उच्च अदालत सुर्खेतमा दलित अधिकारकर्मी र मृतकका आफन्तहरूले धर्ना दिइरहेका छन् ।

अदालतले वैशाख १५ गते सोमबार उक्त मुद्दाको पेसी तोकेको थियो । दुबै पक्षका वकिलहरूको वहस वैशाख १६ गते साँझ सकिएको थियो । वैशाख १५ गते पनि उच्च अदालत सुर्खेतका न्यायाधीशद्वय सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासमा सुनुवाइ भइरहेको छ । नवराजसँगै गएका २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही सो घटनामा मारिएका थिए । उनीहरू सबैको शव भेरी नदीमा भेटिएको थियो ।

अन्य

भिडियो